चौतारा । चौतारा साँगाचोकगढी नगरपालिका–५ निवासी स्वर्गीय सीतामाया नापितको दोस्रो वार्षिक पुण्यतिथिको अवसरमा उनीप्रति उच्च सम्मान र श्रद्धाञ्जली अर्पण गर्दै चौतारा अस्पतालमा स्वास्थ्य अक्षय कोष स्थापना गर्ने घोषणा गरिएको छ ।
स्वर्गीय सीतामाया नापितले तत्कालीन चौतारा जिल्ला अस्पताल (हाल प्रदेशअन्तर्गतको चौतारा अस्पताल) मा करिब ३५ वर्षसम्म निरन्तर सेवा गर्दै सिन्धुपाल्चोकको स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याएकी थिइन् । सीमित भौतिक संरचना, न्यून जनशक्ति र स्रोत–साधनको अभावका बाबजुद उनले बिरामीप्रतिको आत्मीयता, समर्पण र अनुभवका आधारमा स्वास्थ्य सेवामा आफूलाई समर्पित गर्दै आएकोमा परिवारले स्मरण गरेको छ । विशेषगरी बालबालिका र ज्येष्ठ नागरिकबीच ‘सीता दिदी’ का नामले परिचित उनले सेवा अवधिभर आम नागरिकको विश्वास र सम्मान जितेको बताइएको छ ।

आमाको योगदानलाई चिरस्मरणीय बनाउँदै तथा स्वर्गीय बुवा गोपीलाल नापित (कृषि विकास बैंकका अवकाशप्राप्त कर्मचारी) को बैंक तथा वित्तीय क्षेत्रमा रहेको योगदानलाई समेत सम्मान गर्दै परिवारले चौतारा अस्पतालमा २ लाख रुपैयाँ बराबरको स्वास्थ्य अक्षय कोष स्थापना गर्ने घोषणा गरेको हो । उक्त अक्षय कोषको मूलधन नछुने गरी वार्षिक ब्याजबाट गरिब, असहाय तथा उपचारमा पहुँच नपुगेका बिरामीलाई सहयोग गर्ने उद्देश्य राखिएको छ ।
‘स्वर्गीय सीतामाया/गोपीलाल स्मृति स्वास्थ्य अक्षय कोष’ को तत्काल यथोचित कार्यान्वयनका लागि अस्पताल सञ्चालन तथा व्यवस्थापन समिति र मेडिकल सुपरिटेन्डेन्टसमक्ष परिवारले औपचारिक अनुरोधसमेत गरेको छ ।
उक्त घोषणपत्रलाई नेपाल पत्रकार महासंघका अध्यक्ष, उपाध्यक्ष, कोषाध्यक्ष लगायतका पत्रकारहरूको उपस्थितमा अस्पताल व्यवस्थापन तथा सञ्चालन समितिका अध्यक्ष केशवराज गिरी र मेडिकल सुपरिटेन्डेन्ट डा.रूद्र भण्डारी लाई वरिष्ठ पत्रकार सुरेश कसजूको हातबाट हस्तान्तरण गरिएको हो । अक्षयको घोषण गर्ने घोषणाकर्ता छोरी ज्वाइहरु बिमला/सुरेन्द्र महर्जन, कमला/ललितप्रसाद श्रेष्ठ, शर्मिला (सरु काली)/ रमेश श्रेष्ठ र पार्वती नापित लाई अस्पताल व्यवस्थापन समितिको तर्फबाट अध्यक्ष गिरीले धन्यवाद प्रकट गर्दै भावी दिनहरूमा यसले अभावको बिचमा पनि गुणस्तरीय स्वास्थ सेवा सुनिश्चित गर्ने विश्वास व्यक्त गरे ।
प्रतिक्रिया दिनुहोस्