२०८२ चैत्र ३०

राम्रोसित गर्नु है ‘बा’ को हेरचाह !

प्रिय बालेन्द्र शाह

सिंहदरबार, काठमाण्डू ।

केही तातो, केही चिसो सास समायोजन गर्दै यो पत्र लेखिरहेको छु। थाहा छैन तिमीसम्म पुग्छ या पुग्दैन? पुगे पनि पढ्ने फुर्सद हुन्छ या हुँदैन? फेरि पनि यो दुःखी आत्मा–याचनाका यामहरूलाई साक्षी राखेर यो पत्र लेख्न अभिशप्त छु।

प्रिय बालेन,

समय, काल, परिस्थिति परिवर्तन भएको छ। त्यही परिवर्तित समयको प्राङ्गणमा उभिएर यतिखेर तिमी जीवनको सबैभन्दा उच्चतम् विन्दुमा उभिएर चुनौतीका च्यादरहरू च्यात्दै अगाडि बढिरहेका छौ। पक्कै तिमीभित्र पनि तिक्तताहरू होलान्। बैमनस्यताका विरूप बीजहरू अंकुरित बन्दै होलान्, बदला र विकासलाई सँगसँगै डोर्याउने मनोवृत्ति पनि होला। त्यसैले त तिमीले जुन सफलताका सासहरू फेरिरहेका छौ, त्यो सास कतै अहंमताको अमिलो दुर्गन्ध भएर नफैलियोस्—मेरो चाहना यत्ति हो।

हो, यतिखेर परिवर्तनका अनेक मोडहरू पार गर्दै मुलुक केही सुरक्षित स्थानमा अवतरण भएको हो कि भन्ने आम आभास भएको छ। सपथको प्रारम्भबाटै पक्राउको सिप्किनो वर्षाउँदै गर्दा कतै करुणा र मानवताको मर्म विचलित भयो भने, त्यसले तिम्रो क्रूरता र वीभत्सताको इतिहास बाहेक अरू केही कोर्ने छैन। त्यसैले पनि यतिखेर तिम्रो हिरासतमा, तिम्रो कठघरामा बयोवृद्ध नेता एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली उभिन आइपुगेका छन्।

पूर्व प्रधानमन्त्रीमाथि जुन आरोपको आधारमा तिमीले गिरफ्तारीका र्याप हान्यौ—थाहा छैन, त्यो सही हो या गलत? त्यो विधिसम्मत हो या विधि–विपरीत हो? सायद समयको कठोर एवम् निष्पक्ष निर्णयले अवश्य प्रमाणित गर्नेछ। तर समयले जस्तोसुकै फैसला सुनाओस्, वर्तमानमा हाम्रो कर्तव्य भनेको मानवीयता, सहानुभूति र सभ्य व्यवहारको उच्चतम् उदाहरण प्रस्तुत गर्नु पनि हो।

हो, कुनैबेला पूर्वप्रधानमन्त्री ओली आफू राज्यको सिंह बनिरहँदा सिंहले झैं हिंस्रक व्यवहार गरेकै हो। निर्दयीता र अमानवीयताको आग्लोले झटारो हानेकै हो। त्यो निर्दयीताको पराकाष्ठबाट नै त तिमीहरूको उदय भएको घाम जत्तिकै छर्लङ्ग पनि छ नि, होइन र? फेरि निर्दयीताको बदला पाशविकता हो भन्ने तिमीलाई लाग्छ भने मेरो भन्न केही छैन।

तर केपी शर्मा ओली एक राजनीतिक पात्र मात्र पनि होइनन्। उनी यतिखेर आफ्नो जीवनको उत्तराद्र्धमा छन्। यसको अर्थ, उनी जेष्ठ नागरिक पनि हुन् अनुभव, उमेर, संघर्ष र परिपक्वता हरेक हिसाबले। हाम्रो संस्कार, हाम्रो समाजले जेष्ठ नागरिकप्रति मान, सम्मान, माया र सद्भाव गर्न सिकाउँछ। त्यो मूल्य र मान्यता जुन हाम्रो समाजमा आदर्श बनेर बसेको छ—त्यसलाई उल्टाएर ‘बाउ फाल्ने डोको’ कथामा अनुदित गर्नु पक्कै पनि बुद्धिमत्ता हुनेछैन।

