२०८३ भाद्र १६

झाङ्मु पोर्ट बन्द भएपछि फेरि प्रभावित भयो तातोपानी नाका

सिन्धुपाल्चोक । चीन सरकारले नेपाल चीन बीचको उत्तरी नाका तातोपानी पारी रहेको झाङ्मु पोर्ट अनिश्चितकालको लागि बन्द गरेको छ। सम्भावित विपद्लाई ध्यान दिँदै चीन सरकारले तातोपानी भन्सार कार्यालयलाई यसबारे जानकारी गराएको हो।
‘हामीलाई उहाँहरुले छोटो इमेल गर्नुभएको छ’, भन्सार अधिकृत तुलबहादुर पाण्डेले चिनियाँ अधिकारीले पठाएको इमेललाई उदृत गर्दै भने, ‘हामीले केही समयको लागि झाङ्मु पोर्ट बन्द गरेका छौँ, कहिले खोल्छौँ भन्ने जानकारी अर्को इमेलमा गराउनेछौँ भनिएको छ।’
रसुवामा आएको बाढीजस्तै तातोपानी नाका भएर बग्ने भोटेकोशीमा पनि बाढी आउनसक्ने अनुमान गरेर चिनियाँ पक्षले नाकाबन्द गरेको हुनसक्ने पाण्डेको भनाइ छ।
उनका अनुसार चिनियाँ अधिकारीले रसुवा बाढी र त्यसले पुर्‍याएको क्षतिलाई मध्यनजर गरी झाङ्मु पोर्टबाट भन्सार कार्य बन्द गर्नुको साथै त्यहाँका कर्मचारी प्रशासनलाई माथिल्लो सुरक्षित क्षेत्रमा सारिएको छ।
चिनियाँपक्षले सेप्टेम्बर ३ तारिकसम्म खासामा निर्माण कार्य गर्नुपर्ने भएकाले केही दिन अघिदेखि कन्टेनर पठाउन रोक्ने निर्णय गरेको थियो। चिनियाँ पक्षले कार्गो आवागमनसमेत अस्थायीरूपमा रोकिएको जानकारी दिएको छ। नाका कहिलेदेखि पुनः सञ्चालन हुनेबारे बताइएको छैन। भन्सार अधिकृत पाण्डेले चिनियाँपक्षले खुल्नेबित्तिकै नयाँ सूचना दिने बताएको जानकारी दिए। रसुवागढी बाढीले बगाएसँगै तातोपानी नाकालाई विकल्पका रूपमा हेरिएको थियो।
तातोपानी नाकासमेत बन्द भएपछि नेपाल-चीन व्यापारको विकल्प साँघुरिएको छ। दशैँ र तिहार नजिकै आएको अवस्थामा यो निर्णयले नेपाललाई असर पर्ने यहाँका व्यवसायीहरुको भनाइ छ। न्यालम काउन्टीमा रहेको झाङ्मु पोर्टवारीको तातोपानी नाकाबाट असार ३१ मा आएको पहिरोका कारण दुई देशबीच आयात निर्यात हुन सकेको थिएन।
अरनिको राजमार्गअन्तर्गतको बाह्रबिसे कोदारी खण्डको २६ किलोमिटर सडक खण्डका विभिन्न स्थानमा पहिरोले सडक बिग्रिएपछि नाकाबाट ढुवानी लगभग बन्द जस्तै थियो। सडक विभागले टोली खटाएर मर्मतको काम गरेपछि ४० दिनपछि अस्थायीरुपमा सडक सञ्चालन भएको थियो। त्यसपछि पछिल्लोपटक भदौ १२ गते तातोपानी नाकाबाट आठवटा कन्टेनर नेपाल भित्रिएका थिए।
झाङ्मु पोर्ट बन्द गरिएपछि नेपाल भित्रने मालवाहक कन्टेनर न्यालममै रोकिएका छन्। लामो समयदेखि कामविहीन भएका चिनियाँ ट्रान्सपोर्ट कम्पनीमा कार्यरत कर्मचारीसमेत बिचल्लीमा परेका छन्।
खासाभन्दा माथि न्यालम र थिङ्रीमा फलफूलबोकेका ६० वटा कन्टेनर ४५ दिनदेखि अलपत्र परेका छन्। ती फलफूल एसी कन्टेनरमा भएकाले सुरक्षित छन्। तर, लामो समय त्यहाँ रहँदा पार्किङ भाडाका कारण मूल्य वृद्धि हुने अवस्था रहेको नेपाल हिमालय सीमापार वाणिज्य संघका उपाध्यक्ष सुजित बस्नेतले बताए। उनका अनुसार ४० करोड रूपैयाँबराबरको फलफूल चिनियाँ क्षेत्रमा छ। दशैँ-तिहार लक्षित फलफूल आयातमा यसपटक धेरै समस्या भोग्नुपर्ने अवस्था सिर्जना भएको उनको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्