समाजमा कानुनसम्मत तथा स्थापित सापेक्ष मूल्य-मान्यता, सिद्धान्त, आदर्श ग्रहण गर्नु र सोही अनुसार जिम्मेवारपूर्ण व्यवहार गर्नु नै सामाजिकीकरण हो । सामाजिकीकरणका रूपहरूमा परम्परागत, अन्तरस्थ र बाह्य तीन प्रकार छन्, जसमा बालबालिकाको सामाजिकीकरणका लागि अन्तरस्थ पक्ष सबैभन्दा उपयोगी मानिन्छ । अन्तरस्थ सामाजिकीकरणको विकास पश्चात् बालबालिकाले बाह्य निर्देशित सामाजिकीकरणका सीपहरू पनि सिक्न सक्दछन् ।
अन्तरस्थ पक्ष अन्तर्गत पारिवारिक संस्कार, रीतिरिवाज, चालचलन, अन्तरक्रिया एवम् आचरणले बालकको व्यवहारलाई निर्देशित गरिरहेका हुन्छन् । सामाजिकीकरणका मान मर्यादा, मूल्य, मान्यता आदिलाई आत्मसात् गरी सोही अनुरूप जीवन सञ्चालनका व्यवहारहरू निर्वाह गरिन्छ । त्यसैले पारिवारिक वातावरण स्वस्थ हुनु आवश्यक हुन्छ ।
कुनै पनि व्यक्ति लक्ष्य वा अन्तरइच्छा लिएर अगाडि बढ्दछ। सामाजिकीकरण भएमा अधिकतम लक्ष्य हासिल गर्न सकिन्छ । व्यक्तिको सकारात्मक व्यवहारले अरूको सहयोग प्राप्त गर्न सजिलो बनाउँछ र आपसी अन्तरक्रियाद्वारा व्यक्तित्व विकासमा सहयोग पुर्याउँछ । सामाजिकीकरणका कारण अनुकरणीय सीप र तादात्मिकरण सीपहरूको विकास भई व्यक्तित्व विकासमा टेवा पुग्दछ ।
परिवर्तित विश्व-वन्धुत्वको समाजमा सामाजिकीकरणकै सीपले सहयोग पुर्याउँछ । सामाजिकीकरणका सीप भएका व्यक्तिहरू सधैं सकारात्मक सोच राख्छन्, उपकारी व्यवहार गर्छन्, र अरूलाई सहानुभूति तथा परानुभूतिको रूपमा बुझेर सोही अनुरूप प्रत्याभूति प्राप्त गरी आफ्नै व्यक्तित्व विकासमा सहयोग पुर्याउँछन् ।
अन्तरस्थ पक्षमा बाबुआमाहरू आफ्ना बालबालिकालाई असल, नैतिकवान र सच्चरित्र व्यक्तित्व बनाउन प्रयत्नशील हुन्छन्, जसलाई निश्चित परिधिभित्र रहँदै स्वतन्त्रता प्रदान गर्छन् । यस्ता बालबालिकाहरू नैतिकवान, अनुशासित र उत्पादनमुखी हुन्छन्।
अहिलेको परिवर्तित परिवेशमा बालबालिकाले साथीभाइ वा समूहबाट पनि सामाजिकीकरणका सीपहरू सिक्ने भएकाले उनीहरूमा परिस्थितिसँग मिल्ने क्षमता र कारण–परिणामको बोध विकसित हुन्छ। यस्ता बालबालिकाहरू बढी व्यवहारिक, उपयोगमुखी र सामाजिक समायोजन गर्न सिपालु हुन्छन्।
यसर्थ, बालबालिकालाई सही रूपमा सामाजिकीकरण गर्न सकिएमा समाजमा बढ्दै गइरहेका बालविवाह तथा बालअपराधका घटनामा कमी ल्याउन सकिन्छ।
प्रतिक्रिया दिनुहोस्