२०८२ माघ ९

सिन्धुपाल्चोकमा चुनावी माहोल: दुई क्षेत्रमा ३६ उम्मेदवार चुनावी मैदानमा

सिन्धुपाल्चोक । आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लिएर सिन्धुपाल्चोक जिल्लामा चुनावी चहलपहल तीव्र बनेको छ । जिल्लाका दुवै निर्वाचन क्षेत्रमा गरी कुल ३६ जनाले उम्मेदवारी दर्ता गराएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको अन्तिम नामावलीअनुसार निर्वाचन क्षेत्र नं. १ र २ मा समान १८–१८ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा उत्रिएका हुन् । निर्वाचन क्षेत्र नं. १ मा विभिन्न राजनीतिक दल तथा स्वतन्त्र गरी १८ जना उम्मेदवार चुनावी मैदानमा छन् । यहाँ ठूला राजनीतिक दलहरूबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ ।

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बाट माधव सापकोटा, नेपाली कांग्रेसबाट जंगबहादुर लामा, नेकपा (एमाले) बाट सरेश नेपाल तथा राष्ट्रिय स्वतन्त्र पार्टीबाट भरतप्रसाद पराजुली उम्मेदवार रहेका छन् । उज्यालो नेपाल पार्टी, आम जनमत पार्टी, श्रम संस्कृति पार्टीलगायत अन्य दलका उम्मेदवारहरूको पनि सहभागिता छ । यस क्षेत्रमा ३ जना स्वतन्त्र उम्मेदवारले उम्मेदवारी दर्ता गराएकाले प्रतिस्पर्धा थप रोचक बनेको छ।


उम्मेदवार नेकपाका माधव सापकोटाले विकास र जनजीविकालाई केन्द्रमा राखेर चुनावमा होमिएको बताए । उनले विगतका दिनहरूमा बाकी रहेका योजना र विकासका गतिविधिहरूलाई समेत पुर्णत दिने प्रतिबद्धता व्यक्त गरे । साथै उनले भुइ मान्छेहरूको आवाजलाई अझ सशक्त बनाई संसदमा प्रस्तुत गर्ने धारण समेत राखे ।

त्यस्तै सोही क्षेत्रबाट उमेदवारी दिएका नेपाली कंग्रेसका जंगबहादुर लामा र नेकपा एमालेका सरेश नेपालले भने विकास र जनजीविकाका मुद्दालाई केन्द्रमा राखेर चुनावी प्रतिस्पर्धामा उत्रिएको बताएका छन् । नेपाली कांग्रेसका उम्मेदवार लामाले लोकतान्त्रिक मूल्य, समावेशी विकास, शिक्षा, स्वास्थ्य र रोजगारीलाई प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गरेका छन् भने नेकपा (एमाले) का उम्मेदवार नेपालले राजनीतिक स्थायित्व, सुशासन र योजनाबद्ध विकासमार्फत जोड दिने लक्ष्य अघि सारेका छन् ।

निर्वाचन क्षेत्र नं. २ मा पनि १८ जनाकै उम्मेदवारी दर्ता भएको छ । यस क्षेत्रमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)बाट युवराज दुलाल, नेपाली कांग्रेसबाट वंशलाल तामाङ, नेकपा (एमाले) बाट शेरबहादुर तामाङ तथा राष्ट्रिय स्वतन्त्र पार्टीबाट झलककुमार श्रेष्ठ चुनावी मैदानमा छन् ।यस क्षेत्रमा महिला उम्मेदवारी भने न्यून देखिएको छ । नेपाल मजदुर किसान पार्टीबाट म्हेन्दो तामाङले महिला प्रतिनिधित्व गरिरहेकी छन्। यस क्षेत्रमा पनि ३ जना स्वतन्त्र उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।


नेकपाका उम्मेदवार युवराज दुलालले युवाको सहभागिता र विकासमुखी सोचलाई प्राथमिकता दिने बताए । साथै उनले सिन्धुपाल्चोक जिल्ला राजधानीबाट नजिक भएर पनि विगत दिनहरूमा विकासको सवालमा पछि पर्दै आएको प्रसंग उल्लेख गर्दै, आफू प्रदेश सभा सदस्यको रूपमा निर्वाचित भएपछि विकासको बाकस नामक परिकल्पना अघि सारी योजनाबद्ध र दिगो विकासको परियोजना अघि बढाएको बताए । उनले बाढी पहिरो र अन्य जोखिमका हिसाबले प्रभावित क्षेत्रका नागरिकको संरक्षण र सबै नागरिकको सेवा गर्ने लक्ष्य रहेको बताउदै आफ्नो लक्ष्य योजना र समृद्ध र विकसित जिल्लाको सपना पुरा गरि जनताको असल प्रतिनिधिको रूपमा आफूलाई उभ्याउने संकल्प व्यक्त गरे ।

त्यसैगरी, नेपाली कांग्रेसका उम्मेदवार वंशलाल तामाङले आफ्नो एउटै एजेन्डा रहेको र त्यो भने भ्रष्टाचारको अन्त्य र मुलुकमा सुशासन कायम गर्ने भएको बताए । नेकपा (एमाले) का उम्मेदवार शेर बहादुर तामाङले भने यस पटक सुशासन विकास र समृद्धिलाई मुख्य एजेन्डाको रूपमा अघि सारेका छन् ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार मनोनयन दर्ता प्रक्रिया शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ। उम्मेदवारहरूको अन्तिम सूची सार्वजनिक भएसँगै जिल्लाभर चुनावी गतिविधि थप सक्रिय बनेको छ।
मतदाताहरूबीच अब कसले स्पष्ट विकास एजेन्डा प्रस्तुत गर्छ भन्ने विषयमा चर्चा सुरु भएको छ। युवा उम्मेदवारहरूको उल्लेख्य उपस्थितिले यसपटकको निर्वाचनलाई अझ अर्थपूर्ण र चासोपूर्ण बनाएको छ।

प्रतिक्रिया दिनुहोस्