सिन्धुपाल्चोक । नियमित खोप कार्यक्रमअन्तर्गत लक्षित सबै बालबालिकाको पहुँच सुनिश्चित भएपछि सिन्धुपाल्चोक जिल्लालाई पूर्ण खोप सुनिश्चित तथा दिगोपना जिल्ला घोषणा गरिएको छ ।
जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख दुर्गा बजगाईंका अनुसार नियमित खोप पाउनुपर्ने जिल्लाका सबै बालबालिकाले राष्ट्रिय खोप कार्यक्रमअन्तर्गतका १४ प्रकारका नियमित खोप प्राप्त गरेपछि जिल्लालाई पूर्ण खोप सुनिश्चित तथा दिगोपना जिल्ला घोषणा गरिएको हो ।
जिल्ला समन्वय समितिका प्रमुख बालकृष्ण श्रेष्ठको अध्यक्षतामा आयोजित घोषणा कार्यक्रममा जिल्लाभरका १०३ वडामा रहेका १५१ स्वास्थ्य संस्था तथा ७११ जना महिला स्वास्थ्य स्वयंसेविकाको सक्रिय परिचालनका कारण अभियान सफल भएको जानकारी दिइयो ।
कार्यक्रममा १६ देखि २३ महिनासम्मका सबै बालबालिकाले राष्ट्रिय खोप तालिकाअनुसार आवश्यक सबै खोप पूरा गरेको तथा खोप पाउनुपर्ने लक्षित समूहका सबै बालबालिका नियमित खोपको पहुँचमा आएको घोषणा गरिएको थियो ।
सो अवसरमा जिल्ला समन्वय समितिका प्रमुख बालकृष्ण श्रेष्ठले पूर्ण खोप सुनिश्चित हुनु जिल्लाको स्वास्थ्य क्षेत्रका लागि महत्वपूर्ण उपलब्धि भएको उल्लेख गर्दै यस उपलब्धिलाई दीगो बनाउन स्थानीय तह, स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका र समुदायबीचको सहकार्य निरन्तर रहनुपर्ने बताए ।
जिल्ला समन्वय समितिका उपप्रमुख पदमनाथ नेपालले नियमित खोप कार्यक्रम बालबालिकाको जीवन रक्षा र स्वस्थ भविष्यको आधार भएकाले यसको निरन्तरता, गुणस्तर र प्रभावकारितामा विशेष ध्यान दिन आवश्यक रहेको धारणा राखे ।
इन्द्रावती गाउँपालिकाका अध्यक्ष झम्क नेपालले स्थानीय तहले खोप कार्यक्रमलाई उच्च प्राथमिकतामा राख्दै कुनै पनि बालबालिका खोप सेवाबाट वञ्चित नहुने वातावरण निर्माण गरिएको बताए ।
मेलम्ची नगरपालिकाकी उपप्रमुख उमा प्रधानले पूर्ण खोप सुनिश्चित अभियानलाई सफल बनाउन स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका र अभिभावकले खेलेको भूमिका प्रशंसनीय रहेको बताइन् ।
कार्यक्रममा विश्व स्वास्थ्य संगठनका डा. रुपेश तिमिल्सिनाले नियमित खोपले बालबालिकालाई विभिन्न संक्रामक रोगबाट सुरक्षित राख्ने भएकाले खोप कार्यक्रमको निरन्तरता, प्रभावकारी निगरानी तथा अभिलेखीकरणलाई अझ सुदृढ बनाउनुपर्नेमा जोड दिए । उनले बागमती प्रदेश सरकारले प्रदान गरेको पूर्ण खोप सुनिश्चितताको प्रमाणपत्र जिल्ला खोप समन्वय समितिलाई हस्तान्तरण समेत गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्