२०८१ श्रावण १२
                           

माओवादीका लागि भ्रष्टाचार गर्नु सहिदकाे मासु खानु सरह हो : सरल सहयात्री

सिन्धुपाल्चोक १ ‘ख’ बाट प्रत्यक्ष निर्वाचित बागमती प्रदेश सभा सदस्य सरल सहयात्री पौडलले माओवादीका लागि भ्रष्टाचार गर्नु सहिदको मासु खानु सरह भएको बताएका छन् । बुधबार बागमती प्रदेश सभामा सम्बोधन गर्दै उनले माओवादी केन्द्रले भ्रष्टाचार गरे त्यो सहिदको मासु लुछेर खानु सरह भएको बताएका हुन् ।

उनले भने ‘माओवादी आन्दोलनमा लागेर सहिदको रगतमाथी टेकेर यो सत्तालाई परिवर्तन गर्ने सपना देखेर खडा भएका माओवादीले भ्रष्टाचार गरेका छन् भने सबैभन्दा पहिलो अपराधि करार गरेर जेलमा थुन्ने हिम्मत पार्टी नेतृत्व प्रचण्ड र नेपाल सरकारसँगै प्रदेश सरकारको मुख्य मन्त्रीले गर्नु पर्छ।’

अर्को प्रसंगमा सांसद सहयात्रीले मदन भण्डारी हत्याकाण्डको फाईल खोलेर छानविन गरी दोषीलाई कारबाही गर्नु पर्ने तर्क गरे । यसमा एमाले नेता कार्यकर्ता नै सक्रिय हुनु पर्ने उनको भनाई थियो । सहयात्रीले दरवार हत्याकाण्डको फाइल खोलेर छानविन गर्न समेत चुनौति दिए ।

सांसद पौडेलले सिन्धुपाल्चोकमा बर्षेनि आइपर्ने विपद्लाई चासो लिएर पूर्व तयारीका लागि पहलकदमी गरीदिएकोमा मुख्यमन्त्री, आन्तरीक मामीला मन्त्रीलगायतलाई धन्यवाद दिए । बिचौलीयाहरुबाट विक्री हुने गरेको रासायनीक मल समयमै किसानलाई उपलब्ध गराउन उनले सरकारको ध्यानाकर्षण गराएका थिए ।

माननीय सभामुख महोदय,
सिन्धुपाल्चोकको विपदका निमित्त पहल कदमि लिएर चासो व्यक्त गर्नको निमित्त यस अगाडि नै मुख्य मन्त्री, आन्तरिक मामिला मन्त्री सिन्धुपाल्चोक क्षेत्रमा पुगेर पहल लिदिनुभको र चासो व्यक्त गर्नुभएकोमा उहाँहरु प्रति धन्यवाद व्यक्त गर्दै, म प्रि-तयारीको पहल कदमी सार्थक हुनेछ भन्ने विश्वास व्यक्त गर्न चाहन्छु ।

यो मल को हाहाकार भएको बेलामा, बजारमा विचौलियाहरुले बेच्ने मलहरु पर्याप्त मात्रामा प्राप्त हुन्छ भन्ने किसानको जुन चासो छ त्यो प्रति सरकारको गम्भीर ढंगले ध्यान जाओस् भन्ने कुरा म अनुरोध गर्न चाहन्छु ।

भ्रष्टाचार देशबाट मुक्त हुँदैन भन्ने सञ्जाल बनिरहेको बेला मनोविज्ञान बनिराखेको बेला भ्रष्टाचारको ठुला माछा माथि प्रहार गर्ने प्रयत्न केन्द्र सरकारले गरेको छ, त्यसकालागि धन्यवाद दिन चाहन्छु । विभिन्न पक्ष बाट केन्द्र सरकारले गरेका पहल हरुको सन्दर्भमा यसलाई डाईभर्ट गर्नको निमित्त जे प्रयास भएको छ र यसलाई यहि बेलामा अरु विभिन्न विषय निकालेर डाईभर्ट गर्ने कोसिस भईरहेको छ यो अर्को एक प्रकारको आशय भ्रष्टाचार हो ।

