भरत पोखरेल – दक्षिण एसियाको एउटा देश बंगलादेश अहिले विश्व समाचार बनेको छ । ७६ वर्षिया शेख हसीना वाजेदको १५ वर्षे शासन सकिएको छ । बंगलादेशमा विद्यार्थी विद्रोहले उथलपुथल ल्याएको छ । बंगलादेशमा भएको विद्रोहका चार कारण चर्चामा छन्ः जनवरी २०२४ को चुनाव, विपक्षीहरूलाई दमन, वेरोजगारी र पुलिस राज । विद्रोही विद्यार्थीहरूले पाँच माग राखेर आन्दोलन थालेका थिए । आरक्षण ५६ प्रतिशतबाट घटाएर १० प्रतिशत गरियोस्, योग्य उमेदवार नभए मेरिट लिस्टबाट नियुक्ति होस्, सबै उमेदवारका लागि समान परीक्षा कायम गरियोस्, सबै उमेदवारका लागि उमेर हद बराबर होस् र एकपल्टभन्दा बढी आरक्षण प्रयोग नहोस् । बंगलादेशको स्वतन्त्रता आन्दोलन १९७१ का स्वतन्त्रता सेनानी ०.१ प्रतिशत छन् उनीहरूलाई आरक्षण ३० प्रतिशत थियो । स्वतन्त्रता सेनानीका वंशजलाई ३० प्रतिशत र महिला, दुर्गम, जनजाति, अपाङ्गलाई २६ प्रतिशत गरी ५६ प्रतिशत आरक्षण सुरक्षित थियो बाँकि ४४ प्रतिशत मात्र प्रतिस्पर्धामा अवसर उपलब्ध थिए । यही आरक्षणको विरोधमा विद्यार्थीले विद्रोह सुरु गरेका थिए । जुलाई २१, २०२४ मा सुप्रिम कोर्टले स्वतन्त्रता सेनानी कोटा ३० बाट ५ प्रतिशत र अन्य कोटा २६ बाट २ प्रतिशतमात्र कायम गरेको निर्णय ग¥यो र ९३ प्रतिशत प्रतिस्पर्धाबाट नियुक्तिको व्यवस्था सुनायो तर बंगलादेशको मेघना नदीमा वर्षातको बाढीको वेग बढी सकेको थियो विद्रोह बढ्दै गयो ।
शेख हसीना वाजेदको पार्टी अवामी लिगले २००९, २०१४, २०१९ र २०२४ को चुनाव जित्यो र १५ वर्षदेखि लगातार सत्ताको उपयोग गरिरह्यो तर बंगलादेशका विपक्षी पार्टीहरूले २००९ बाहेका चुनावमा सहभागिता जनाएनन् । २०२४ को चुनावमा ४२ प्रतिशत मात्र मतदान भएको थियो । १७ करोड जनसंख्या रहेको बंगलादेशमा ३.२ करोड युवा वेरोजगार छन् । बंगलादेशमा एक दसकमा तीनगुणा प्रतिव्यक्ति आय बढ्यो, २० वर्षमा २.५ करोड मानिस गरिबी रेखाभन्दा माथि उठे, ७ प्रतिशत जतिको आर्थिक वृद्धिदर देखियो तर आर्थिक प्रगतिलेमात्र कुनै नेता लोकप्रिय नहुने रहेछ । निषेध र दमनको राजनीति आजको युगमा चल्दैन । सर्वसत्तावादी हसीनालाई बंगलादेशका जनताले स्वीकारेनन् । शेख हसीनाको १२ जुलाईको प्रेस कन्फरेन्सको एउटा शब्द रजाकारले उत्पात मच्चायो । पार्सी शब्द रजाकारको अर्थ हुन्छ गद्दार । हसीनाले आन्दोलनकारीलाई रजाकार भनिन अनि बंगलादेश बल्न थाल्यो ।
बंगलादेश पाकिस्तानबाट अलग भएर १९७१ मा स्वतन्त्र देश बन्यो । यो देश बनाउन शेख हसीनाका पिता शेख मुजीबुर रहमानको नेतृत्व थियो । उनी बंगलादेशका राष्ट्रपिता (बंगबन्धु) मानिन्छन् । अगस्त १५, १९७५ मा मुजीबुर सहित परिवारका १० जनाको हत्या भएको थियो । हसीना त्योबेला जर्मनीमा भएकाले बाँचेकी हुन् । हत्याका आरोपीको अहिलेसम्म अत्तोपत्तो छैन । त्यही परिवारको मूलघर अहिले आन्दोलनकारीले जलाएका छन् । मुजीबुर रहमानका सालिकहरू ढालेका छन् । अवामी लिगका १९ जना नेताको हत्या भएको छ, पार्टी कार्यालय जलाइएको छ । ३०० जति आन्दोलनकारी मारिएका छन् । बंगलादेशको इतिहास नयाँ सिराबाट लेखिने आकलन सुरु भएको छ । शेख हसिनालाई सेनाले ४५ मिनेटको समय दिएर देश छोड्न भन्यो उनले देशबासीका नाममा सम्बोधन पनि गर्न समय पाइनन् । प्रधानमन्त्री