२०८१ असार २

महोदय, व्यवस्था परिवर्तन भएको कसरी मान्ने ?

जीवन श्रेष्ठ – न अवस्था फेरिएको छ न त व्यवस्था नै फेर्न सकिएको छ  । प्रजातन्त्रको पुनरोदयपश्चात् फेरिएको छ त पात्र र चरित्र मात्रै  । राजनीतिक रंगमञ्चमा एकपछि अर्को पर्दा त हट्दै गएको छ तर दृश्यमा भने पात्र दोहोरिने क्रम जारी छ  ।

पञ्चायती व्यवस्था ढालेकै हो  । ०४७ सालमा ऊबेलामै उत्कृष्ट भनिएको एक थान नयाँ संविधान पाएकै हो  । संवैधानिक राजतन्त्र पनि काम लागेन भन्दै ०६२÷६३ को आन्दोलनको आँधीले उडाएर रद्दीको टोकरीमा फालेकै हो  । समावेशी संविधान भन्दै अर्को एक थान नयाँ संविधानसहित मुलुकले गणतन्त्र व्यवस्थामा प्रवेश गरेकै हो  ।

यो मानेमा व्यवस्था फेरेको कुरालाई होइन भन्ने आधार सबैले गुमाएकै हो  । तर, अन्तिम सत्य भनेकै सत्ता हो भन्ने मानसिकताभित्र साँघुरिएका यी सत्यानाशी नेताहरूको सत्तामोहका कारण उनीहरूले भन्दै आएको ‘व्यवस्था’ के साँच्चिकै फेरिएकै हो त ?०५१ सालको मध्यावधि निर्वाचनपछि मुलुकको राजनीति कहिल्यै स्थिर हुन सकेन  ।

त्यतिखेर तेस्रो दलको रूपमा स्थापित राप्रपाको नेतृत्वमा सरकारमा जान पहिलो र दोस्रो भएका कांग्रेस र एमाले न्वारानदेखिको बल निकालेर लाग्ने गर्थे  । एमाले र कांग्रेसी कहिले सूर्यबहादुर थापालाई काँधमा बोक्थे, कहिल्यै लोकेन्द्रबहादुर चन्दलाई  ।

०६२÷६३ को जनआन्दोलनले २४० वर्षीय राजतन्त्रलाई रसातलमा पु¥यायो  । जनतामा केही आशा पलायो  । दश वर्षीय जनयुद्धको अवतरण भयो  । जनतामा झन् आशा पलायो  । फेरि नयाँ एक थान संविधानसहित मुलुक गणतान्त्रिक व्यवस्थामा प्रवेश ग¥यो । जनतामा आशा र उत्साहको चुली ह्वात्तै बढ्यो  ।

परिवर्तित व्यवस्थाले आफ्नो अवस्था फेरिन्छ कि भन्ने जनताको आशामाथि एकपछि अर्को तुषारापात हुँदै गए पनि कम्तीमा हिजोको दिन जस्तै सरकार त अस्थिर हुँदैन होला भन्ने आशा पनि यतिखेर उही एकादेशको कथाजस्तै हुने निश्चितप्रायः छ  । अझ उदेकलाग्दो कुरा त व्यवस्था परिवर्तन भयो भनेर पाङदुरे फुर्ती लगाउने नेताहरूले फेरि उही गठवन्धनको नाउँमा स्थिति र परिस्थिति नै गञ्जागोल हुनेगरी जुन खेल प्रदर्शन गरिरहेका छन्, त्यो हर्कतबाटै प्रष्ट हुन्छ कि अवस्था मात्र हैन नेपालमा व्यवस्था पनि परिवर्तन भएको छैन, रहेनछ भनेर !

हो, पचासको दशकपछिको राप्रपाकै भूमिकामा छ यतिखेर नेकपा माओवादी केन्द्र  । र, प्रचण्डलाई काँध थाप्न मरिहत्ते गर्दै छन् एमाले र कांग्रेस  । जसरी यी दुई दलबीच लोकेन्द्रबहादुर र सूर्य थापाहरूलाई काँध थाप्ने होड चल्ने गथ्र्याे ऊबेला  । तर, अचम्म र उदेकलाग्दो कुरा त आफूलाई वैकल्पिक र विद्वत शक्ति ठान्ने रास्वपा पनि हैंसे र होस्टेमा लागेको छ  । एकथान गृहमन्त्रीको लालचमा रास्वपाले चुहाएको ¥यालसिँगानको बखान सायदै गर्न सकिएला  ।