यो भ्रष्टाचार विरुद्धको मनोबैज्ञानिक आक्रमण हो । यो पनि एक प्रकारको भ्रष्टाचार हो, यस्तो गर्न मिल्दैन, त्यसकारण यस्तो नगरियोस् । र विशेषगरी अहिले जे विषय उठेको छ भुटानी शरणार्थी जस्तो गम्भीर विषयको सन्दर्भमा यसलाई किनारा लगाउनको निमित्त जोड गरिओस् भन्ने कुरा म सभामुख मार्फत म केन्द्र सरकारलाई पनि धन्यवाद दिन चाहन्छु ।

र यही प्रकृतिका भ्रष्टाचार र प्रदेश स्तरमा भएका भ्रष्टाचारको सन्दर्भमा प्रदेश सरकारले पहल कदमि लियोस् भन्ने कुरा अनुरोध गर्न चाहन्छु । अरुका लागि के हो भ्रष्टाचार मलाई थाहा छैन तर माओवादी केन्द्रको लागि भ्रष्टाचार सहिद हरुको मासु लुछेर खानु जतिकै अपराध हो ।

यसकारण यदी माओवादी केन्द्र भित्रको क्यान्टोनमेन्टको बहस उठाईन्छ, क्यान्टोनमेन्ट मात्रै होईन, क्यान्टोनमेन्टको ब्रिगेड कमान्डर हुँ म, म पनि एउटा चाहिँ त्यसको चाहिँ कमान्डर हुँ म, क्यान्टोनमेन्ट मात्रै होइन, माओवादी आन्दोलन भित्र लागेर, सहिदको रगत माथि टेकेर यो सत्तालाई परिवर्तन गर्ने अभिष्ट सपना देखेर यहाँ खडा भएका हर माओवादीहरुले यदि भ्रष्टाचार गरेका छन् भने सबभन्दा पहिलो अपराध करार गरेर जेलमा थुन्ने हिम्मत कमरेड प्रचण्डले, यो सरकारले र यो प्रदेश सरकारको मुख्यमन्त्री लगायतको यो संरचनाले गर्नुपर्छ र मात्रै अरुलाई अौँला ठडाउने हिम्मत राख्छौं ।

त्यसकारण माओवादीले गलत गरेको कुरा प्रति हामी जोडदार ढंगले त्यसलाई समर्थन गर्न वा रक्षा गर्नको निमित्त यो अगाडि बढ्दैन भन्ने कुराको स्पष्टता दिन चाहन्छु । यो सँगसँगै भ्रष्टाचार धेरै ठाउँमा भएको छ फाईल खोलौँ । कमरेड मदन भण्डारी हत्याको फाईल पनि खोलौँ, खोल्नुपर्छ । यो कहाँ कहाँ के के भकोछ खोलौँ ।

नेकपा एमालेका साथीहरूले पनि जोडदार उठाउनु होला, यो पनि अगाडि बढाम् । राजदरबार हत्याकाण्ड जस्तो गम्भीर, बटङ्गटङ्गटङ्गटङ्ग गोली हानेर चाहिँ राजदरबार भित्र चाहिँ मार्न पाईन्छ मान्छे ? त्यो कसले मारेको हो जनताले गएर मारेको हो ? माओवादी छिरेर मारेको हो ? अर्को कुनै जनमुक्ति सेना छिरेर मारेको हो ? त्यो एक एक छानबिन गरेर जेल हाल्नको निमित्त राजावादीहरु पनि तयार हुनुस् र त्यसपछाडि मात्र ठिक ढंगले अगाडि बढ्छ । यो देशमा राजतन्त्र कालिन अवस्थामा भएका मुर्ति चोरी, तस्करी, भ्रष्टाचार यो विभिन्न ढंगले भएका छन् ।

