२०८१ श्रावण १२
                           

हाम्रो इन्टरनेट कति छिटो ?

कुनै एउटा देशको छुट्टाछुट्टै डिभाइसबाट कम्तीमा तीन सय प्रयोगकर्ताले स्पिडटेस्टडटनेटमा इन्टरनेटको स्पिड जाँच गर्नेलाई समेट्दै अमेरिकी कम्पनी ओक्लाले करिब दुई सय देशलाई इन्टरनेटको स्पिडको आधारमा वरीयता छुट्याउन थालेको छ । यसमा नेपालको अवस्था के छ त ?

हामी मोबाइलमा इन्टरनेट चलाउँछौं र सहरी क्षेत्रमा बस्ने अधिकांशको घरमा छुट्टै इन्टरनेट पनि जोडिएको छ  । मोबाइल इन्टरनेट दिने कम्पनी थोरै भए पनि तारसहितको फिक्स्ड इन्टरनेट दिने दुई दर्जन जति कम्पनी नेपालमा सक्रिय छन्  ।

यस्ता कम्पनी इन्टरनेट सेवा प्रदायकका रूपमा चिनिन्छन् । नेपालका ६० प्रतिशत जनताले इन्टरनेटको सुविधा पाएको सरकारी तथ्यांक छ । यसमध्ये ८० प्रतिशतले मोबाइल इन्टरनेट नै प्रयोग गर्छन् । तारसहितको फिक्स ब्रोडब्यान्ड प्रयोग गर्ने जनसंख्या करिब २० प्रतिशत हाराहारी मात्रै छ । सरकारले आगामी तीन वर्षमा यसलाई ४० प्रतिशत पुर्‍याउने लक्ष्य राखेको छ भने तीन वर्षमा शतप्रतिशत जनसंख्याले मोबाइल, इन्टरनेट प्रयोग गर्ने अनुमान छ । तर हामीले पाएको इन्टरनेटको गति कति छिटो छ ?

यस्तै जिज्ञासाको उत्तर दिन अमेरिकी कम्पनी ओक्लाले हरेक महिना एउटा प्रतिवेदन सार्वजनिक गर्छ । आफ्नो इन्टरनेटको स्पिड जाँच गर्न धेरैले प्रयोग गर्ने स्पिडटेस्टडटनेट यही ओक्ला नामक कम्पनीले बनाएको हो । यसले विश्वभर रहेका सर्भरहरूको माध्यमबाट लगभग सबैजसो देशमा इन्टरनेट ब्यान्डविथ र लेटेन्सीको मापन गर्न सहयोग गर्दै आएको छ । ओक्लाले जुन महिनामा विभिन्न देशको औसत इन्टरनेट स्पिड समेटेर नयाँ प्रतिवेदन सार्वजनिक गरेको छ । यसमा मोबाइल इन्टरनेट र फिक्स ब्रोडब्यान्ड इन्टरनेटलाई दुई भिन्न वर्गमा विभाजन गरिएको छ । ओक्लाले सार्वजनिक गरेको प्रतिवेदनअनुसार नेपालको मोबाइल इन्टरनेटको स्पिड १२७ औं स्थानमा पर्छ । मोबाइल स्पिडको सूचीमा नेपाल भारतभन्दा पछाडि छ । भारत १२६ औं स्थानमा छ ।नेपालमा मोबाइल इन्टरनेटको औसत डाउनलोड स्पिड १०.८३ एमबीपीएस र अपलोड स्पिड ५.२४ एमबीपीएस रहेको प्रतिवेदनमा जनाइएको छ । मे महिनाभन्दा नेपाल २ स्थानले तल झरेको हो । मोबाइल इन्टरनेटको स्पिड भने सुध्रिँदै गएको प्रतिवेदनमा भनिएको छ तर अन्य देशको तुलनामा नेपालको स्थान भने खस्कँदो छ । यसको अर्थ हो अन्य देशमा नेपालभन्दा द्रुत गतिमा मोबाइल इन्टरनेट सुधारिँदै गएको छ ।

