२०८१ श्रावण १२
                           

जेष्ठ नागरिकलाई ससम्मान परिवारमा नै रहने वातावरण सिर्जना गरिनु पर्छ – सांसद सापकोटा

जेष्ठ नागरिकलाई ससम्मान परिवारमा नै रहने वातावरण सिर्जना गरिनु पर्छ – सांसद सापकोटा

चौतारा । सिन्धुपाल्चोक क्षेत्र न १ का प्रतिनिधिसभा सदस्य माधव सापकोटा सुवोधले जेष्ठ नागरिकहरुलाई बृद्धाश्रममा लगेर राख्नु जेष्ठ नागरिकहरुप्रतिको सम्मान नभएको बताएका छन् । वृद्धाश्रम सेवा समिति चौताराद्वारा आयोजित जेष्ठ नागरिक सम्मान कार्यक्रममा सांसद सापकोटाले वृद्धावृद्धाहरुलाई ससम्मान परिवारमा नै रहने वातावरण सिर्जना गर्नुपर्ने बताएका हुन् । चौतारा साँगाचोकगढी नगरपालिकाकी १०४ वर्षिय जेष्ठ नागरिक दोसल्ला ओढाई सम्मान गर्दै सांसद सापकोटाले फेरि पनि परिवारविहीन जेष्ठ नागरिकहरुका लागि वृद्धाश्रमको विकल्प नभएको बताए । उनले वृद्धाश्रमको भौतिक विकासका लागि पनि पहलकदमी लिने प्रतिवद्धता जाहेर गरे ।

३३ औं जेष्ठ नागरिक दिवसको अवसरमा आयोजित जेष्ठ नागरिक सम्मान कार्यक्रमलाई सम्वोधन गर्दै जिल्ला समन्वय समितिका प्रमुख बालकृष्ण श्रेष्ठले जेष्ठ नागरिकको मन र मुटुमा खुशी भर्न सके धर्म कमाउन कुनै मन्दिर धाउनु नपर्ने धारणा राखे । प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले सामाजिक समस्या विकराल बन्दै गएका कारण जेष्ठ नागरिकहरु परिवारबाट एक्लिने र अपहेलित हुने समस्या पनि बढ्दै गएको बताए ।

कार्यक्रममा पूर्व सांसद कृष्णराज श्रेष्ठ, चौतारा साँगाचोकगढी नगरपालिका ५ नम्बर वडा अध्यक्ष शिव श्रेष्ठ लगायतका वक्ताहरु शुभकामना मन्तव्य राखे । समितिकी अध्यक्ष माया निराशीको सभाध्यक्षमा भएको कार्यक्रममा कोषाध्यक्ष रीना श्रेष्ठले स्वागत मन्तव्यसहित समितिको प्रगति विवरण प्रस्तुत गरिन ।

सचिव होमकुमारी श्रेष्ठले सञ्चालन गरेको कार्यक्रममा प्रमुख अतिथि एवम् सांसद सापकोटाले आजिवन सदस्यहरुलाई धन्यवाद पत्र पनि प्रदान गरे ।

प्रतिक्रिया दिनुहोस्