चोैतारा | अंश र वंश सम्बन्धी कानुनी व्यवस्था, महिला तथा पुरुषबीचको समान अधिकार तथा सामाजिक सचेतना अभिवृद्धि गर्ने उद्देश्यले “अंश र वंशमा समान अधिकार” विषयको बहस कार्यक्रम चौतारा साँगाचोकगढी नगरपालिका-१२ साँगाचोकस्थित जनजागृति माध्यमिक विद्यालयमा सम्पन्न भएको छ ।
भिजन सिन्धु प्रालिको आयोजनामा सम्पन्न कार्यक्रममा अंश तथा वंशसँग सम्बन्धित कानुनी प्रावधान, उत्तराधिकारको अधिकार, महिलाको सम्पत्ति अधिकार तथा समानताको विषयमा छलफल गरिएको थियो । कार्यक्रममा विद्यार्थी, शिक्षक तथा स्थानीय समुदायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

कार्यक्रममा जिल्ला अदालत सिन्धुपाल्चोकका अधिकृत हेमा पाण्डे तथा वैधानिक वकिल गोमा घले ले सहजीकरण गर्दै अंश र वंश सम्बन्धी विद्यमान कानुनी व्यवस्थाबारे जानकारी गराएका थिए । उनीहरूले संविधान तथा प्रचलित कानुनले महिला र पुरुषलाई समान अधिकार सुनिश्चित गरेको भए पनि व्यवहारिक कार्यान्वयनमा अझै चुनौती रहेको बताए ।

कार्यक्रममा बोल्दै चौतारा साँगाचोकगढी नगरपालिकाकी उपप्रमुख सीता थापा ले संविधानले सुनिश्चित गरेको समान अधिकारलाई व्यवहारमा कार्यान्वयन गर्न समाजका सबै पक्ष जिम्मेवार हुनुपर्ने बताइन् । उनले महिला तथा पुरुषबीचको समानता केवल कानुनमा सीमित नभई व्यवहारमा पनि स्थापित हुनुपर्ने धारणा व्यक्त गरिन् । साथै, यस्ता बहस तथा सचेतनामूलक कार्यक्रमले समाजमा रहेका विभेदकारी सोचको अन्त्य गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरिन् ।
कार्यक्रममा विषयवस्तुमाथि प्रस्तुति, कानुनी व्याख्या, खुला बहस तथा प्रश्नोत्तर, सहभागीहरूको धारणा संकलन तथा निष्कर्ष र सुझाव प्रस्तुत गरिएको थियो । सहभागीहरूले अंश र वंशको अधिकार सम्बन्धी विषयमा समुदायस्तरमा अझ व्यापक सचेतना आवश्यक रहेको बताएका थिए ।
आयोजकका अनुसार कार्यक्रमले अंश र वंश सम्बन्धी कानुनी जानकारी समुदायसम्म पुर्याउनुका साथै सामाजिक विभेद न्यूनीकरण र समानताको प्रवर्द्धनमा सकारात्मक योगदान पुर्याउने अपेक्षा गरिएको छ । साथै यो कार्यक्रम दुई चरणमा सञ्चालन हुने बताउदै दोस्रो चरणको कार्यक्रम पनि छिट्टै सञ्चालन गरिने बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्