फिक्स्ड ब्रोडब्यान्ड स्पिडमा नेपाल १०८ औं स्थानमा छ । नेपालमा फिक्स्ड ब्रोडब्यान्डको औसत डाउनलोड स्पिड १९.२६ र औसत अपलोड स्पिड १७.०४ एमबीपीएस रहेको प्रतिवेदनमा जनाइएको छ । मे महिनामा भन्दा जुनमा नेपालमा प्रयोग हुने फिक्स्ड ब्रोडब्यान्डको स्पिडका हिसाबले नेपाल ४ स्थान तल झरेको हो । एक वर्षमा नेपालको औसत फिक्स्ड ब्रोडब्यान्ड स्पिड धेरै सुधारिएको छैन ।

मोबाइल ब्रोडब्यान्डमा विश्वको औसत डाउनलोड स्पिड २७.४४ एमबीपीएस र अपलोड स्पिड १०.६२ एमबीपीएस छ । यस्तै, फिक्स्ड ब्रोडब्यान्डतर्फ विश्वको औसत डाउनलोड स्पिड ५९.४५ एमबीपीएस र अपलोड स्पिड ३०.७२ एमबीपीएस छ । दक्षिण कोरिया, नर्वे र क्यानडा मोबाइल इन्टरनेट स्पिडको हिसाबले जुन महिनामा सबैभन्दा अगाडि छन् । यी तीन देशमा मोबाइल ब्रोडब्यान्डको औसत स्पिड ६० एमबीपीएस भन्दा माथि छ । यस्तै, फिक्स्ड ब्रोडब्यान्डको स्पिडतर्फ सिंगापुर, हङकङर दक्षिण कोरिया अघि छन् । यी तीनै देशमा फिक्स्ड ब्रोडब्यान्डको औसत स्पिड १४० एमबीपीएसभन्दा माथि छन् । नेपालमा भने सहरी क्षेत्रमा १० एमबीपीएस र ग्रामीण क्षेत्रमा ५१२ केबीपीएस स्पिडको इन्टरनेटलाई ब्रोडब्यान्ड इन्टरनेट मानिँदै आइएको छ ।

ओक्लाले मासिक रूपमा करिब २ सय देशको इन्टरनेटको स्पिड तुलना गरेर प्रतिवेदन सार्वजनिक गर्ने भए पनि यो आधिकारिक भने होइन । यस्तो प्रतिवेदन तयार पार्दा तथ्यांक लिने विधि पनि कम्पनीको आफ्नै छ । ओक्लाका अनुसार मानिसले इन्टरनेट स्पिड जाँचका लागि प्रयोग गर्ने स्पिडटेस्ट डट नेटको तथ्यांकको आधारमा यो प्रतिवेदन तयार पारिएको हो ।कुनै एउटा देशको छुट्टाछुट्टै डिभाइसबाट ३ सय बढी प्रयोगकर्ताले स्पिडटेस्टमा इन्टरनेटको स्पिड जाँच गरे भने त्यो देश पनि यो सूचीमा अटाउँछ । धेरै देशलाई सूचीमा अटाउन सन् २०१९ यता यो सीमालाई कम गरिएको हो । त्यसअघि मोबाइल इन्टरनेटको स्पिड सूचीमा सहभागी हुन ६ सयभन्दा बढी प्रयोगकर्ताले स्पिडटेस्टडटनेट प्रयोग गरेको हुनुपर्ने प्रावधान थियो भने ब्रोडब्यान्ड स्पिडको सूचीमा सहभागी हुन ३ हजार बढी प्रयोगकर्ताले यसको प्रयोग गरेको हुनुपर्ने सीमा तोकिएको थियो ।नेपाल केही वर्षयता यो सूचीमा पर्दै आएको छ । तर, द्रुत गतिको इन्टरनेट प्रयोग गर्ने बढी प्रयोगकर्ताले स्पिडटेस्टडटनेटको प्रयोग गरेमा देशको सूची माथि जाने र कम गतिको इन्टरनेट प्रयोग गर्ने बढी प्रयोगकर्ताले स्पिड टेस्ट बढी प्रयोग गर्दा देशको सूची खस्किने सम्भावना हुने भएकाले यो सूचीलाई आधिकारिक भने मानिँदैन ।

प्रतिक्रिया दिनुहोस्