२०८२ फाल्गुन २०

केक होइन, विचारको उत्सव: गोविन्द कार्कीको जन्मदिनमा वक्तृत्वकला प्रतियोगिता

सिन्धुपाल्चोक/ चौतारा साँगाचोकगढी नगरपालिका निवासी गोविन्द कार्कीले आफ्नो जन्मदिनलाई परम्परागत व्यक्तिगत उत्सवभन्दा अलग र अर्थपूर्ण बनाउने उद्देश्यले नगरस्तरीय अनलाइन वक्तृत्वकला प्रतियोगिता आयोजना गर्ने भएका छन्।

आगामी २०८२ साल माघ ०५ गते पर्ने जन्मदिनलाई केक, भोज र औपचारिक कार्यक्रमभन्दा बाहिर राख्दै, नगरभित्रका विद्यार्थीहरूमा विचार अभिव्यक्ति, आत्मविश्वास र जिम्मेवार नागरिकबोध विकास गर्ने सोचसहित प्रतियोगिता आयोजना गर्न लागिएको कार्कीले बताएका छन्।

प्रतियोगिताको विषय “बदलिँदो परिवेशमा निःशुल्क र गुणस्तरीय शिक्षाका लागि शिक्षक, अभिभावक र जिम्मेवार निकायले खेल्नुपर्ने भूमिका” निर्धारण गरिएको छ।

प्रतियोगितामा चौतारा साँगाचोकगढी नगरपालिका भित्रका विद्यालयमा अध्ययनरत कक्षा ६ देखि कक्षा १२ सम्मका विद्यार्थीहरू सहभागी हुन सक्नेछन्। सहभागीले ३ देखि ५ मिनेटको नेपाली भाषामा तयार गरिएको, बिना एडिट, म्युजिक वा इफेक्ट रहित भिडियो तयार गरी Facebook मा सार्वजनिक रूपमा पोस्ट गर्नुपर्नेछ।

पोस्टमा नाम, विद्यालय, कक्षा वा उमेर, नगरपालिका र प्रतियोगिताको शीर्षक उल्लेख गरी आयोजकको Facebook ID ट्याग गर्नुपर्नेछ। Facebook पहुँच नभएका विद्यार्थीहरूले भने WhatsApp नम्बर ९८४८९३९७७८ मा भिडियो पठाउन सक्ने व्यवस्था गरिएको छ।

भिडियो बुझाउने अन्तिम मिति २०८२ साल माघ ३ गते बेलुका ५ बजेसम्म तोकिएको छ।

प्रतियोगितामा उत्कृष्ट प्रस्तुति दिने विद्यार्थीहरूलाई नगद पुरस्कार प्रदान गरिनेछ। प्रथम पुरस्कार रु. ४,०००, द्वितीय पुरस्कार रु. ३,०००, तृतीय पुरस्कार रु. २,००० तथा सान्त्वना पुरस्कार रु. १,००० राखिएको छ। विजेतालाई डिजिटल प्रमाणपत्र प्रदान गरिनेछ र QR Code मार्फत पुरस्कार रकम वितरण गरिनेछ। सम्पूर्ण प्रक्रिया अनलाइन माध्यमबाट सम्पन्न गरिने आयोजकले जानकारी दिएका छन्।

मूल्यांकन विषयवस्तु र विचार (४०%), प्रस्तुति र आत्मविश्वास (३०%), भाषा र स्पष्टता (२०%) तथा समय व्यवस्थापन (१०%) का आधारमा गरिनेछ।

पृथक सोचका साथ शिक्षा र विद्यार्थी केन्द्रित कार्यक्रममार्फत जन्मदिन मनाउने यस पहललाई सकारात्मक रूपमा लिँदै बढीभन्दा बढी विद्यार्थीहरूको सहभागिता गराउन आयोजकले आग्रह गरेका छन्।

थप जानकारीका लागि ९८४८९३९७७८ (गोविन्द कार्की) मा सम्पर्क गर्न सकिनेछ।

प्रतिक्रिया दिनुहोस्