निवास गणभवनमा आन्दोलनकारी पसेर गरेका चर्तिकालाहरू मिडियामा आइरहेका छन् । दुईवर्ष पहिला श्रीलंकाका राष्ट्रपति निवासमा जे भएको थियो बंगलादेशमा हिजो गणभवनमा त्यही पुनरावृति भयो । आन्दोलनकारीले प्रधानमन्त्री निवासबाट माछा, खसी, खरायो, हाँस, सोफा, एसी, टिभि, पंखा, खाट आदि बोकेर हिँडेका छन् । शेख हसीना ढाकाबाट भारत त्रिपुराको अगरतला अनि अगरतलाबाट दिल्ली नजिक उत्तरप्रदेशको गाजियावाद स्थित हिन्डन एयरबेस पुगेकी छन् जहाँ उनलाई हिजो भारतीय राष्ट्रिय सुरक्षा सल्लाहकार अजित दोभालले भेटेको समाचार आएको छ । बंगलादेशमा हसीना घर छाडेर माइत भागेकी हल्ला चलेको छ । शेख हसीना बेलायत आउने उनका छोरा साजिब वाजेद जायले बीबीसीसँग भने पनि बेलायत शेख हसीनालाई शरण दिने मनसायमा छैन । अमेरिकाले हसीनाको भिसा नै रद्द गरी सक्यो । फिनल्याण्ड र स्वीट्जरल्याण्डको चर्चा चलेको छ हाल ऊनी र बहिनी शेख रेहाना भारतमै कडा सुरक्षामा रहेका छन् । बंगलादेशका सेना प्रमुख जनरल वकर–उज–जमानले सैनिक सरकार बनाउने मनसाय राखेका थिए तर आन्दोलनकारीले त्यो संभावना खारेज गरी दिए । अब अन्तरिम सरकारको कुरा चल्दै छ । बंगलादेशका राष्ट्रपति मोहम्मद शाहाबुद्दीनले बंगलादेश नेसनालिस्ट पार्टीकी नेता पूर्वप्रधानमन्त्री खालिदा जियाको हाउस एरेस्ट हटाउने आदेश गरिसकेका छन् । बन्द इन्टरनेट सुचारु भएको छ । बंगालदेश न्यु नर्मलमा आउँदै छ ।
बंगलादेशमा यस्तो किन भयो ? यसका थुप्रै विश्लेषण छन् तर बंगलादेशको एउटा प्रमुख दैनिक प्रोथोम अलो पत्रिकाले शेख हसीनाको अत्यधिक भारत समर्थन रवैयाले बंगलादेश यो दुगर्तिमा पुगेको विश्लेषण गरेको छ । बंगलादेशको भारत निर्भरता अमेरिकालाई मन परेको थिएन । जनवरी २०२४ को चुनावलाई अमेरिकाले निष्पक्ष भनेन र अहिले अन्तरिम सरकारको गठन प्रस्तावलाई अमेरिकी प्रवक्ताले स्वागत गरिसकेका छन् । अमेरिकाको यो कदमले गर्दा राजनीतिक भूइँचालो ढाकामा गयो पराकम्प दिल्लीमा गइरहेको समाचार आइरहेका छन् । बंगलादेशमा शेख हसीनाको सत्ता पल्टाउन २०१८ बाट नै तानाबाना सुरु भएको थियो र अहिले आरक्षणको आवरणमा यो विष्फोट भएको छ । भारत बंगलादेशको विद्रोहले बिखलमन्दमा परेको छ । हिजो भारतमा सर्वदलीय बैठक बोलाइयो । शेख हसीनाको भारत मुकाम भारतलाई निकै अप्ठेरो पर्न सक्छ । बंगलादेशको अन्तरिम सरकारका मुखिया नोबेल शान्ति पुरस्कार विजेता बंगालदेशी लघुवित्त (माइक्रो फाइनान्स) का पिता मोहम्मद यूनुसलाई बनाउने चर्चा चलिरहेको छ जसलाई हसीना सरकारले २ अर्ब टाका घोटाला गरेको आरोप लाएको थियो । ८४ वर्षिय यूनुस अमेरिकी चाहनामा परेका व्यक्ति भएको बंगलादेशमा चर्चा छ । हामी नेपालीले देखेको, भेटेको र सुनेको व्यक्ति हुन् यूनुस । यी सबै घटनाका सूत्राधार दक्षिण एसिया हेर्ने अमेरिकी डोनाल्ड लू हुन जसले नेपालमा एमसीसी पारित गराउन नेपाली संसदीय नेताहरूलाई घुँडा टेकाएका थिए तीनै लू अहिले बंगलादेशमा बबाल गराउने व्यक्ति मानिन्छन् । नेपाललाई बंगलादेशको घटनाले त्यति धेरै प्रभाव नपारे पनि नागनाथको पासोमा परेको बंगलादेश साँपनाथको पासोमा जाँदैछ र त्यसले नेपाललाई डस्ने डर बढ्ने छ । समयले सबै पर्दा उघार्ने नै छ ।
प्रतिक्रिया दिनुहोस्