२०८३ श्रावण १९

ओलम्पिक दिवस २०२६ को अवसरमा शुभकामना सन्देश

ओलम्पिक दिवस २०२६ को अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली खेलप्रेमी, खेलाडी, प्रशिक्षक, खेलकर्मी, खेल प्रशासनसँग आबद्ध व्यक्तित्वहरू तथा खेलकुदको माध्यमबाट स्वस्थ र समुन्नत समाज निर्माणको अभियानमा समर्पित सम्पूर्ण महानुभावहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।
मानव सभ्यताको विकासक्रमसँगै खेलकुदले केवल शारीरिक तन्दुरुस्तीको माध्यमका रूपमा मात्र होइन, चरित्र निर्माण, अनुशासन, नेतृत्व क्षमता, सहिष्णुता र सामाजिक एकताको महत्वपूर्ण आधारका रूपमा आफ्नो विशिष्ट पहिचान स्थापित गरेको छ । बदलिँदो विश्व परिवेशमा खेलकुदले राष्ट्र र समुदायबीचको दूरी घटाउने, सांस्कृतिक विविधतालाई सम्मान गर्ने तथा साझा मानवीय मूल्यहरूको प्रवद्र्धन गर्ने प्रभावकारी माध्यमका रूपमा आफूलाई स्थापित गरेको छ । यही कारण ओलम्पिक आन्दोलनलाई विश्वव्यापी शान्ति, मित्रता र मानव एकताको अभियानका रूपमा पनि लिइन्छ ।
ओलम्पिक दिवस एउटा स्मरण दिवस मात्र होइन, यो सक्रिय जीवनशैली, स्वस्थ सोच र सकारात्मक सामाजिक रूपान्तरणतर्फ अग्रसर हुने प्रेरणाको दिन हो । यस वर्षको विश्वव्यापी सन्देश “You Can Do This! Let’s Move” ले प्रत्येक व्यक्तिलाई आफ्नो क्षमता पहिचान गर्दै सक्रिय र ऊर्जावान जीवनयापनतर्फ प्रेरित गर्दछ । आजको व्यस्त र प्रविधिमैत्री जीवनशैलीका कारण घट्दै गएको शारीरिक सक्रियताले विभिन्न स्वास्थ्य चुनौतीहरू सिर्जना गरिरहेको सन्दर्भमा यो सन्देश अझ सान्दर्भिक र महत्वपूर्ण बनेको छ ।


नेपालजस्तो युवा जनशक्ति सम्पन्न मुलुकका लागि खेलकुद मनोरञ्जन वा प्रतिस्पर्धाको विषय मात्र नभइ यो राष्ट्रिय गौरव, सामाजिक रूपान्तरण र समृद्धिको आधार पनि हो । खेलकुदले युवाहरूलाई सकारात्मक सोच, अनुशासित जीवन र सिर्जनात्मक ऊर्जातर्फ अभिमुख गराउँदै राष्ट्र निर्माणको अभियानमा सक्रिय सहभागिता जनाउन प्रेरित गर्दछ । त्यसैले खेल संस्कृतिको विकास, खेल पूर्वाधारको विस्तार र प्रतिभाको पहिचान तथा संरक्षण आजको आवश्यकता हो ।
ओलम्पिकका मूल आदर्श-मित्रता, सम्मान र उत्कृष्टतालाई आत्मसात गर्दै हामी सबैले खेलकुदलाई जीवनशैलीको अभिन्न अंग बनाउने, स्वस्थ समाज निर्माणमा योगदान पुर्याउने तथा आगामी पुस्तालाई खेलप्रति प्रेरित गर्ने संकल्प गर्न आवश्यक छ । खेलकुदले सिकाउने सहकार्य, धैर्यता र संघर्षको भावना जीवनका हरेक क्षेत्रमा उत्तिकै उपयोगी हुन्छन् ।
ओलम्पिक दिवस २०२६ ले हामी सबैमा नयाँ उत्साह, ऊर्जा र सकारात्मक सोचको सञ्चार गरोस् भन्ने शुभेच्छा व्यक्त गर्दै, खेलकुदमार्फत स्वस्थ, सक्षम, समावेशी र समुन्नत समाज निर्माणको साझा यात्रामा सबैको सक्रिय सहभागिताको अपेक्षा गर्दछु ।
ओलम्पिक दिवस २०२६ को हार्दिक मंगलमय शुभकामना ।

 

प्रतिक्रिया दिनुहोस्