२०८२ मंसिर १६

धम्कीको छायादेखि जनताको विश्वाससम्म: एक पत्रकारको अदम्य यात्रा

(प्रस्तुति:बाह्रखरी,नरेश फुयाल)
होटल र्याडिसनमा चाइनिज नेशनल डेको रिसेप्सन थियो । सैनिक पोशाकमा रहेका सेनापति प्रज्ज्वल समशेरले सोझै आएर भने,“आई विल सुट यु ।”
दुर्गानाथ शर्मा,हरिहर विरही,दिवङ्गत अर्थशास्त्री डा.गोविन्दबहादुर थापाहरु सँगै थिए । किशोरले खुट्टा कमाएनन् । भने,“तिमी मरेका दिन खसी काटेर भतेर खान्छु ।”
एकाथरिले प्रज्ज्वललाई पाखुरामा तान्दै थिए,अर्कोतिर किशोरलाई । दुवै पाखुरा सुर्किरहेका थिए । वरपरकाहरु झुम्मिए र कसो–कसो उनीहरूलाई छुटाएर लगे ।
० ० ०
बुवा दमका बिरामी । चिसो काठमाडौं उपत्यका फापेन । डेढ वर्षको किशोरलाई लिएर धादिङको मलेखु पुगे । त्यहीँ उनको पढाइ शुरू भयो ।
१४ वर्षको उमेर । उनी अखिलको जिल्ला नेतृत्वमा थिए । राजेन्द्र पाण्डे शिक्षक नेता,जेल परे । गंगालाल तुलाधरलाई पनि प्रहरीले लग्यो । किशोर,कृष्ण राना र ओम शर्मालाई राजकाज मुद्दा लगाउने तयारी भयो । उनीहरू भागाभाग भए । भूमिगत भएका किशोर धादिङकै विभिन्न ठाउँ परिवर्तन गरेर साढे ४ महिना लुकी बसे । धादिङमा बस्न सक्ने अवस्था नभएपछि ललितपुर आएर कक्षा ९ मा भर्ना भए ।
यता आउनेबित्तिकै किशोरलाई प्रहरीले पक्रियो । ९ कक्षाको परीक्षा नख्खु जेलबाटै दिए । मोहनचन्द्र अधिकारी,घनेन्द्र बस्नेत,नरेश खरेल,भीम आचार्य,विष्णुबहादुर मानन्धरलगायत झापा संघर्ष र सत्याग्रहका अधिकांश नेता नख्खु जेलमै थिए । त्यहाँ जेल परेका मध्ये सबैभन्दा कान्छो उमेरका किशोर थिए । ५५ राजबन्दी रहेको उक्त जेलमा बिहान खाना खाएपछि प्रत्येक दिन उनी सुकुलमा बसेर घाम ताप्दै सबैलाई पत्रिका पढेर सुनाउँथे । त्यो उनको दैनिकी थियो । उनी पत्रिका पढ्थे,सबै वरिपरि बसेर आनन्दले सुन्थे ।
भित्र बसेको साढे ३ महिना भएको थियो,उपचारार्थ एम्बुलेन्समा काठमाण्डौ ल्याउँदै गर्दा बेल्खुनेर ५३ बर्षकै उमेरमा बुवाको मृत्यु भयो । पञ्चायती व्यवस्थाले उदारता देखायो । काजकिरियाका लागि भनेर जेलमुक्त गरिदियो ।
स्कूलमा उनी भित्ते पत्रिका ‘दियालो’ निकाल्थे । त्यसले पत्रिकारिताप्रति मोह जगाएको थियो । नख्खु जेलमा राजबन्दीहरू उनले पढेको पत्रिका सुन्थे,त्यसले पत्रिकाप्रति विश्वास बढायो । जेलबाट निस्किएपछि केही पुण्यको काम त गर्नुपर्यो भन्ने लाग्यो । असनभित्र लालिमा पुस्तक सदन थियो । योगेश भट्टराई,भानुभक्त ढकाल,कविन्द्रशेखर रिमालसहितको जेल कमिटीमार्फत ‘डेली डायरी’,‘मातृभूमि’,‘युगधारा’ जस्ता पत्रिका उनी काठमाडौं उपत्यकाका पाँच वटै जेलमा राजबन्दीहरूलाई पुर्याइदिन्थे । चाइनिज साइकल चढेर पाँच वटा जेलमा पत्रिका पुर्याइसक्दा १ बज्थ्यो । त्यसपछि खाना खाएर मीनभवन,इन्जिनियरिङ,पाटन,नमूना मच्छिन्द्रलगायत क्याम्पस र बिद्यालयको साँगठानिक गतिविधिमा लाग्थे । आन्दोलन क्रममा पछि पुलिसले उनको साइकल लुट्यो ।
