चौतारा/ चौतारा साँगाचोकगढी नगरपालिका भित्रका विद्यालयहरूको कक्षा ८ को नतिजाले समग्र शैक्षिक अवस्था चिन्ताजनक देखाएको छ। सार्वजनिक विवरणअनुसार कुल ५४० विद्यार्थीमध्ये २३० जना मात्र उत्तीर्ण भएका छन् भने ३१० जना अनुत्तीर्ण भएका छन्। यसअनुसार समग्र उत्तीर्ण प्रतिशत ४२.५९ रहेको छ।
विद्यालयगत रूपमा हेर्दा नतिजामा ठूलो असमानता देखिएको छ। केही विद्यालयले उत्कृष्ट प्रदर्शन गरेका छन् भने कतिपय विद्यालयको अवस्था अत्यन्त कमजोर देखिएको छ। सिद्धि कमला माध्यमिक विद्यालयले १०० प्रतिशत नतिजा ल्याउँदै उत्कृष्टता कायम गरेको छ भने कुन्दलादेवी मावि (७३.६८%), जुगल बोर्डिङ स्कुल (७२.२२%) र कालिकादेवी मावि–४ (७१.४३%) ले पनि राम्रो प्रदर्शन गरेका छन्।
तर अर्कोतर्फ डदुवा भवानी शंकर मावि र रमेश्वरी आधारभुत विद्यालयमा एक जना पनि विद्यार्थी उत्तीर्ण हुन सकेका छैनन्। त्यस्तै जनविकास मावि (१०.७१%) र समाज विकास माध्यमिक विद्यालय (११.११%) को नतिजा पनि अत्यन्त कमजोर रहेको छ।
ठूला विद्यार्थी संख्या भएका विद्यालयहरूमा समेत अपेक्षित नतिजा आउन सकेको छैन। उदाहरणका लागि कृष्ण रत्न गंगा माध्यमिक विद्यालयमा ७२ विद्यार्थीमध्ये ३८ जना मात्र उत्तीर्ण भएका छन्, जसको उत्तीर्ण प्रतिशत ५२.७८ रहेको छ।
शिक्षा क्षेत्रका सरोकारवालाहरूका अनुसार यस्तो नतिजाले शिक्षण विधि, शिक्षकको जिम्मेवारी, विद्यालय व्यवस्थापन तथा अनुगमन प्रणालीमा कमजोरी रहेको संकेत गर्दछ। विशेषगरी कमजोर नतिजा भएका विद्यालयहरूमा तत्काल सुधारात्मक कदम आवश्यक रहेको उनीहरूको भनाइ छ।
स्थानीय तहले अब विद्यालयहरूको वर्गीकरण गरी कमजोर विद्यालयहरूमा विशेष ध्यान दिनुपर्ने, शिक्षकहरूको क्षमता विकास र नियमित अनुगमन प्रणालीलाई सुदृढ बनाउनु पर्ने आवश्यकता देखिएको छ। साथै विद्यालय तहमा अतिरिक्त कक्षा सञ्चालन, कमजोर विद्यार्थीहरूलाई लक्षित सहयोग तथा अभिभावकको सक्रिय सहभागिता बढाउनुपर्नेमा जोड दिइएको छ।
समग्रमा, एउटै नगरपालिकाभित्र यति ठूलो नतिजा अन्तर देखिनु शिक्षा प्रणालीमै गम्भीर प्रश्न उठाउने विषय बनेको छ। अब सुधारका लागि ठोस योजना र प्रभावकारी कार्यान्वयन अपरिहार्य देखिएको छ।
प्रतिक्रिया दिनुहोस्