हरेक वर्ष अक्टोबर २ तारिखलाई हामी अन्तर्राष्ट्रिय अहिंसा दिवसका रूपमा मनाउँछौँ। यो दिन महात्मा गान्धीको जन्मदिन पनि हो। सन् २००७ मा संयुक्त राष्ट्रसंघले यस दिनलाई अन्तर्राष्ट्रिय अहिंसा दिवसको रूपमा घोषणा गरेपछि, शिक्षा र जनचेतनाको माध्यमबाट शान्ति, सहिष्णुता र समझदारीको नयाँ संस्कृति निर्माण गर्ने एउटा साझा उद्देश्य तय गरिएको थियो।
अहिंसा भन्नासाथ हाम्रो मनमा सबैभन्दा पहिले महात्मा गान्धीको तस्बिर आउँछ। कुनै हतियार नलिईकन केवल सत्याग्रह र जनशक्तिको बलमा एउटा विशाल साम्राज्यलाई कसरी चुनौती दिन सकिन्छ भन्ने उदाहरण गान्धीले संसारलाई दिए। त्यसैले अहिंसा भनेको अन्याय अगाडि चुपचाप बसेर सहनु मात्र होइन। अन्यायको विरोध गर्नु त हो, तर त्यसको जवाफ अर्को हिंसाले दिनु हुँदैन।
इतिहास हेर्ने हो भने हिंसाले धेरै कुरा जित्दै आएको देखिन्छ।भूभाग जितियो, सत्ता जितियो, शासन पद्धति बदलियो। तर, हिंसाले मानिसको हृदय जित्न सकेको उदाहरण भने निकै कमै छन्। डर देखाएर मानिसलाई केही समय नियन्त्रण त गर्न सकिएला, तर कसैको मनमा सम्मान र विश्वास पैदा गर्न सकिँदैन। त्यसैले अहिंसाको शक्ति तत्काल नदेखिए पनि यो दीर्घकालीन र स्थायी हुन्छ।
आजको संसारको एउटा ठूलो विडम्बना के छ भने, हामी मुखले त शान्तिको कुरा गर्छौँ तर युद्धका लागि अत्याधुनिक हतियारहरू बनाइरहन्छौँ। एउटा देशले आफ्नो सुरक्षाका लागि हतियार बनाउँछ भने अर्को देशले त्यसलाई खतराको रूपमा हेर्छ। यसरी हतियारको दौड बढ्दै जाँदा अविश्वास झन् गहिरिँदै जान्छ र अन्त्यमा त्यसको सबैभन्दा ठूलो मूल्य सर्वसाधारण नागरिकले चुकाउनुपर्ने हुन्छ। युद्धको निर्णय केही शासकहरूले गर्छन्, तर त्यसको पीडा र विनाश भने आम मानिसले नै भोग्छन्।
अहिंसाको विषय केवल युद्धको मैदानमा मात्र सीमित छैन।यो हाम्रो घरभित्र पनि लुकेको हुन सक्छ। श्रीमान्-श्रीमतीबीचको कुटपिट, बालबालिकालाई पिटेर अनुशासनमा राख्ने प्रयास, कमजोरलाई हेप्ने व्यवहार वा परिवारभित्र कसैलाई निरन्तर डरको वातावरणमा राख्नु पनि हिंसा नै हो।
विश्व स्वास्थ्य संगठनको तथ्याङ्क हेर्ने हो भने, संसारका करिब तीनमध्ये एक महिलाले आफ्नो जीवनको कुनै न कुनै मोडमा शारीरिक वा यौन हिंसा भोग्नुपरेको छ। विडम्बना त यो छ कि यस्तो हिंसाको ठूलो हिस्सा आफ्नै नजिकका मानिस वा अन्तरंग सम्बन्धभित्रबाट हुने गर्छ।
बेलायतको अवस्था पनि खासै फरक छैन। इङ्ल्यान्ड र वेल्समा मार्च २०२५ सम्मको एक वर्षभित्र करिब ३८ लाख मानिसले घरेलु हिंसा भोगेको अनुमान छ भने १११ जनाले घरेलु हत्याका कारण ज्यान गुमाए। यी केवल संख्या मात्र होइनन्, प्रत्येक संख्याको पछाडि एउटा जिउँदो परिवार र कसैको टुटेको संसार लुकेको हुन्छ।