भलै शासनको बागडोर आफ्नो हातमा हुँदा उनले गर्न नहुने हर्कतहरू गरे होलान्, चित्त दुखाउने अनेक दर्दका लामै किस्सा–कहानी लेखे होलान्, तर प्रजातन्त्रको पुनरुत्थानपूर्वसम्म त उनको जीवन पनि हाम्रै लागि समर्पित थियो। नेपाली जनताको मुक्ति र व्यवस्थाविरुद्धका उनका संघर्षका कथाहरू तिमीहरूका लागि एकादेशको कथा बन्न सक्छन्, तर इतिहासमा सधैं जीवन्त भएर रहनेछन्।

ठीकै छ, ती संघर्षका कथाहरू बिर्सन चाहन्छौ भने पनि बिर्सन सक्छौ, तर जेष्ठ नागरिकप्रतिको राज्यको व्यवहारलाई बुलिङको बुर्को ओढाउन खोज्नु आम जेष्ठ नागरिकहरूप्रतिको परोक्ष अपमान ठहरिनेछ, र बालेनको यो विद्रूप व्यवहार इतिहासका पानामा विरूप अक्षरले लेखिनेछ।

यसको मतलब यो होइन कि पूर्वप्रधानमन्त्री निर्दोष छन्। उनले आफ्नो शासनकालमा जे–जस्ता हर्कत गरे, ती क्षमायोग्य छन् र उनलाई गिरफ्तार गर्नु गलत हो—होइन। जस्तो करणी, उस्तै भरणी हुनैपर्छ। तर जीवनको अन्तिम डाँडोमा बसेर डुब्न लागेको घामको प्रतीक्षामा रहेको उनको थिलथिलो मन र तनलाई तनावको तातो तावाले डाम्नु पक्कै पनि मानवीय धर्म र कर्मभित्र पर्दैन होला।

मेरो यति आग्रह छ—हिरासतका हिमप्रदेशभित्र उनको थिलथिलो शरीरले कुनै चिसोपनको आभास नपाओस्। ‘जस्तालाई तस्तै’ भन्दै बदलाको गाडीमा कोचेर रातविरात जेलका जमिनहरू फेरबदल नहोस्। लक्जरी सुविधा दिएर होइन, भएका स्रोत र सुविधालाई चुस्तदुरुस्त बनाउँदै जेलभित्रको जीवनलाई सहज र सरल बनाइदिए पनि उनीमाथि न्याय नै ठहरिनेछ।

त्यसैले आवेग र रिसको रिङरोडमा रूपफटप गाडी हुँकाउँदै हात हल्लाएर जेष्ठ नागरिकप्रतिको मूल्य र मान्यतालाई कुनै पनि राजनीतिक परिस्थितिमा ओझेलमा पार्ने कोसिस नगर्नु—मेरो यति नै याचना।

अझ पूर्वप्रधानमन्त्रीको स्वास्थ्य अवस्था झन् गम्भीर रहेको हामी सबैलाई थाहा नै छ। मृगौला जस्तो गम्भीर रोगसँग उनको संघर्ष विगत लामो समयदेखि चल्दै आएको छ। आफैँ, आफ्नै शरीरसँग पलपल युद्ध छेडिरहेका यी वृद्ध नेतालाई जेलभित्र परोक्ष तनावका नेलकडी लगाइरहँदा जेलको चारपर्खालभित्र नै उनले आफ्नो तातो शरीरलाई चिसो च्यादरभित्र लुकाउनुपर्ने अवस्था नआओस्।