गम्भीर ढंगको क्रेन लगेर मुर्ति चोर्ने काम भएको छ, यसको पनि फाईल खोलियोस् । र मान्छेलाई लगेर चाहिँ जेल हाल्ने कामको निमित्त यो प्रयास गर्नुपर्छ । यहाँबाट भ्रष्टाचारको हामीले नयाँ एउटा अभियान थालेर अगाडि जानू जरुरी छ । यो सँगै भ्रष्टाचार देशको महारोग हो । यो महारोग यतिकै पैदा भएको छैन । हाम्रो संस्कार, संस्कृति, शिक्षा र उपभोक्ता समिति ! यो उपभोक्ता समितिसम्ममा चाहिँ भ्रष्टाचार गर्न कसले सिकाउँछ । यो हामीले हाम्रो कर्मचारी प्रशासन, हाम्रो राजनीतिक मनोविज्ञान, हाम्रो भित्र भएको जुन चेतना छ, भ्रष्टाचार गर्न नजान्ने मान्छे, सेटिङ्ग गर्न नजान्ने मान्छे, तल गएर ठिक ढंगले चाहिँ आफ्ना चाहिँ इलिगल काम गर्न नजान्ने मान्छे त राजनितीमा नेतानै हुँदैन भन्या जस्तो तल सम्म मनोविज्ञान दिने को को हुन् ? यसको हामीले ठिक ढंगले खोजी गर्नुपर्छ, तलै जानुपर्छ ।

मैले भन्ने गरेको छु, बच्चा एकदम गजबको जन्मिनुपर्छ, जमिन्छ भन्नको निमित्त कालो बोको भगवान् लाई घुस दिनुपर्ने संस्कारबाट हुर्केका हरु घुसिया नभर के हुन्छ ? हामीले त्यहाँबाट जन्मिने वितिकै पुरेतलाई, लामालाई, पास्टरलाई अर्कोलाई अलि धेरै पैसा हामीले दिन सक्यौं भने यो चाहिँ गजबको चाहिँ भाग्य लेखिन्छ ।

छैठौं दिनमा गजबले लेखिन्छ भनेर भन्दिनी संस्कार के हो ? हामीले स्कुलमा चिट चोरेर पनि माला लगाउन पाउने कल्चर र एजुकेसन प्रणाली बनाईराखेका छौँ त्यसले भ्रष्टाचार नगरेर के गर्छ ? दस लाख बजेट गाउँमा गयो भने जुका जस्तो, त्यो राजनीतिक तहबाट, कर्मचारी तहबाट, र तलका कार्यकर्ता तहबाट कम्तीमा पनि दुई लाख, एक लाख त्यहाँबाट कमिशन निकाल्नुपर्छ भनेर संस्कार दिने यो संरचनाले एक अर्बको चाहिँ ठेक्का लगाउँदा खेरि दस करोड खाने हामीले यहीँ रोपेका होईनौँ ? यसको बारेमा हामी गम्भीर ढंगले यो प्रदेश सरकार, यो हाम्रो प्रदेशको चाहिँ समग्र संरचना गम्भीर ढंगले बहस गर्ने, छलफल गर्ने र यसलाई नयाँ ढंगले म भन्छु यो उपभोक्ता समितिको नियमावली खरिद ऐन यो समग्रतामा पुनरावलोकन गरेर यो उपभोक्ता समितिलाई नयाँ समाजवादी गाउँ निर्माण समिति बनाउँ ।

यसको बारेमा नयाँ ढंगले बहस गरौँ । यसका सम्झौताको बारेमा नयाँ ढंगले बहस गरौँ । तल हुने चुहावटका बारेमा बहस गरौँ । यही संस्कारले हामीलाई ठुला ठुला भ्रष्टाचार हुने वातावरण सृजना गरेको छ । यसकारण माननीय सभामुख महोदय मार्फत सम्पूर्ण यो प्रदेश सरकारलाई अनुरोध गर्न चाहन्छु ।

आज प्रदेश सरकार प्रति प्रदेश संरचना प्रति जे नेगेटिभ धारणा भएको छ यो सुशासनको कारणले, भ्रष्टाचार व्याप्त भएको कारणले, भ्रष्टाचार गर्नुभनेको एउटा सामान्य ढंगले नबोलिएको ईज्जत् जस्तो चाहिँ प्रवृत्ति तल भएको छ त्यसको विरुद्ध हामी लाग्न नसकेको कारणले बनेको छ । यसमा ध्यान जाओस् भन्नेकुरा को अनुरोध गर्दै मेरो भनाइ यहीँ अन्त गर्छु । धन्यवाद !

प्रतिक्रिया दिनुहोस्