किशोर जेलमा थिए । बाहिर नेताहरू ‘प्रजातन्त्र र परिवर्तनका लागि साथीहरू जेलमा बस्नुभएको छ’ भन्थे । तर,भेट्न भने कोही पनि जाँदैनथे । बूढी आमा रुँदै किशोरलाई भेट्न जान्थिन् । आमाका आँखामा आँशु देखेपछि उनलाई नरमाइलो लाग्थ्यो । केका लागि राजनीति गर्नु भन्ने प्रश्नले घोचिरहन्थ्यो । प्रजातन्त्र पुनःस्थापित भयो । बहुदल आयो । एउटा मिसन पूरा भयो । किशोरले पनि राजनीति छोडिदिए ।
० ० ०
पद्मरत्न तुलाधरको घरमै प्रेस थियो । नेवारी भाषामा ‘राजमती’ नामक पत्रिका निस्किन्थ्यो । त्यसमा समाचार लेख्न थाले । ‘प्रकाश’,‘चित्रण’,‘नवजागरण’ साप्ताहिक प्रकाशन हुन थालेका थिए । तिनीहरूमा किशोर अलिअलि समाचार लेख्थे । बहुदल आउनुअघि ७ सय रुपैयाँको तलबी भएर समाचार लेख्न थाले ।
यसैबीच पत्रकारिताको तालिमका लागि उत्तर कोरिया जाने अवसर आयो । तर,आफू नगएर अग्रज गोपाल थपलियालाई पठाइदिए । गोपाल बिरामी पनि थिए । उनका लागि किशोर आफैंले डा.मथुरा श्रेष्ठसमेतको सहयोगमा कागजपत्र बनाइदिए । गोपाल त्यतैबाट रुस गए र उपचार गराएर साढे ३ महिनापछि नेपाल फर्किए । अर्को वर्ष किशोर सोही तालिमका लागि उत्तर कोरिया गए ।
सार्क शिखर सम्मेलनमा भारतीय प्रधानमन्त्री राजीव गान्धी पनि आउने कुरा थियो । विमल निभाले ‘प्रकाश’ साप्ताहिकको ‘देब्रे कुना’ स्तम्भमा सार्क सम्मेलनलाई ‘सार्की सम्मेलन’ भनेर लेखे । काठमाडौं फोहोर भएकाले व्यंग्य गर्दै उनले त्यस्तो लेखेका थिए । तत्कालीन राजा वीरेन्द्रले ‘ड्रिम प्रोजेक्ट’ मानेको शिखर सम्मेलनलाई अवहेलना गरेको भन्दै प्रशासनले पत्रिका बन्द गरिदियो । किशोरले पहिलोपटक त्यसमा ‘फुलटाइम’ काम गरिरहेका थिए ।
नयाँ पत्रिका निकाल्नुपर्ने भयो । तर,पत्रिका आफ्नो नाममा दर्ता गर्न कोही तयार भएनन् । किशोर भर्खर आइएको विद्यार्थी । बिए पासको शैक्षिक योग्यता चाहिन्थ्यो । त्योभन्दा पनि ठूलो त जेल जान तयार हुने ठूलो छाती चाहिन्थ्यो । पुलिस रिपोर्ट पनि चाहिन्थ्यो । भीम रावल,देवी ओझा,रघुजी पन्त पनि तयार भएनन् । उनीहरूले बल्लबल्ल नारायण ढकाललाई खोजे सम्पादक । त्यसपछि ‘दृष्टि’ साप्ताहिक (२०४७) को प्रकाशन शुरु भयो । प्रथम पृष्ठका सबै सामग्री हेर्ने किशोर त्यसको हर्ताकर्ता भए ।
हिरण्यलाल रेग्मी रत्नपार्क (हाल उपत्यका प्रहरी कार्यालय) मा सहायक अञ्चलाधीश थिए । सेन्सर गराउन किशोर आफैं जान्थे । रेग्मी निकै कडा । लाइन लाइन हेरेर काटकुट गर्थे ।
