काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले अति भारीको वर्षाको पूर्वानुमान रहेको भन्दै उच्च सतर्कताका लागि आग्रह गरेको छ । अबको तीन दिन मुसलधारे वर्षाको सम्भावना रहेकाले सिन्धुपाल्चोकसहित २३ जिल्लामा राति सवारी आवागमन रोक्न सकिने प्राधिकरण प्रष्ट पारेको हो ।
जल तथा मौसम विज्ञान विभागले आज र भोलि विभिन्न प्रदेशमा भारीदेखि अति भारी वर्षाको पूर्वानुमान जारी गरेसँगै प्राधिकरणले सचेत आग्रहसमेत गरेको छ । पाँचथर, इलाम, झापा, संखुवासभा, तेह्रथुम, भोजपुर, खोटाङ, धनकुटा, सिन्धुली, ललितपुर, काभ्रे, सिन्धुपाल्चोक, नुवाकोट, चितवन, धादिङ, गोरखा, लमजुङ, कास्की, तनहुँ, पर्वत, बाग्लुङ, म्याग्दी, स्याङ्जामा रातिको समयमा सवारी आवागमनमा रोक लगाइने भएको छ । परिस्थिति अनुसार जुनसुकै बेला सवारी आवागमन बन्द गर्न सकिने प्राधिकरणले प्रस्ट पारेको हो ।
भारी वर्षाका कारण अचानक बाढी, पहिरो, कटान, गेग्रान बहाव, सहरी तथा तराई क्षेत्रमा डुबानको जोखिम हुने भएकाले आवश्यक सतर्कता अपनाउन र पूर्वतयारी कार्य गर्नरगराउन सम्बन्धित सबैलाई भनेको छ ।
आज र भोलि अत्यन्त जरुरी नभई घरदेखि टाढा र रातिको समयमा यात्रा नगर्न पनि प्राधिकरणको आग्रह छ । मौसम विभागले भन्यो– आज र भोलि अति भारी वर्षाको सम्भावना छ, सतर्क रहनू
“तीनवटै सुरक्षा निकाय, स्थानीय तह, स्वयंसेवकलगायत सरोकारवाला सबै निकाय प्रतिकार्यका लागि तयारी वस्थामा रहनेछन्,” प्राधिकरणले भनेको छ, “जोखिमयुक्त राजमार्ग र सडकहरूमा डोजर, एक्साभेटर, लोडरलगायत साधनहरू तयारी अवस्थामा राखिनेछ ।”
फरक पत्रिकाबाट
प्रतिक्रिया दिनुहोस्