सडक मर्मत गर्न हिँडेका ठेकेदार, एक्स्काभेटरचालक र हेल्पर चढेको कारलाई बसले ठक्कर दिँदा सुनकोशीमा बेपत्ता भएका छन् । मध्यपहाडी लोकमार्ग निर्माण तथा मर्मतका ठेकेदार सिन्धुपाल्चोक जुगल गाउँपालिका- ७ का ३९ वर्षीय दिलकुमार लामा, एक्स्काभेटरचालक सिन्धुली गोलञ्जोर गाउँपालिका-१, डुड्भन्ज्याङका गणेश थापा र एक्स्काभेटरका हेल्पर सिन्धुलीकै तीनपाटन गाउँपालिका- ९, डाँडाखर्कका १७ वर्षीय सुजन बलमपाकी मगर बेपत्ता भएका हुन् ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका सूचना अधिकारी डिएसपी विजय श्रेष्ठले मध्यपहाडी लोकमार्गअन्तर्गत फिक्कल गाउँपालिका- २, नवलपुर खण्डमा कारसहित तीनजना सुनकोशीमा बेपत्ता भएको बताए । उनीहरू रहेको प्रदेश ३-०१-०१४ च ९५७३ नम्बरको कारलाई काठमाडौंबाट ओखलढुंगातर्फ जाँदै गरेको बा.प्र.०८-००१ ख ०१४४ नम्बरको बसले ठक्कर दिएएको थियो ।
सोही सडकका सुपरभाइजर दीनानाथ न्यौपानेले दुर्घटनाभन्दा केही मिनेटअघि मात्रै ठेकेदारसँग आफ्नो प्रत्यक्ष भेटघाट भएको र केहीबेर कुरा गरेर आफू थोरै पर पुगेपछि दुर्घटना भएको बताए । न्यौपानेका अनुसार उनीहरू सडकमा रहेका केही ढुंगा फुटाउन नयाँ एक्स्काभेटरसहित गएका थिए । खाना आएर फर्किएको केही मिनेटमै दुर्घटनामा परेका थिए ।
घटनालगत्तै इलाका प्रहरी कार्यालय खुर्कोट, सशस्त्र प्रहरी बलको विपत् व्यवस्थापन टोली तथा स्थानीय जनप्रतिनिधि र स्थानीयवासी घटनास्थल पुगेर खोजी गरे पनि फेला पार्न नसकेको प्रहरीले जनाएको छ । कार पनि फेला परेको छैन । साँझसम्म खोजी भएकामा राति असम्भव भएकाले अब मंगलबार बिहानैबाट फेरि खोजी सुरु हुने डिएसपी श्रेष्ठले बताए । दुर्घटना भएको क्षेत्रमा सडकबाट सुनकोशी ५० फिट तल छ । वर्षात्का वेला कोशीमा पानीको बहाव धेरै छ ।
नयाँ पत्रिकाबाट
प्रतिक्रिया दिनुहोस्