प्रकाशन शुरु भयो । त्यसलाई बाहिर मालेको पत्रिका भन्न थालियो ।
कृष्णप्रसाद भट्टराईलाई हराउन बल पुग्ने,गणेशमान सिंहलाई आच्छुआच्छु पार्ने समाचार ‘दृष्टि’मा छापिन्थे । दरबारका समाचार ब्रेक गरिन्थ्यो । सेनापतिलाई हायलकायल बनाउने समाचार प्रकाशित हुन्थे ।
० ० ०
०५१ सालमा मध्यावधि निर्वाचन भयो । एमालेले अल्पमतको सरकार बनायो । एमालेको सरकार बनेपछि आन्तरिक लुछाचुँडी भएको किशोरलाई अझै याद छ । रेडियो नेपालको ‘घटना र विचार’मा को जाने ? गोरखापत्रको जीएम को हुने ? आकर्षक नियुक्ति क–कसले लिने भन्नेमा हानाथाप शुरु भयो ।
दासढुंगा घटनामा परेर मदन भण्डारी मारिएका थिए । माधव नेपाल पार्टीको महासचिव । मदन भण्डारीले किशोरलाई खुब माया गर्थे । जहाँ जाँदा पनि पत्रकारको हैसियतले लैजान्थे । किशोर मदनसँगै दिल्ली गए । चीन जाने सूचीमा समेत थिए तर उनको नाम काटेर पार्टीकै वरिष्ठ नेताको नाम राखियो । ल्हासा कटेर छङ्तु पुगेपछि किशोरको ठाउँमा गएका नेताले उनैलाई फोन गरेर समाचार टिपाए । किशोरले समाचारमा ‘फलानो नेताले ‘दृष्टि’लाई समाचार टिपाउँदै यसो भने’ भनेर रिपोर्टर बनाइदिए ।
बहुदलीय व्यवस्था आएपछि जो पनि ‘दृष्टि’को सम्पादक बन्न लालायित देखिन थाले । पार्टीको विधानमा उल्लेख नभए पनि उपमहासचिव बनाइएका थिए वामदेव गौतम । ‘दृष्टि’को टोली नै गौतमलाई भेट्न गयो । उनीहरूले भने, “जथाभावी सम्पादक आउँदा हाम्रो वृत्तिविकास रोकिन्छ,त्यसैले ‘दृष्टि’भित्रकै व्यक्ति सम्पादक हुनुपर्छ । व्यक्तिका नाममा रहेको ‘दृष्टि’ प्रालिमा रुपान्तरण हुनुपर्छ । निस्किएर जाँदा कामदारले सेवा–सुविधा पाउनुपर्छ । आलोचनाको स्वतन्त्रता कति ? ‘विमर्श’ हुने कि ‘गोरखापत्र’ हुने ? त्यसको निर्क्यौल गरिनुपर्छ ।”
वामदेवले भने, “गोरखापत्र जस्तै हुने हो ।”मिल्ने कुरै थिएन । फलतः प्रकाशक शम्भु श्रेष्ठबाहेक किशोरसहित सबैले ‘दृष्टि’बाट राजीनामा दिए ।
० ० ०
पत्रिका छोडे पनि पत्रिकाको नशा उत्रिएको थिएन । पत्रकारिताप्रतिको आकर्षण घटेको थिएन । काठमाडौंका एमाले वडाध्यक्षहरू,राष्ट्र बैंकका केही कर्मचारी तथा साथीहरूसहित २५ जनासँग १०–१० हजार रुपैयाँ उठाएर २ लाख २५ हजार जम्मा गरे र ‘जनआस्था’ साप्ताहिक दर्ता गरे ।
०५१ सालको नारी दिवस (मार्च ८) । किशोरलाई कण्ठै छ मिति । त्यही दिन पहिलो अंक छापे ।
“पहिलो अंक हामीले २९ हजार कपी छाप्यौं । त्यति धेरै छापेर जुवा खेलेका थियौं । तर सबै कपी बिक्री भयो । ३ रुपैयाँ जतिमा एउटा कपी तयार हुन्थ्यो,मूल्य ५ रुपैयाँ थियो,” किशोर भन्छन्,“नेपाली जनता ऋणमा,वामदेवका छोरा चीनमा’ भनेर त्यहीबेला लेखेका हौं ।
