सिन्धुपाल्चोक — ब्लड डोनर्स एसोसिएसन नेपाल (ब्लोदान) सिन्धुपाल्चोकको आयोजना तथा एकता निस्सी ए.जी. चर्चको सहकार्यमा चौतारा गैरीगाउँमा आयोजित रक्तदान कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ । कार्यक्रममा १४ जना स्वयंसेवी रक्तदाताहरूले रक्तदान गरेका छन् ।
मानव जीवन बचाउने पवित्र उद्देश्यसहित सञ्चालन गरिएको कार्यक्रममा स्थानीय युवा, समाजसेवी तथा विभिन्न क्षेत्रका व्यक्तिहरूको सक्रिय सहभागिता देखिएको थियो । संकलित रगतले जिल्लाका बिरामीहरूको उपचारमा महत्वपूर्ण सहयोग पुग्ने विश्वास गरिएको छ ।
ब्लोदान सिन्धुपाल्चोकका अध्यक्ष सुरेश कसजूले रक्तदान जस्तो मानवीय कार्यमा सहभागी हुने सम्पूर्ण दाताहरूप्रति धन्यवाद व्यक्त गर्दै यस्तो अभियानले समाजमा सकारात्मक सन्देश फैलाउने बताए । उनले आगामी दिनमा पनि जिल्लाभर रक्तदान कार्यक्रमलाई निरन्तरता दिइने जानकारी दिए ।
कार्यक्रम सम्पन्न भएसँगै आयोजक संस्था ब्लोदान सिन्धुपाल्चोकले सहभागी स्वयंसेवी रक्तदाताहरू, सह–आयोजक संस्थाहरू एकता निस्सी ए.जी. चर्च, चौतारा अस्पताल तथा जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकप्रति आभार व्यक्त गरेको छ ।

प्रतिक्रिया दिनुहोस्