२०८३ भाद्र ९

२६ वर्षमा चौतारा बहुमुखी क्याम्पस : शैक्षिक उपलब्धिसँगै विवाद पनि चर्चामा

चौतारा । चौतारा बहुमुखी क्याम्पसले आफ्नो २६औँ वार्षिकोत्सव मनाएको छ । वार्षिकोत्सवका अवसरमा क्याम्पसले बितेको यात्रामा हासिल गरेका शैक्षिक उपलब्धि, वर्तमान अवस्था र आगामी सम्भावनाबारे चर्चा गरेको छ । समारोहमा क्याम्पससँग जोडिएको पछिल्लो सामाजिक सञ्जाल विवादसमेत चर्चाको विषय बन्यो ।


कार्यक्रमलाई सम्बोधन गर्दै संस्थापक अध्यक्ष कृष्णराज श्रेष्ठले क्याम्पस प्रमुखसँग सम्बन्धित विषय सामाजिक सञ्जालमा सार्वजनिक गरिएको प्रसङ्गमा आर्थिक स्वार्थ जोडिएको आरोप लगाए । उनले स्ववियुका पूर्वसभापति अमृत श्रेष्ठले विषयलाई सामाजिक सञ्जालमा उठाएको र त्यसबाट क्याम्पसप्रति नकारात्मक धारणा सिर्जना गर्ने प्रयास भएको दाबी गरे ।
श्रेष्ठको आरोपप्रति प्रतिक्रिया दिँदै अमृत श्रेष्ठले आफूले आर्थिक लाभ लिने उद्देश्यले कुनै गतिविधि नगरेको बताए । आफूले आर्थिक बार्गेनिङ गरेको प्रमाण भए सार्वजनिक गर्न चुनौती दिँदै उनले प्रमाणका आधारमा आरोप पुष्टि गर्न सम्बन्धित पक्षलाई आग्रह गरे ।
यद्यपि, समारोहको मुख्य विषय भने क्याम्पसले २६ वर्षमा हासिल गरेको शैक्षिक प्रगति र आगामी यात्रामै केन्द्रित रह्यो ।
२०५८ सालमा कृष्णराज श्रेष्ठको अगुवाइमा कृष्णरत्न गंगा माध्यमिक विद्यालयका दुई कोठाबाट सुरु भएको क्याम्पसले अहिले आफ्नै ३५ कोठे भवनबाट सेवा दिइरहेको छ । बीएड तहबाट अध्यापन सुरु गरेको क्याम्पसमा हाल स्नातकोत्तर तहसम्मको अध्ययन अध्यापन सञ्चालन भइरहेको निमित्त क्याम्पस प्रमुख राजेन्द्र श्रेष्ठले जानकारी दिए ।त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त क्याम्पसको पूर्वाधार तथा शैक्षिक विकासमा स्थानीय र प्रदेश सरकारको सहयोगसमेत रहँदै आएको उनले बताए ।


वार्षिकोत्सव समारोहमा प्रमुख अतिथिका रूपमा सहभागी चौतारा साँगाचोकगढी नगरपालिकाका नगर प्रमुख कृष्णप्रसाद सापकोटाले चौतारालाई शिक्षा क्षेत्रको केन्द्रका रूपमा अघि बढाउन क्याम्पसको योगदान महत्वपूर्ण रहेको बताए ।
उनले भने, “चौतारालाई शैक्षिक हबका रूपमा विकास गर्ने नगरपालिकाको लक्ष्य छ। यहाँका शैक्षिक संस्थाको क्षमता विस्तार र गुणस्तर सुधारका लागि नगरपालिकाले आवश्यक सहयोग र सहकार्यलाई निरन्तरता दिनेछ।”
नगर प्रमुख सापकोटाले बदलिँदो समय र आवश्यकताअनुसार क्याम्पसले शिक्षाको गुणस्तरमा थप ध्यान दिनुपर्ने बताए । स्थानीय स्तरमै गुणस्तरीय उच्च शिक्षा उपलब्ध गराउन सके विद्यार्थी तथा अभिभावकलाई समेत सहज हुने उनको भनाइ थियो ।
क्याम्पस सञ्चालक समितिका अध्यक्ष गम्भीरलाल श्रेष्ठको अध्यक्षतामा सम्पन्न समारोहमा वडा नं. ५ का अध्यक्ष शिव श्रेष्ठलगायतले मन्तव्य राखेका थिए । उपाध्यक्ष श्यामकृष्ण श्रेष्ठले स्वागत गरेको कार्यक्रममा विद्यार्थी तथा कलाकारले विभिन्न सांस्कृतिक प्रस्तुति दिएका थिए ।
दुई कोठाबाट सुरु भएको चौतारा बहुमुखी क्याम्पस अहिले स्नातकोत्तर तहसम्मको शिक्षण सञ्चालन गर्ने अवस्थामा पुगेको छ । वार्षिकोत्सवले क्याम्पसको विगत सम्झाउनेसँगै आगामी दिनमा शैक्षिक गुणस्तर र संस्थागत विकासलाई अझ प्रभावकारी बनाउने चुनौती पनि औँल्याएको छ ।

प्रतिक्रिया दिनुहोस्