पूर्व अख्तियार प्रमुख दीप बस्नेत सूचना विभागको महानिर्देशक थिए । केशव स्थापितको घरमा पत्रिकाको कार्यालय थियो । स्थापितको घरसँगै सूचना विभागको कार्यालय । सूचना विभागले प्रेस निरीक्षण गरिवरि ३ महिनामा ‘जनआस्था’लाई ‘क’ श्रेणीमा वर्गीकरण गरिदियो । बासु गिरीले नेशनल ट्रेडिङ्गबाट कागज किन्न पाउने ब्यवस्था मिलाइदिए ।
हरेक बुधबार छापिँदै गरेको ‘दृष्टि’ मंगलबार सर्यो । ‘दृष्टि’ फेरि फुट्यो र ‘बुधबार’ शुरु भयो । किशोर भन्छन्, “जनआस्था ४९ हजारसम्म छापेका छौं हामीले । चल्लाले माउलाई निलेको यो पहिलो घटना होला नेपालको सन्दर्भमा ।”
……..
राजसंस्था हुँदा दरबार,सेना र प्रहरीका समाचार ब्रेक गरिरहने पत्रकार हुन् किशोर । भित्री समाचारको स्रोतका लागि अझै पनि उनको नाम अग्रपंक्तिमा आउँछ ।
समाचारका स्रोत दरबारकै ठूला कर्मचारी र नातेदार हुन्थे । तिनले को विश्वासिलो पत्रकार छ भनेर खोज्थे आफैं । त्यस्तो विश्वास किशोरले दिलाएका थिए ।
०६३ सालसम्म पनि नेपाली सेनाको समाचार बाहिर आउँदैनथ्यो,झन् दरबारको कुरा चुहाउनु कहाँ सजिलो होला र ! सूचनासँगै आत्मबल र हिम्मतको कुरा पनि थियो ।
“राजा वीरेन्द्रलाई बिहान ९ बजेभित्र ‘जनआस्था’ पत्रिका पढ्न नपाए छट्पटी हुन्थ्यो । उनीसमक्ष कसले पहिला ‘जनआस्था’ पुर्याउने भनेर होडबाजी चल्थ्यो,” किशोर सम्झन्छन्,“सुधीर शर्मा,गुणराज लुइँटेल,विनोद ढुंगेल,सीताराम बराल,सीताराम भट्टराई,कृष्ण अबिरल,अरुण बराल,राजाराम गौतम,रमेश खड्का,टीकाराम राई,रविन सायमी,बिश्वमणी सुवेदी,चुडामणी भट्टराई,शरद अधिकारी,कमल पौडेल,हेमचन्द्र बस्नेत,धिरेन चेम्जोङ्ग,माधव बिद्रोही,यादवप्रसाद पाण्डे,मातृका पौडेल,ज्ञानेन्द्र खड्का,प्रकाश तिमिल्सिना,सोमनाथ बास्तोला,रोशन साँवा,गोविन्द भट्टराई,डम्बर श्रेष्ठ,राजकुमार दिक्पाल,उमेश कोरङ्गी,माधव ढुङ्गेल,दिपेन्द्र राई दिनदुखी,भरत भट्टराई,गणेश लम्साल,प्रकाशबिक्रम शाह,उमेश दाहाल,पुष्पलाल पाण्डे,शेरबहादुर केसी,सुरेश कसजुलगायतका साथीहरू ‘जनआस्था’मै जोडिनुभएको हो ।”
० ० ०
स्रोत गोप्य राख्दै थरीथरीका समाचार सम्प्रेषण गर्ने पत्रकार हुन् किशोर । मौलिक शैली भएन भने हराइन्छ र समर्थनमा लेखिने समाचार चाकडी हुन्छ भन्नेमा उनी पहिलेदेखि नै सचेत थिए । यही स्वभावले किशोरलाई पत्रकारिता सधैं फलामको च्युरा भयो । धम्कीको वर्षा लाग्थ्यो तर पनि उनले आफ्नो कलमको निव बन्द गरेनन्,झन् तिखो बनाए र लेख्दै गए ।
सेनापति प्रज्ज्वल समशेर थिए । उनी सधैं किशोरसँग ठोक्किइरहे । एकपटक ‘दरबारको सुरक्षा हाम्रो जिम्मेवारी होइन’ भनेर विवादास्पद अभिव्यक्ति दिए ।
प्रज्वलले सबका सामु किन गरे किशोरमाथि आक्रमण ?
