चौतारा । लायन्स क्लब्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ ‘एफ’ नेपालद्वारा सञ्चालित लायन्स सेवा सप्ताह अन्तर्गत बुधबार सिन्धुपाल्चोकमा दुईवटा सामाजिक कार्यक्रम सम्पन्न भएका छन् ।
सेवा सप्ताहको पहिलो दिन चौतारा साँगाचोकगढी नगरपालिका-५ मा आवश्यकतामा रहेका परिवारलाई खाद्यान्न राहत वितरण गरिएको छ । त्यस्तै, वडा नं. ७ स्थित श्री सिद्धिगणेश माध्यमिक विद्यालयमा विद्यार्थीहरूलाई लक्षित गरी ट्राफिक नियमसम्बन्धी सचेतना कार्यक्रम सञ्चालन गरिएको हो । कार्यक्रममा सुरक्षित सडक प्रयोग, ट्राफिक संकेतको पालना तथा दुर्घटना न्यूनीकरणका उपायबारे जानकारी प्रदान गरिएको थियो ।

लायन्स क्लब अफ काठमाडौं सिन्धु चौतारा सिटीका अध्यक्ष राकेश रानाका अनुसार सेवा सप्ताहको अवसरमा असार १७ गतेदेखि २३ गतेसम्म शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण, सामाजिक सेवा तथा जनचेतनामूलक विभिन्न कार्यक्रम सञ्चालन गरिनेछन् ।
उनले समाजका विभिन्न वर्गलाई प्रत्यक्ष लाभ पुग्ने उद्देश्यका साथ सप्ताहव्यापी सेवा अभियान सञ्चालन गरिएको बताउँदै सबै सरोकारवाला निकाय तथा स्थानीय समुदायको सहयोग र सहभागिताले अभियानलाई थप प्रभावकारी बनाउने विश्वास व्यक्त गरे ।
लायन्स सेवा सप्ताहअन्तर्गत आगामी दिनहरूमा आँखा परीक्षण शिविर, विद्यालय झोला वितरण, वृक्षारोपण, मधुमेह परीक्षण, पौष्टिक खाद्यान्न वितरणलगायतका कार्यक्रम सञ्चालन गरिने क्लबले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्