स्वस्थानी कथाका ७० वर्षीय शिव शर्मा ब्राह्मणले ७ वर्षीया गोमा ब्राह्मणीमाथि ¥यालसिँगान चुहाएर गिद्देदृष्टि लगाएजस्तै गृह मन्त्रालयमाथि नजर लगाउने रास्वपाको नियत पनि यतिखेर छताछुल्ल भइसकेको छ  ।

सत्ताका लागि मुलुककै मति, गति र लय बिगार्नेहरूको लर्कोले फेरि पनि मुलुक अनिर्णय र अस्थिरतामा जाकिने पक्का छ  । जब मुलुक हिजोकै लयमा फर्कन्छ भने, उही सांसद किनबेच र ९ महिनामै सरकार ढल्ने र बन्ने क्रम दोहोरिन्छ भने कसरी मान्न सकिन्छ व्यवस्था परिवर्तन भयो भनेर ?

परिवर्तनको प्रत्याभूति कागजको चिर्कटोमा लेख्दैमा हुने हो र ? व्यवहारमा उही संस्कार, उही संस्कृति अनि उही प्रकृति र विकृति मात्र देखिन्छ भने त्यसलाई किमार्थ परिवर्तन मान्न सकिँदैन  । हुन पनि व्यवस्थाको नाममा के नै परिवर्तन भयो र ? हिजो एउटा राजा थियो  ।

आज एउटा राजाको सट्टा हजारौँ राजा छन्  । हिजोका युवराजाधिराज अनि शाहज्यादाहरूबाट जनता प्रताडित थिए  । आज पनि त हजारौं युवराजाधिराजबाट जनता र मुलुक प्रताडित नै छन्  । हिजो एउटा दलको नेतृत्वमा सरकार बन्नेबित्तिकै ढलिहाल्ने खाका कोरिन्थ्यो नेताका खोपामा र ढलाएरै छोड्थ्यो पनि  । आज पनि त उही संस्कार शुरु भइसकेको छ  । हिजो आफूविरुद्ध अविश्वासको प्रस्ताव आउनेबित्तिकै मध्यावधि निर्वाचन घोषणा प्रधानमन्त्रीले गरिहाल्थे  ।

संविधानले त्यसको परिकल्पना नगरे पनि आज फेरि संविधानको पत्रपत्र र छिद्रछिद्रभित्र छिरेर त्यो खालको हर्कत गर्न नखोजेको कहाँ हो र ? र, भनिरहनु पर्दैन त्यो दिन पनि आउन सक्छ  । त्यस्तै हो र यस्तै हुने हो भने पञ्चायत वा प्रजातन्त्र वा लोकतान्त्रिक गणतन्त्र आखिर यी नाममै मात्रले के नै फरक पा¥यो र, त्यो उहिलेको व्यवस्था अनि यो अहिलेको व्यवस्थालाई ? अनि फेरि हामीले मानिदिनुपर्ने व्यवस्था परिवर्तन भयो भनेर ? खासमा स्वीकार गर्नैपर्छ कुनै व्यवस्थाको परिवर्तन कहिल्यै पनि भएन  । हिजो राणापछि राजा आयो  ।

अरू के नै परिवर्तन भयो र ? उही राणाको प्रत्यक्ष भूमिकामा राजा अनुबन्धित भयो  । त्यति नै होइन र ? अँ, अलिकति वाक स्वतन्त्रताको अनुभूति भयो कि ? फेरि राजाको भूमिकामा अहिले यी छोटे तर मोटे राजाहरू अनुबन्धित छन्  । परिवर्तन भएको त्यति मात्रै होइन ? खोइ के नै परिवर्तनको प्रत्याभूति भयो र ? अँ अलि बढी वाक स्वतन्त्रताको प्रत्याभूति भयो क्यारे, त्यति नै होइन र ? भनेपछि यहाँनेर व्यवस्था कहाँ परिवर्तन भयो र ? भूमिका र पात्र मात्र परिवर्तन भएको हैन र ? निश्चय पनि व्यवस्था परिवर्तनसँगै प्रवृत्ति परिवर्तन हुन जरुरी छ  ।

यदि, व्यवस्था परिवर्तन भएर पनि त्यो व्यवस्थासँगै आएका नयाँ अनुहारले उही पुरानै अनुहारको प्रवृत्ति मात्र अँगाल्छन् भने परिवर्तनको प्रत्याभूति कसरी गर्न सकिन्छ ? यो त नयाँ बोतलमा उही स्वाद, उही रंगको पुरानो पानी भरेजस्तै भएन ? अनि फेरि केको व्यवस्था परिवर्तन भयो भनेर चिच्याउँछन् यी नेता ? अनि कहिलेसम्म यी नेताको ‘हो’ मा ‘हो’ मिलाएर ताली ठोकी बस्ने हामी जनता ?

प्रतिक्रिया दिनुहोस्