२०८३ असार ७

सिकाईमा ध्यान केन्द्रित

आम शिक्षकहरुको भनाईमा कक्षामा विद्यार्थिलाई सिकाईमा ध्यान केन्द्रित (Attention) गराउन नसकिएको जिज्ञासा व्यापक रुपमा रहेको पाइन्छ । यहि कुरा सरदर अविभावकबाट पनि दोहोरिरहन्छ । जिल्ला शिक्षा समन्वय इकाई कार्यालय सिन्धुपाल्चोकद्वारा हालै आयोजित नव-स्थायी शिक्षकहरुलाई अभिमुखिकरण (Orientation) कार्यक्रममा “ गुणस्तर सुधारमा मनोविज्ञान” (Psychology for Quality Improvement) प्रशिक्षण कार्यक्रमा यहि जिज्ञासाले प्राथमिकता पाएको थियो । यसर्थ मनोवैज्ञानिक दृष्ठिकोणबाट माध्यमिक विद्यालय तहसम्मका विद्यार्थिहरुलाई कक्षा कोठामा सिकाईमा ध्यान केन्दित (Attention) गराउने विविध उपायहरु उल्लेख गरिएको छ । ध्यान केन्द्रित (Attention) हुनु भनेको नितान्त संज्ञानात्मक पक्ष (Cognitive aspect) सँग सम्बन्धित छ । ध्यान छनौटपूर्ण ध्यान (Selective attention), विभाजितपूर्ण ध्यान (Divided attention), एकोहोरो ध्यान (Sustained attention) तथा कार्यान्वयात्मक ध्यान (Executive attention) हुन्छन ।
शिक्षकले आवस्यकता अनुशार ध्यानका प्रकारलाई प्रयोगमा ल्याउन सक्नु पर्दछ । हरेक वालवालिकामा जन्मजात मौलिक क्षमता हुन्छ । नीति शास्त्रमा पनि भनिएको छ “ अयोग्य मनुजः नास्ति योजकस्तत्र दुर्लभ” । शिक्षकहरुले कक्षामा विद्यार्थिहरुलाई सिकाईमा ध्यान दिनु मौखिक रुपमा मात्र भनेर अधिकाँश विद्यार्थिहरुको ध्यान केन्द्रित नभएको अवस्था छ । ध्यानलाई धारणको जननी (Attention is the mother of retention) भनिन्छ । धारण भनेको सूचनाहरु, ज्ञान तथा अनुभवहरु मश्तिष्कमा जम्मा हुने प्रकृया हो । जव सम्म धारण हुँदैन तवसम्म स्मृति (Memory) हुँदैन ।

