भाैगाेलिक विकटता, बाढीपहिरो, प्राकृतिक विपत्ति र जीर्ण सडकसँग जुधेर चिनियाँले नेपालकाे सीमामा रहेका दुई विद्यालयकाे पुनर्निर्माण सम्पन्न गरेकाे छ । भाेटेकाेशी गाउँपालिका– १, लिस्तीमा अवस्थित उग्रचण्डी माध्यमिक विद्यालय र बाह्रबिसे नगरपालिका– २, बुदेपामा रहेकाे सुनकाेशी माध्यमिक विद्यालय भवन पुनर्निर्माण सम्पन्न गरिएको हाे । ०७२ वैशाख १२ र २९ गतेकाे विनाशकारी भूकम्पले दुवै विद्यालयका भवन ध्वस्त भएका थिए ।
चीनको एजेन्सी फर इन्टरनेसनल इकाेनाेमिक काेअपरेसन अफ द मिनिस्ट्री अफ कमर्सले उक्त विद्यालय भवन बनाउन ६.९५ मिलियन अमेरिकी डलर अर्थात् नेपाली एक अर्ब रुपैयाँ लगानी गरेकाे छ । चाइना रेलवे फर्स्ट ग्रुप कम्पनी लिमिटेडले निर्माण सम्पन्न गरेकाे साे विद्यालय भवनहरू सन् २०२२ काे डिसेम्बर ८ बाट सुरु गरिएको थियाे । भाैगाेलिक र विभिन्न प्राकृतिक विपत्तिसँग जुधेर तीन वर्षकाे समयमा सन् २०२५ काे डिसेम्बर ३१ मा पुनर्निर्माण सम्पन्न गरिएको चिनियाँ प्राेजेक्ट म्यानेजर मिस्टर लिउ चाओले जानकारी दिए । ‘बाह्रबिसेदेखि लिस्तीसम्मकाे जीर्ण सडक अनि प्रतिकूल माैसमबिच समयमै निर्माण सम्पन्न गरेकाछाैँ,’ चाओले भने, ‘यही फेब्रुअरीमा नेपाल सरकारकाे शिक्षा मन्त्रालयलाई भवन हस्तान्तरण गर्छाैँ ।’
सुनकाेशी माविका लागि दुई हजार ४५५ वर्गमिटर क्षेत्रफलमा भवन निर्माण गरिएको छ । जहाँ १३ वटा कक्षाकाेठा छन्। काेठाहरू बालबालिकामैत्री र फराकिला छन् । यहाँ चार सय विद्यार्थी छन् । छात्रावास, क्यान्टिन, प्लेग्राउन्ड र वाल र गेटसहितको कम्पाउन्ड निर्माण भएका छन् । त्यसैगरी, उग्रचण्डी माविका लागि १२ वटा फराकिला कक्षाकाेठा, छुट्टै छात्रावास, क्यान्टिन, खेल्ने मैदान, वाल र गेटसहितको कम्पाउन्ड तयार पारिएको छ । जहाँ ३५० विद्यार्थी अध्ययन गर्छन् ।
लिस्ती हिमाली क्षेत्र भएकोले टाढाबाट पढ्न आउने बालबालिका छात्रावासमा बस्नेछन् । याे विद्यालय दुई हजार १२६ वर्गमिटरसम्म फैलिएको छ । लिस्तीजस्ताे विकट हिमाली बस्तीका बालबालिकालाई पढ्न र बस्न चीन सरकारले निर्माण गरेकाे विद्यालयबाट स्थानीयलाई धेरै लाभ मिल्ने पाउगुम्बा लिस्तीनिवासी सामाजिक अगुवा दाेर्जे लामा (हाउडे) ले बताए । विद्यालय भवन निर्माणका लागि २६ चिनियाँ तीन वर्षदेखि लिस्ती र बाह्रबिसे बस्दै आएका छन् । ५० प्रतिशत निर्माण सामग्री चीनबाट ल्याइएकाे हाे ।
सिमेन्ट, बालुवा, खाद्यान्न र काठपात नेपालमै खरिद गरिएको हाे । निर्माणमा २१० नेपाली तीन वर्षदेखि संलग्न छन् । निर्माणमा खटिएका नेपाली कामदारलाई समयमै उचित पारिश्रमिक दिने गरिएको छ । हस्तान्तरणपछि सीमाका झन्डै आठ सय बालबालिका सुविधासम्पन्न भवनमा बसेर अध्ययन गर्नेछन् ।
नयाँ पत्रिकाबाट
प्रतिक्रिया दिनुहोस्