२०८३ असार २

चौतारा साँगाचोकगढीमा तीनदिने ‘नमुना युवा नगर सभा अभ्यास’ सम्पन्न

चौतारा, सिन्धुपाल्चोक। चौतारा साँगाचोकगढी नगरपालिकामा तीनदिने ‘नमुना युवा नगर सभा अभ्यास’ कार्यक्रम सम्पन्न भएको छ । युवाहरूमा नेतृत्व क्षमता, निर्णय प्रक्रिया र स्थानीय शासनप्रतिको बुझाइ अभिवृद्धि गर्ने उद्देश्यले आयोजित कार्यक्रमले सहभागी विद्यार्थीहरूलाई स्थानीय सरकारको कार्यप्रणाली नजिकबाट बुझ्ने अवसर प्रदान गरेको आयोजकले जनाएको छ ।


कार्यक्रमको समापन समारोहलाई सम्बोधन गर्दै नगर प्रमुख कृष्णप्रसाद सापकोटाले नमुना नगर सभा अभ्यास युवाहरूको नेतृत्व विकासका लागि उपयोगी र रचनात्मक पहल भएको बताए । यस्ता अभ्यासले भावी पुस्तालाई जिम्मेवार, सक्षम र सचेत नेतृत्वका रूपमा विकास गर्न सहयोग पुग्ने उनको विश्वास थियो ।


उपप्रमुख सीता थापाले कार्यक्रममार्फत विद्यार्थीहरूले स्थानीय सरकारको संरचना, नीति निर्माण प्रक्रिया तथा कार्यान्वयन पक्षबारे व्यावहारिक ज्ञान हासिल गरेको उल्लेख गरिन् । त्यसैगरी प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम घिमिरेले सहभागीहरूको सक्रियता, अनुशासन र प्रस्तुति प्रशंसनीय रहेको बताउँदै यस्ता कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिनुपर्ने धारणा व्यक्त गरे ।


कार्यक्रमको अन्तिम दिन नगर प्रमुख, उपप्रमुख तथा प्रमुख प्रशासकीय अधिकृतको उपस्थितिमा सहभागी विद्यार्थीहरूले वास्तविक नगर सभाको झल्को दिने गरी ‘ नगर सभा’ को नमुना अभ्यास प्रस्तुत गरेका थिए । विभिन्न विषयमा छलफल, प्रस्ताव प्रस्तुति तथा निर्णय प्रक्रियाको अभ्यासमार्फत उनीहरूले सिकेका ज्ञान र सीप प्रदर्शन गरेका थिए ।

 


तीन दिनसम्म चलेको कार्यक्रममा नगरभित्रका दुई क्याम्पस तथा विभिन्न माध्यमिक विद्यालयका समान संख्यामा छात्र र छात्रा गरी ४८ जना विद्यार्थीहरूको सहभागिता रहेको थियो । तीन जना विशेषज्ञ प्रशिक्षकहरूले सहजीकरण गरेको प्रशिक्षणमा स्थानीय सरकारको नीतिगत, कानुनी तथा व्यावहारिक पक्षका बारेमा जानकारी दिइनुका साथै सहभागीहरूको नेतृत्व, संवाद, समन्वय र निर्णय क्षमताको विकासमा विशेष जोड दिइएको थियो ।
आयोजकका अनुसार कार्यक्रमले युवाहरूमा स्थानीय शासनप्रति रुचि बढाउनुका साथै सार्वजनिक नेतृत्व र नागरिक उत्तरदायित्वबारे सकारात्मक चेतना विकास गर्न महत्वपूर्ण योगदान पुर्‍याएको छ ।

प्रतिक्रिया दिनुहोस्