सही रुपमा स्मृतिको बिकास नभएमा सिकेका बिषयबस्तुहरु पुनर्उत्पादन (Retrieval) हुँदैन । सिकाइको मुल लक्ष भनेकै स्मृतिको दिगो बिकास गराउनु हो । ध्यान केन्द्रित गराउन अभिप्रेरणाको प्रमुख भूमिका हुन्छ । यसर्थ अभिप्रेरणालाई सिकाई प्रकृयाको राजमार्ग (Motivation is the highway of learning) भनिन्छ । अभिप्रेरणा जगाउन शिक्षकले विभिन्न प्रकृयाहरु अवलम्बन गर्नु पर्दछ । विद्यार्थिहरुलाई परानुभूतीपूर्ण व्यवहार (Emphatically behavior), पुनर्वलमा पनि अनश्चित समयको अन्तराल पुनर्वल (Variable interval reinforcement), उत्सुकता (Curiosity), प्रतिस्पर्धा (Competition), यथासक्य परिणामको जानकारी, पृष्ठपोषण, दण्डको सट्टामा नकारात्मक पुनर्वल (Negative reinforcement) ( नकारात्मक पुनर्वल भन्नुनै सिकाईमा आइपर्ने नकारात्मक उत्प्रेरक हटाई सकारात्मक उत्प्रेरकहरुको उपयोग गर्नु हो) । ध्यान केन्द्रित गराउन शिक्षकले विद्यार्थिका सम्पूर्ण पक्ष जस्तै-शारिरीक, मानसिक, संवेगात्मक, सामाजिक, नैतिक, बौद्धिक आदि बुझ्नु जरुरी छ । यसैलाई KYS ( Know your students) को रुपमा पनि लिन सकिन्छ । सिकाई प्रकृयामा शिक्षकले विद्यार्थिलाई सिकारुकै दृष्टिकोण (Emic perspective) बाट बुझ्नु पर्दछ । व्यवहारवादी सिद्धान्त अनुशार विद्यार्थिको वानीको बिकास गराउन प्रतिकृया सामान्यीकरण, उद्दीपक सामान्यीकरण, बानी प्रतिस्पर्धा, प्रासङ्गिक अनुबन्धन तथा उचित पुनर्वल प्रदान आदिको प्रयोग गरि ध्यान केन्द्रित गराउन सकिन्छ । मनोविश्लेषणात्मक सिद्धान्तका आधारमा विद्यार्थि र शिक्षक विच एक आपसमा नजिकैबाट बुझ्ने सम्बन्ध (Transference and counter-transference relationship) । संज्ञानवादी सिद्धान्त अनुशार प्रत्यक्षीकरणात्मक संगठन (Perceptual organization) गराउन समस्या समाधान गराउने बिधि, मस्तिष्क झंकार बिधि, बहुचिन्तन बिधि, तार्किक बिधि, आलोचनात्मक चिन्तन आदि प्रयोगमा ल्याउन पर्दछ जस्ले गर्दा विद्यार्थिको ध्यान केन्द्रित भै मानसिक चित्र (Cognitive map) निर्माण हुन सक्दछ । विद्यार्थिहरुलाई अभिभावक, शिक्षकले लक्ष निर्धारण गरि उत्पादन चिन्तनमा केन्द्रित गराउनु पर्दछ ।

मानवतावादी सिद्धान्त अनुशार विद्यार्थिको ध्यान केन्द्रित गराउन प्रजातान्त्रिक वातावरण सृजनाद्वारा उनीहरुको आत्मसम्मान (Self-esteem) लाई जोड दिनु पर्दछ । संरचनावादी सिद्धान्त अनुशार विद्यार्थिको ध्यान केन्द्रित गराउन विद्यालय तथा सामाजिक वातावरण शैक्षिक बनाई ज्ञान निर्माणमा सहायता गर्नु पर्दछ । अहिले विश्व एक गाउँ (World as a village) को रुपमा परिणत भएको परिप्रेक्षमा विद्यार्थिको ध्यान प्रायः कक्षा १२ उतिर्ण पश्चात तेश्रो मुलुकमा जाने लक्षले पनि कक्षा कोठामा ध्यान कम भएको पाइन्छ । स्क्रिन लतको असर अधिक परेको छ । अन्य देशहरुमा विद्यार्थिहरुलाई स्क्रिन लत छुटाउन विभिन्न व्यवस्था गरिसकेका छन । यो उमेरमा साथिसंगतको प्रभाव अमिट पर्दछ । यसर्थ शिक्षक
गतिशिल शक्ति भएकोले अनुकरणिय व्यक्तित्व, पेशागत गुणले भरिपुर, विद्यार्थिको सहि मार्गनिर्देशक एवम परामर्शदाता, विद्यार्थिको सिकाई उपलब्धि लगायत विविध पक्षहरु बरोबर अभिभावकलाई जानकारी, विद्यार्थिको सिकाई व्यवहार वारेमा जानकारी लिन- दिन सके सम्म अभिभावकको घरमा नै शिक्षक वा शिक्षक-अभिभावक सँघका पदारिकारीहरुको भेट-घाट तथा विद्यालय व्यवस्थापन
समितिले विद्यालयमा सामाजिक रुपमा विद्यार्थिसँग घुलनशिलता गुण शालिन एवम क्षमतावान शिक्षकलाई परामर्शदाताको रुपमा (Focal person) नियुक्ति गरि समस्यामूलक एवम विचलन व्यवहार भएका विद्यार्थिहरुलाई व्यवहार परिमार्जन वा आदत निर्माण गराई विद्यार्थिहरुको ध्यान कक्षा शिक्षण तथा सिकाईमा केन्द्रित गराउन सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्