२०८३ जेष्ठ २२

प्रधानमन्त्रीसँग छलफल: सिन्धुपाल्चोकका समस्या समाधानमा सांसद दुलालको सक्रियता

चौतारा/ प्रतिनिधि सभा सदस्य युवराज दुलालले बागमती प्रदेशबाट प्रत्यक्ष निर्वाचित सांसदहरूसँगै प्रधानमन्त्री बालेन्द्र शाहसँग छलफल गर्दै सिन्धुपाल्चोकका प्रमुख विकास तथा जनजीविकासँग जोडिएका मुद्दाहरू अघि सारेका छन्।

आज सम्पन्न उक्त छलफलमा दुलालले जिल्लाको दीर्घकालीन विकास, पूर्वाधार निर्माण तथा विपद् व्यवस्थापनसँग सम्बन्धित आठ महत्त्वपूर्ण एजेन्डा प्रधानमन्त्री समक्ष प्रस्तुत गरेका हुन्।

छलफलमा विशेष रूपमा ग्रामीण क्षेत्रमा किसानले भोग्दै आएको बाँदर आतंक नियन्त्रणका लागि छुट्टै विधेयक ल्याउनुपर्ने विषय उठाइएको छ। यसले कृषिमा भइरहेको क्षति नियन्त्रण गर्न नीतिगत समाधान आवश्यक रहेको दुलालले बताएका छन्।

त्यसैगरी, मेलम्ची–हेलम्बु सडक निर्माणका लागि ९२ करोड रुपैयाँको स्रोत सुनिश्चित गरी पुनः ठेक्का प्रक्रिया अघि बढाउनुपर्ने विषयलाई प्राथमिकतामा राखिएको छ। यो सडक निर्माणले क्षेत्रको कनेक्टिभिटी र आर्थिक गतिविधिमा ठुलो परिवर्तन ल्याउने अपेक्षा गरिएको छ।

मेलम्ची र इन्द्रावती नदी किनारका बाढीको उच्च जोखिमयुक्त बस्तीहरूको संरक्षण, मेलम्ची खानेपानी आयोजना प्रभावित क्षेत्रका लागि सामाजिक उत्थान कार्यक्रम कार्यान्वयन, तथा ठेकेदार पीडित स्थानीय सप्लायर्सहरूको भुक्तानी तत्काल उपलब्ध गराउनुपर्ने माग पनि बैठकमा राखिएको छ।

यस्तै, मध्य पहाडी लोकमार्ग अन्तर्गत बन्देउ–बाहुनेपाटी सडक खण्डको पिचिङ कार्य चालु आर्थिक वर्षभित्रै सम्पन्न गर्न तथा झ्याडी खोला पुलको ठेक्का प्रक्रिया अघि बढाउनुपर्ने आवश्यकता औंल्याइएको छ।

गुठी जग्गा पीडित किसानहरूको समस्या समाधानका लागि गुठी विधेयक ल्याउनुपर्ने र स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत सबै नागरिकले सहज रूपमा सेवा पाउने व्यवस्था सुनिश्चित गर्नुपर्ने विषय पनि छलफलमा उठाइएको थियो।

सांसद दुलालले जिल्लाको समग्र विकास र जनताको दैनिक जीवनसँग जोडिएका समस्या समाधानका लागि संघीय सरकारको ध्यानाकर्षण गराउँदै शीघ्र निर्णय लिन आग्रह गरेका छन्।

प्रतिक्रिया दिनुहोस्