२०८१ मंसिर २३
                           

विद्यार्थी विहीन बन्दै विद्यालय !

सिन्धुपाल्चोक । रिसोर्ट जस्ता चिटिक्क र आकर्षक छन् विद्यालय भवनहरु । शिक्षकको अभाव पनि देखिँदैनन् । फेरि विद्यार्थीको संख्या गणना गर्ने हो भने सिन्धुपाल्चोक सुनकोसी गाउँपालिकाका अधिकाँश विद्यालयमा विद्यार्थीका संख्या अत्यन्तै न्यून देखिन्छ । कतै एकजना विद्यार्थीलाई चारजना शिक्षकले खटेका देखिन्छन् भने कतै अन्तिम परीक्षामा १५ जना मात्र सहभागी भएको पाइन्छ ।सुनकोशी गाउँपालिका–७ स्थित कालिकादेवी आधारभूत विद्यालयले सञ्चालन गरेको वार्षिक परीक्षामा जम्मा सहभागी विद्यार्थी १५ जना थिए । अझ उदेक लाग्दो कुरो त कक्षा ३ सम्म सञ्चालन भएको सो विद्यालयमा कक्षा १ मा भने एक जना पनि विद्यार्थी छैनन् ।

बाल विकास ९इसीडी० मा ७ कक्षा २ मा ५ र तीन मा ३ जना मात्रै विद्यार्थी छन् । १५ जना विद्यार्थी पढाउनका लागि बाल विकास र विद्यालय सहयोगी सहित ४ जना शिक्षक छन् ।सोही वडाको कापिङ आधारभूत विद्यालय कक्षा–५ सम्म सञ्चालनमा रहेको छ । विद्यार्थी संख्या–९ रहेको छ । कक्षा ५ सम्म सञ्चालन भएपनि कक्षा–४ मा एक जना पनि विद्यार्थी छैनन् ।

अन्तिम परीक्षामा कक्षा–४ बाट विद्यार्थी सहभागी नभएपछि यो वर्ष कक्षा–५ सञ्चालन नै नहुने भएको छ ।सुनकोशी–३ कै भुमेश्वरी आधारभूत विद्यालयमा जम्मा विद्यार्थी संख्या–७ रहेको छ । बाल विकासमा ४ र कक्ष १ देखि ३ सम्म एक÷एक जना मात्रै विद्यार्थी रहेका छन् ।

आधारभूत विद्यालयमा मात्रै होइन माविसम्म सञ्चालन भएका विद्यालयहरूको अवस्था पनि उस्तै छ । भवन छ, शिक्षक छन् तर विद्यार्थी भने छैनन् । सुनकोशी–७ मा जाल्पा मावि कोठे १२ कक्षा सम्म सञ्चालनमा रहेको छ ।वाल विकासमा ३, कक्षा १ मा ३, २ मा १, ३ मा ३ र ५ मा पनि ३ जना नै विद्यार्थीहरू छन् । कक्षा –१२ मा त जम्मा एक जना मात्रै विद्यार्थी रहेका छन् । एक जना विद्यार्थीलाई पढाउन पनि शिक्षकहरू भने विषय अनुसार कै खटिनु पर्ने बाध्यता विद्यालयहरूलाई रहेको छ ।

सुनकोशी गाउँपालिकामा आधारभूत र माध्यमिक तह समेत गरेर विद्यालय संख्या ३३ रहेको छ । केही विद्यालय बाहेक प्रायः सबै विद्यालयहरूमा विद्यार्थी संख्या असाध्यै न्यून रहेको छ ।
भूकम्पपछि अधिकांश विद्यालयका भवन भव्य बनेका छन् । ठूला कक्षा कोठा, पर्याप्त शिक्षक तर कुनै कक्षा कोठामा एक जना विद्यार्थीलाई एकै जना शिक्षकले पढाइरहेका छन् भने कतै विद्यार्थी नभएपछि कक्षा नै बन्द गर्नुपर्ने अवस्था विद्यालयहरूमा रहेको छ ।

विद्यार्थी संख्या न्यून भएपछि सुनकोशी गाउँपालिकाको शिक्षा समितिले सामाजिक विकास शाखाका संयोजक एवम २ नम्बर वडाका अध्यक्ष पूर्णबहादुर महतको संयोजकत्वमा सबै विद्यालयहरूमा पुगेर स्थलगत अनुगमन गरेर शिक्षक र विद्यार्थीको संख्या यकिन गरेर ल्याएको गाउँपालिका अध्यक्ष टपिन्द्रप्रसाद तिमिल्सिनाले जानकारी दिए ।

विद्यार्थी संख्या न्यून भएपनि दिवा खाजाको रकम माग गर्दा भने विद्यार्थी संख्या बढाउने गरेको र वास्तविकता पत्ता लगाउन अन्तिम परीक्षा सञ्चालन भइरहेको बेला शिक्षा समितिका पदाधिकारीहरूलाई विद्यालयमा पठाइएको अध्यक्ष तिमिल्सिनाले जानकारी दिए ।विद्यार्थी संख्या न्यून भएपछि यो शैक्षिक सत्रदेखि भने १० जना भन्दा कम विद्यार्थी रहेका विद्यालयहरूले नजिकको विद्यालयमा भर्ना गराउनु पर्ने व्यवस्था गरेको छ । विद्यालय मर्ज नगर्ने तर १० भन्दा कम विद्यार्थी भएको विद्यालयलाई भने नजिककै विद्यालयमा लैजाने निर्णय गरेका छौ गाउँपालिका अध्यक्ष टपिन्द्रप्रसाद तिमिल्सिनाले भने ।

अर्को वर्ष विद्यार्थी संख्या थप भएमा पुन त्यही विद्यालयमा नै विद्यार्थीहरूलाई भर्ना गरेर विद्यालय सञ्चालन गरिने प्रमुख प्रशासकीय अधिकृत पूर्णप्रसाद दुलालले जानकारी दिए ।बाल विकास सञ्चालन भएका विद्यालयहरूमा भने वालविकास कक्षा लाई भने कायम नै गर्ने अधिकृत दुलालले जानकारी दिए ।

विद्यार्थी मात्रै होइन ,शिक्षकहरू पनि नजिकैको विद्यालयमा नै गएर अध्यापन गर्नुपर्ने गाउँ शिक्षा समिति र कार्यपालिकाको बैठकले निर्णय गरेको दुलालले जानकारी दिए ।कार्यपालिकाले गरेको निर्णय कार्यान्वयनका लागि सबै विद्यालयहरुमा पत्र पठाएको र कार्यन्वयन गर्नलाई आग्रह गरिएको गाउँपालिकाका शिक्षा अधिकृत निमराज बुढाथोकीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्