२०८२ चैत्र ३०

मानुषी लघुवित्तद्वारा महिला उद्यमशीलता प्रवर्द्धनमा जोड

मानुषी लघुवित्त वित्तीय संस्था

मेलम्ची/ मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडको शाखा कार्यालय मेलम्चीले महिला उद्यमशीलता विकासलाई केन्द्रमा राख्दै एकदिने तालिम तथा गोष्ठी कार्यक्रम सम्पन्न गरेको छ।

कार्यक्रममा सहभागी महिलाहरूलाई उद्यम सञ्चालन, आयआर्जनका अवसर, सीप विकास तथा व्यवसाय विस्तारका विभिन्न पक्षबारे व्यावहारिक प्रशिक्षण दिइएको थियो। संस्थाले महिलालाई आत्मनिर्भर र आर्थिक रूपमा सक्षम बनाउने उद्देश्यले यस्ता कार्यक्रमलाई प्राथमिकतामा राख्दै आएको जनाएको छ।

मेलम्ची क्षेत्रका ३२ जना महिलाको सहभागिता रहेको उक्त कार्यक्रममा उनीहरूको योजना, आकाङ्क्षा, सम्भावना र चुनौतीहरूबारे खुला छलफल गरिएको थियो। कार्यक्रममा बोल्दै प्रदेश म्यानेजर विद्या बज्राचार्यले ग्रामीण महिलाहरूको सशक्तीकरणमा संस्थाको निरन्तर भूमिका रहेको उल्लेख गर्दै महिलाहरूले बदलिँदो समयअनुसार आफ्नो ज्ञान, सीप र क्षमतामा अभिवृद्धि गर्नुपर्ने धारणा राखिन्।

संस्थाले विगतदेखि नै महिलालाई लक्षित गरी विना धितो कर्जा प्रवाह गर्दै आएको छ भने ग्रामीण भेगसम्म पुगेर घरदैलोमार्फत बचत तथा लगानीका कार्यक्रम सञ्चालन गर्दै आएको छ।

कार्यक्रममा कर्जा लिएर सफल व्यवसाय सञ्चालन गरिरहेका महिला उद्यमीहरूले आफ्ना अनुभव र संघर्षका कथा प्रस्तुत गरेका थिए। उनीहरूले यस्ता कार्यक्रमले आत्मविश्वास बढाउन र व्यवसाय विस्तारमा सहयोग पुगेको बताएका थिए।

त्यस्तै, कार्यक्रममा उमा प्रधान ले महिलाहरूबाट आएका माग र सुझावलाई आगामी नगरपालिकाका योजनामा समेट्ने प्रतिबद्धता व्यक्त गरिन्। उनले स्थानीय तह, वित्तीय संस्था र समुदायबीच सहकार्य गरेर महिलाहरूलाई आत्मनिर्भर बनाउने दिशामा अघि बढ्नुपर्नेमा जोड दिइन्।

कार्यक्रमले महिलाहरूमा उद्यमशील सोच विकास गर्न र आर्थिक सशक्तीकरणतर्फ प्रेरित गर्न महत्त्वपूर्ण भूमिका खेलेको सहभागीहरूको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्