“उनी दरबारका भक्त थिए । दरबारबारे कुरा केही पनि बाहिर नआओस् भन्ने चाहन्थे । एकदिन दुई जना सम्पादकले मलाई कमलादीको एक रेस्टुरेन्टमा जरुरी मिटिङ छ भनेर बोलाए । जाँदा त उनीहरूले प्रज्ज्वल समशेरले पठाएको भन्दै ५० हजार रुपैयाँ लिन आग्रह गरे । मैले भनें, ‘म पैसा लिएर समाचारको सौदाबाजी गर्दिन । तिमीहरू लिन्छौ भने मेरो केही भन्नु केही छैन । तर म लिन्नँ ।’
“प्रज्ज्वल मेरो मुखमा बुजो लगाउन चाहन्थे तर मैले कहिल्यै मानिनँ । उनको पैसा लिएर समाचार लेख्न छोडें भने मलाई विश्वास गरेर पढ्ने पाठकलाई ठगेको हुन्छ । ५० हजार सेनाको पसिना मारेर उनले मलाई पैसा पठाएका थिए । ती सेना झन् अन्यायमा पर्नेछन्,त्यसैले पनि झन् लेख्नुपर्छ भन्ने लाग्यो । पैसा नलिएपछि उनले मलाई अपराधीजस्तै व्यवहार गरे । मेरो जेठानलाई समेत दु:ख दिए । उनका छोरा प्रभास दुइटा पेस्तोल बोकेर हिँड्थे । उनी मलाई मार्छु भन्दै हिँडे ।”
राजपरिवारका कतिपय नातेदार भने किशोरले राम्रै काम गर्दैछ भन्थे । जनताले दरबारका कमजोरी थाहा पाउँदा अन्ततः दरबारलाई नै फाइदा पुग्छ भन्थे । पछि किशोरले थाहा पाए– बहिनी ज्वाइँ मोहनबहादुर शाहीसँग राजा वीरेन्द्रले भनेछन्,“त्यो पत्रकारको कलमलाई निस्तेज पार्न नखोज्नु,हाम्रा कमीकमजोरी थाहा पाउँदा हामीलाई नै सच्चिन अवसर मिल्छ ।”
सेनाले किशोरलाई मात्रै दुःख दिएन । उनको घरमा फोन गरेर परिवारलाई समेत मानसिक तनाव दिन्थ्यो । ‘तेरो छोरो आज थापाथली पुल नकट्दै मर्छ,दाउरा ठीक पारेर राखिराख्नु’ भन्थ्यो सेनाले । बेलुका घर पुग्दा कोलाहल मच्चिएको देख्थे । किशोर भन्छन्, “रविन्द्रप्रताप शाह त्यो बेला हनुमानढोकामा एसपी थिए । उनले कैयौंपटक असईको कमाण्डमा मेरो अफिसमा सुरक्षार्थ पुलिस राखिदिएका थिए । त्यति हुँदा पनि मैले कहिल्यै खुट्टो कमाइनँ । सधैं सत्य–तथ्य समाचार प्रकाशन गरिरहेँ ।”
लोकमानसिंह कार्कीको जगजगी थियो । राजतन्त्रका पक्षधरबाहेक हरेक अखबार तैं चुप मै चुप थिए । तर,किशोरले आफ्नो कलमलाई भुत्ते बनाएनन् ।
“राजा ज्ञानेन्द्रले सत्ता हत्याएपछि कति पत्रिकाले फ्रन्ट पेजमा गल्फको फोटो हालेर ३–४ महिना बिताए । तर,‘जनआस्था’ कहिल्यै चुप लागेन,” किशोर निर्भिक सुनिए, “मलाई मर्नदेखि डर लागेन । मैले लेखेको समाचारका कारण कसैले यस्तो पनि पत्रकारिता हुँदो रहेछ भन्ने सोच्यो भने मेरो मरण सार्थक हुनेछ । मैले बेलैमा राजनीति छोडिदिएँ । पत्रकारितामा केन्द्रित भएँ । मैले पत्रकारितालाई भर्याङ बनाएर काम गरिनँ । पत्रकारितालाई साइड बिजनेस बनाएर जग्गा दलाली वा व्यापार ब्यवसायमा प्रयोग गरिनँ । पत्रकारितालाई स्वच्छ पेशाका रूपमा लिएँ । सत्य समाचार सम्प्रेषण गर्न कहिल्यै डराइनँ ।”
