चौतारा । स्थानीय परिकार, संस्कृति, भाषा तथा पहिचानको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले चौतारा साँगाचोकगढी नगरपालिका-५ मा ‘फुड फेस्टिबल (पाक उत्सव), स्थानीय उत्पादन प्रदर्शनी तथा सांस्कृतिक महोत्सव-२०८३’ सम्पन्न भएको छ ।

एकीकृत जात्रा पर्व व्यवस्थापन तथा सञ्चालन समिति चौताराको आयोजनामा जेठ २३ गते शनिबार चौताराको पुरानो बजार क्षेत्रमा आयोजित महोत्सवमा स्थानीय स्तरमा उत्पादन हुने विभिन्न खाद्य परिकार, कृषि उपज तथा हस्तकलाका सामग्रीहरूको प्रदर्शनी गरिएको थियो । साथै विभिन्न जातजातिका मौलिक संस्कृति झल्कने सांस्कृतिक प्रस्तुति, झाँकी तथा लोकनृत्यले कार्यक्रमलाई थप आकर्षक बनाएको थियो ।
“भाषा, संस्कृति र पहिचान-आदिवासी जनजातिको गर्व र राष्ट्रको शान” भन्ने मूल नारासहित आयोजित महोत्सवले स्थानीय कला, संस्कृति तथा मौलिक खानाको प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्याएको आयोजकले जनाएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख कृष्णप्रसाद सापकोटाले स्थानीय संस्कृति, परम्परा र मौलिक परिकारको संरक्षण आजको आवश्यकता रहेको बताए । उनले यस्ता महोत्सवले स्थानीय उत्पादनको बजारीकरण, पर्यटन प्रवर्द्धन तथा समुदायबीचको सामाजिक एकतालाई थप मजबुत बनाउने उल्लेख गरे ।

त्यस्तै नगर उपप्रमुख सीता थापाले चौताराको सांस्कृतिक विविधता र स्थानीय उत्पादनलाई एकै थलोमा प्रस्तुत गर्न पाउनु गौरवको विषय भएको बताउदै कार्यक्रमले स्थानीय सीप, उत्पादन र संस्कृतिलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरसम्म परिचित गराउन सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
महोत्सवमा विभिन्न समुदायका परम्परागत परिकार, भेषभूषा, संस्कृति तथा स्थानीय उत्पादनहरूको प्रदर्शन गरिएको थियो । स्थानीय बासिन्दा, विभिन्न संघसंस्था तथा अतिथिहरूको उल्लेख्य सहभागिता रहेको कार्यक्रमले चौताराको सांस्कृतिक र ऐतिहासिक पहिचानलाई थप उजागर गरेको सहभागीहरूले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्