हिंसा सधैँ कुटपिटबाटै सुरु हुँदैन। कहिलेकाहीँ यो एउटा अपमानजनक शब्दबाट सुरु हुन्छ र विस्तारै नियन्त्रण गर्ने प्रवृत्तिमा परिणत हुन्छ। कसलाइ भेट्ने, कहाँ जाने, पैसा कसरी खर्च गर्ने वा फोन कसलाई देखाउने भन्ने कुरामा नियन्त्रण जमाउनु पनि हिंसा हो। यसबाट मानिसको शरीरमा चोट नदेखिए पनि उसको आत्मसम्मान र स्वतन्त्रता भने भित्रभित्रै समाप्त भइरहेको हुन सक्छ।
बालबालिकाको सन्दर्भमा पनि हामीले अहिंसाको अर्थ बुझ्न जरुरी छ। हामीमध्ये धेरै “पिटेर सिकाउनुपर्छ” भन्ने संस्कार बाट हुर्केका हौँ । तर डरले बच्चालाई केही समय चुप गराउन त सक्छ, तर उसलाई सही कुरा सिकाउन सक्दैन। हिंसात्मक वातावरणमा हुर्कने बच्चाले अनुशासनभन्दा पनि “शक्तिशालीले कमजोरलाई कुट्न पाउँछ” भन्ने गलत पाठ सिक्न सक्छ। त्यसैले घरमा अभिभावकको व्यवहार नै बच्चाको पहिलो पाठशाला हो।
विद्यालयमा पनि अहिंसाको ठूलो महत्त्व छ। फरक देखिने, फरक भाषा बोल्ने वा पढाइमा कमजोर भएका विद्यार्थीलाई जिस्क्याउनु कुनै सामान्य ठट्टा होइन। लगातारको अपमान र एक्लोपनले विद्यार्थीको मानसपटलमा गहिरो चोट पुर्याउँछ। त्यसैले विद्यालय केवल किताबी ज्ञान दिने ठाउँ मात्र नभएर मानिसलाई एकअर्काको सम्मान गर्न सिकाउने पाठशाला पनि हुनुपर्छ।बुलिंग संस्कृति विकसित देशहरुको पनि ठुलो समस्या हो।
आजको डिजिटल युगमा हिंसाको अर्को एउटा ठूलो क्षेत्र सामाजिक सञ्जाल बनेको छ। हामीले शारीरिक रूपमा कसैलाई नछोए पनि शब्दको माध्यमबाट हजारौँ मानिसको अगाडि कसैलाई अपमानित गर्न सक्छौँ। विचार नमिल्दा गाली गर्ने, चरित्रमाथि प्रश्न उठाउने र संजालमा नै भीड जम्मा गरेर कसैको चरित्र हत्या गर्ने प्रवृत्ति पनि सामाजिक हिंसाकै रूप हो।
राजनीतिमा पनि अहिंसाको ठूलो सान्दर्भिकता छ। लोकतन्त्रमा विचार फरक हुनु स्वाभाविक हो। सरकारको विरोध गर्ने, प्रश्न गर्ने र आन्दोलन गर्ने अधिकार सबैलाई छ। तर जब राजनीतिक असहमति व्यक्तिगत घृणामा बदलिन्छ, तब लोकतन्त्र कमजोर हुँदै जान्छ। आफूलाई मन नपर्ने विचार राख्ने मानिसलाई नै शत्रु ठान्न थाल्यौँ भने समाजमा संवादको ढोका सधैँका लागि बन्द हुन सक्छ।
त्यस्तै, धर्म र जातका नाममा हुने विभेद पनि अहिंसाको ठूलो चुनौती हो। धेरै मानिसले आफ्नो पहिचानका कारण अपमान र बहिष्कार भोग्नुपरेको छ। आफ्नो संस्कृति वा धर्ममा गर्व गर्नु राम्रो कुरा हो, तर त्यही गर्वलाई अरूलाई सानो देखाउने हतियार बनाउनु भनेको हिंसा हो।
