२०८३ भाद्र १६

पाँचपोखरीमा तीर्थयात्रीलाई सेनाको स्वास्थ्य सेवा, ७ सय २१ जना लाभान्वित

सिन्धुपाल्चोक । जनैपूर्णिमाको अवसरमा सिन्धुपाल्चोकको पाँचपोखरीमा लागेको धार्मिक मेला तथा तीर्थयात्रालाई लक्षित गरी नेपाली सेनाको इन्द्रध्वज गणले सञ्चालन गरेको निःशुल्क मेडिकल सहायता केन्द्रबाट ७ सय २१ जना लाभान्वित भएका छन् ।
पाँचपोखरीमा जनैपूर्णिमाका अवसरमा लाग्ने धार्मिक मेलामा देशका विभिन्न स्थानबाट ठूलो संख्यामा श्रद्धालु तथा पर्यटक पुग्ने गर्छन् । दुर्गम तथा कठिन भौगोलिक क्षेत्रमा तीर्थयात्राका क्रममा यात्रुहरूलाई स्वास्थ्य समस्या पर्न सक्ने भएकाले उनीहरूको स्वास्थ्य सुरक्षालाई ध्यानमा राख्दै इन्द्रध्वज गणले भदौ १० देखि १२ गतेसम्म मेडिकल सहायता केन्द्र सञ्चालन गरेको थियो ।
गणका अनुसार न्यासिम पार्टीमा ३ सय ६१ जना र पाँचपोखरी क्षेत्रमा ३ सय ६० जनाले स्वास्थ्य सेवा लिएका छन् । तीन दिनको अवधिमा कुल ७ सय २१ जनाले स्वास्थ्य जाँच तथा आवश्यक उपचार र औषधि सेवा प्राप्त गरेका हुन् ।
यात्राको क्रममा बाटोमै स्वास्थ्य समस्या देखिँदा तत्काल उपचार पाउने व्यवस्था भएपछि तीर्थयात्री तथा पर्यटकलाई ठूलो राहत मिलेको स्थानीय सिमिर तामाङले बताए । स्वास्थ्य सहायता केन्द्रका कारण सामान्य स्वास्थ्य समस्या देखिँदा समेत यात्रुहरू आत्तिनुपर्ने अवस्था नरहेको उनको भनाइ छ ।
“यात्राका क्रममा स्वास्थ्यमा समस्या देखिँदा कहाँ उपचार गर्ने भन्ने चिन्ता हुन्थ्यो । तर बाटोमै स्वास्थ्य सहायता केन्द्र भएपछि तत्काल जाँच र औषधि पाउने व्यवस्था रहेछ,” तामाङले भने, “यसले यात्रुलाई निकै सहज बनाएको छ ।”
त्यस्तै, पर्यटक उदय खड्काले दुर्गम क्षेत्रमा हुने धार्मिक यात्राका क्रममा स्वास्थ्य सेवा सहज रूपमा उपलब्ध हुनु निकै महत्वपूर्ण रहेको बताए । यात्राका क्रममा अचानक स्वास्थ्य समस्या देखिएमा औषधि तथा उचित उपचार नपाउने समस्या स्वास्थ्य सहायता केन्द्रले कम गरेको उनको भनाइ छ ।
पाँचपोखरीमा जनैपूर्णिमाका अवसरमा हरेक वर्ष धार्मिक तथा पर्यटकीय गतिविधि बढ्ने गरेको छ । यस्तो समयमा ठूलो संख्यामा आउने श्रद्धालु तथा पर्यटकलाई लक्षित गरी सञ्चालन गरिएको स्वास्थ्य सहायता केन्द्रले यात्राको क्रममा देखिन सक्ने सामान्य स्वास्थ्य समस्या तत्काल व्यवस्थापन गर्न सहयोग पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्