त्यसो नहोस्—त्यो हाम्रो कामना हुँदै होइन। तर यदि भइहाल्यो भने त्यसको जिम्मेवार तिमी हुनेछौ। आफ्नो सपथलाई धार्मिक अनुष्ठानको आयाममा बदल्न सक्षम तिमीलाई साँच्चिकै पाप लाग्नेछ। अनि तिम्रा धर्मका धमनीहरूमा फगत पापको पानी मात्र बग्नेछ।

हुन त यतिखेर मानवता र संवेदनाको हत्या गर्दै केही झुण्डहरू पूर्वप्रधानमन्त्रीको बैकुण्ठ यात्राको कामना गरिरहेका छन्। उनीहरू कहिले कतिखेर पूर्वप्रधानमन्त्री ओलीको जीवनघाम डुब्छ र ‘च्क्ष्ए’ लेखौं भनेर र्याल चुहाउँदै सामाजिक सञ्जालको ऐनामा आफ्नो अनुहार घोत्लिरहेका छन्।

उफ१ कुनै व्यक्ति दुर्घटनामा परेर रक्तपुछेल घाइते भएर छटपटाइरहँदा उसलाई अस्पताल पु¥याउनु वा एम्बुलेन्स बोलाउनुको सट्टा सेल्फी खिचेर सामाजिक सञ्जालमा भाइरल बन्न खोज्ने संवेदनहीन समाजमा पूर्वप्रधानमन्त्रीलाई डोरीमा लट्काइदिए पनि तिमीले वाहवाही पाउने नै छ।

किनकि यो समय बालेनको समय हो। किनकि यो समय मानवता र संवेदनाले आत्मदाह गरेको समय पनि हो। यही विदीर्ण समयको विरासतलाई सम्हाल्दै तिम्रो यात्रा अगाडि बढ्छ भने मेरो भन्नु फेरि पनि केही छैन।

यदि जेलमा कोच्नु नै तिम्रो इरादा हो भने पनि कम्तिमा जेललाई पारिवारिक वातावरणमैत्री बनाइदिनु। सकिन्छ चिकित्सक, नसकिने भए कम्तिमा एउटी नर्सको व्यवस्था गरिदिनु। अझ सकिन्छ भने घरमै नजरबन्दमा राखिदिनु। बाहिर बसेरै मुद्दा लड्ने वातावरण सिर्जना गरिदिनु। यसो गर्दा तिमी सानो हुँदैनौ—तिम्रो छाती अझ चौडा भएको आम आभास हुनेछ। बदला होइन, बदल्न चाहने एउटा राजनेताको रूपमा दुनियाँले स्वीकार गर्नेछ।

प्रिय बालेन,

इतिहास केवल निर्णयहरूले मात्र होइन, ती निर्णयहरू कार्यान्वयन गर्दा देखाइएको मानवीयताको मापनले पनि लेखिन्छ। आज तिम्रो नेतृत्वमा लिइने सानो सहानुभूतिपूर्ण कदमले भोलिको इतिहासमा ठूलो स्थान लिन सक्छ।

त्यसैले यो याचना छ—बदलाको भावनाभन्दा माथि उठेर मानवीयता र परिपक्वताको उदाहरण प्रस्तुत गर्नु। पूर्वप्रधानमन्त्रीप्रति नरम, सम्मानजनक र स्वास्थ्यअनुकूल व्यवहार गर्नु। यो कदमले केवल एक व्यक्तिलाई होइन, सम्पूर्ण राष्ट्रलाई सन्देश दिनेछ—कि हामी न्यायप्रेमी मात्र होइनौं, हामी मानवताप्रेमी पनि हौं।

निर्णय फेरि पनि तिम्रै हातमा छ—कि केपी बालाई राम्रोसँग पाल्ने वा डोकामा राखेर फाल्ने। जनताको प्यारो बालेन साह हुने कि प्रजाको श्री ५ बालेन्द्र शाह बन्ने।

उही

तिम्रो राज्यको एक भूइँमान्छे
जीवन श्रेष्ठ ।

 

जनआस्थाबाट

प्रतिक्रिया दिनुहोस्