अहिंसा भनेको सबै कुरामा अरूसँग सहमत हुनु पनि होइन। हामी असहमत हुन सक्छौँ, कडा प्रश्न गर्न सक्छौँ र गलत कुराको सशक्त विरोध पनि गर्न सक्छौँ। तर त्यो विरोध गर्दा मानिसको मर्यादा र सम्मानलाई सधैँ ध्यानमा राख्नुपर्छ। हाम्रो प्रहार विचारमाथि हुनुपर्छ, व्यक्तिको मानवीय अस्तित्वमाथि होइन।
यही मोडमा गान्धीको दर्शन झन् प्रस्ट हुन्छ। उनका लागि अहिंसा भनेको केवल युद्ध नगर्नु मात्र थिएन, बरु सत्यको पक्षमा उभिएर विरोधीलाई पनि मानिसकै रूपमा हेर्ने क्षमता थियो। यो सजिलो काम होइन। आफूलाई चोट दिने मानिसप्रति पनि आफ्नो व्यवहारको मर्यादा कायम राख्नु ठूलो आत्मअनुशासन हो।
अहिंसा कमजोरीको प्रतीक होइन। कहिलेकाहीँ सबैभन्दा ठूलो शक्ति भनेको आफ्नो रिसलाई नियन्त्रण गर्न सक्नुमा हुन्छ। हात उठाउन सक्ने क्षमता भएर पनि नउठाउनु र बदला लिन सक्ने भएर पनि कसैलाई दुख नदिनु नै वास्तविक सभ्यता हो। आफ्नो शक्ति अरूलाई दबाउन होइन, समस्या समाधान गर्न प्रयोग गर्नु नै महानता हो।
आजको प्रविधिप्रधान संसारमा एउटा गलत सूचना वा घृणास्पद टिप्पणीले केही मिनेटमै ठूलो हलचल मच्चाउन सक्छ। त्यसैले डिजिटल संसारमा अहिंसाको आवश्यकता पहिलेभन्दा कैयौँ गुणा बढी छ। केही विषय पोस्ट गर्नुअघि हामीले आफैँलाई एउटा सानो प्रश्न सोध्नुपर्छ, “के मैले लेखेको कुरा सत्य हो? र के यसले कसैलाई अनावश्यक पीडा त दिँदैन?”?
अहिंसा भनेको कुनै एक दिन मात्र मनाइने उत्सव होइन। अक्टोबर २ मा गान्धीजीलाई सम्झिएर मात्र यसको वास्तविक मर्म बुझिँदैन। अहिंसा त दैनिक रुपमा हाम्रो घर, विद्यालय, कार्यस्थल, राजनीति, सडक र तिनै सामाजिक सञ्जालसम्म पनि पुग्नुपर्छ।
संसार बदल्ने कुरा सुन्दा निकै ठूलो लाग्न सक्छ, तर परिवर्तनको सुरुवात सानो कुराबाटै हुन्छ। रिस उठ्दा केही क्षणका लागि चुप बस्नु, अरूको फरक विचारलाई सुन्नु, बच्चालाई कुटपिट गर्नुको सट्टा मायाले सम्झाउनु, घरमा कमजोर मानिसलाई डर नदेखाउनु र सामाजिक सञ्जालमा अभद्र शब्द प्रयोग नगर्नु नै अहिंसाका साना पाइला हुन्। कसैलाई पनि जात, धर्म वा पहिचानका आधारमा होच्याउनु हुँदैन।हामी सबै संसारमा शान्ति र युद्धविहीन समाज चाहन्छौँ। हिंसाको अन्त्य होस् भन्ने हाम्रो चाहना छ। तर, यो चाहना तब मात्र सार्थक हुन्छ जब हामी आफैँबाट यसको सुरुवात गर्छौँ।
वास्तवमा, अहिंसा भनेको हातमा हतियार नबोक्नु मात्र होइन। यो त मनमा घृणा नपाल्नु पनि हो। कसैलाई तिरस्कार नगर्नु, शक्ति पाउँदा कमजोरलाई दबाब नदिनु र असहमति हुँदा पनि अर्को व्यक्तिको मानवीय मर्यादाको सम्मान गर्नु नै साँचो अहिंसा हो।
यस वर्षको अक्टोबर २ ले हामी सबैलाई एउटा सरल तर गहिरो प्रश्न सोध्न सकियोस , संसारमा शान्ति त चाहन्छौँ, तर के हाम्रो आफ्नै घर, बोली, व्यवहार र मनमा शान्ति छ?
प्रतिक्रिया दिनुहोस्