सिन्धुपाल्चोक । रसुवामा आएको बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग पुर्याउन निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) सिन्धुपाल्चोकले १० लाख ४८ हजार ५ सय ५४ रुपैयाँ संकलन गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको छ ।
प्याब्सन सिन्धुपाल्चोकले बिहीबार चौतारास्थित जुगल बोर्डिङ स्कुलमा पत्रकार सम्मेलन आयोजना गरी बाढीपीडितका लागि संकलित सहयोग रकम सार्वजनिक गरेको हो । अभियानमा जिल्लामा प्याब्सनमा आबद्ध १९ विद्यालयमध्ये १७ वटा विद्यालय सहभागी भएका थिए ।
प्याब्सनका अध्यक्ष बुद्धिप्रसाद आचार्यका अनुसार विद्यालयमा अध्ययनरत विद्यार्थी, शिक्षक तथा कर्मचारीबाट रकम संकलन गरिएको हो। कतिपय विद्यार्थी र शिक्षकले आफ्नो खाजा तथा व्यक्तिगत खर्चबाट रकम बचाएर सहयोग गरेका थिए ।
संकलित रकममध्ये बाह्रबिसेस्थित केतु बोर्डिङ स्कुलले १ लाख ७५ हजार रुपैयाँ, मेलम्चीको प्रगति अंग्रेजी माध्यमिक विद्यालयले १ लाख ५१ हजार ९ रुपैयाँ तथा चौतारास्थित जुगल बोर्डिङ स्कुलले १ लाख ४० हजार रुपैयाँ योगदान गरेका छन् । बाँकी रकम अन्य सहभागी विद्यालयबाट संकलन भएको प्याब्सनले जनाएको छ ।
यसैबीच, प्याब्सन सिन्धुपाल्चोकले बाढीका कारण अभिभावक गुमाएका जिल्लाका बालबालिकाको शिक्षाको जिम्मेवारी लिने घोषणा गरेको छ । त्यस्ता बालबालिकालाई विद्यालय तहको पठनपाठन निःशुल्क गराउनुका साथै आवश्यक पाठ्यपुस्तक र लत्ताकपडाको व्यवस्था गरिने अध्यक्ष आचार्यले बताए ।
बाढीका कारण थप प्रभावित भएका बालबालिकाको अवस्थालाई समेत हेरेर आवश्यकताअनुसार निःशुल्क शिक्षा उपलब्ध गराउने प्याब्सनको योजना छ ।
प्याब्सन बागमती प्रदेशका उपाध्यक्ष ऋषि नेपालले देशभरका प्याब्सनमा आबद्ध निजी विद्यालयले बाढीपीडितका लागि करिब १० करोड रुपैयाँ संकलन गरेको जानकारी दिए। उनका अनुसार उक्त रकम पनि बिहीबार नै प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको छ ।
प्याब्सनले राहतका लागि आर्थिक सहयोगसँगै विपद्बाट प्रभावित बालबालिकाको शिक्षालाई निरन्तरता दिन पहल थालेको जनाएको छ।
प्रतिक्रिया दिनुहोस्