उनले यसको उदाहरण पनि दिए ।
“कृष्ण सेन इच्छुकलाई महेन्द्र पुलिस क्लबमा कुटेर मारियो भनेर समाचार ब्रेक हामीले गरेको हो । कृष्ण सेनको समाचार ब्रेक गरेपछि यो इस्यु तीन महिनासम्म तन्कियो । दरबारमा पहिलोचोटि पारसले मान्छे किचेर मारेको भनेर हामीले समाचार लेखेका हौं । बेलुका हल्ला भयो भनेर दीपेन्द्रले सुत्न जानुअघि जथाभावी गोली हानी काग मार्थे । ‘रणबहादुर शाहका सन्तान कसरी राम्रा हुन्छन् ?’ भनेर ‘जनआस्था’ले समाचार लेख्यो,त्यही समाचार लेखेबापत हेलमेटमै समातेर दरवार लगी बयान लिइयो,जबकि दौरासुरुवाल नलगाई दरबार प्रवेश गर्न पाइँदैनथ्यो । राजकाज मुद्दा लगाउने तयारी भयो । सुधीर शर्मा र टिकाराम भट्टराईलाई लिएर बयान दिन सिडिओ कार्यालय पुगेँ । पछि अख्तियारको प्रमुख आयुक्त भएका नवीन घिमिरे त्यसबेला काठमाण्डौको सिडियो थिए । मलाई थुन्ने तयारीसम्म थियो । तर,पछि वामदेव गौतमले हस्तक्षेप गरेर यो विषय साम्य भयो ।”
० ० ०
मैले नायिका श्रृषा कार्कीको प्रसंग उप्काएँ ।
उनले भने,“हल्ला हैन तथ्यपूर्ण इतिहासको कुरा गरौं । श्रृषा कार्कीबारे चासो राख्नेहरू प्रष्ट हुन्छन् र सत्यको खोजी गर्ने पत्रकारहरूलाई पनि केही आत्मबल बढ्छ जस्तो लाग्छ ।”
“असोज २३ गते छापिएको समाचारमा ४५ जनाको नाम छ । उनलाई शोषण गर्ने को–को थिए,लोकमानसिंह कार्कीसहित सबैको नाम छ त्यसमा । तर मण्डले कलाकार विरोधमा उत्रिए,” किशोर सम्झन्छन्,“समाचार आएपछि शनिबारको दिन बुवा दलबहादुर,भाइ राजेन्द्रसहित मेरो कार्यालयमा आएर उनले मेरो परिवारलाई सम्झाइदिनु पर्यो भनिन् । फोटो प्रहरीको सईले ८ हजार तिरेर खिचेको थियो । पछि ऊ पलायन भएर लण्डन गयो । मैले श्रृषाका बुवालाई भनें,‘फोटो छाप्नुमा हाम्रो गल्ती भयो । दसैंपछि खण्डन निकाल्छु ।’ चौथो दिन उनले मलाई ब्वाइफ्रेण्ड प्रकाश देउजा (हाल जर्नेल) कै सामु सइको घर बिशालनगर गएर उनकी श्रीमती इश्वरीलाई कुटपिट गरेको खबर सुनाउन लाजिम्पाटबाट कल गरेकी थिइन् । त्यतिबेला पनि मैले उनलाई थप उत्तेजक गतिविधि नगर्न र खण्डनको प्रतीक्षा गर्न सम्झाएँ । यति हुँदा ६ दिन बितिसकेको थियो । सातौं दिन बिहान ८ बजे दिदीलाई फोन गरेर घर जान लागेको बताइन् । फोन गरेको १५ मीनेटमा सलको पासो लगाएर आत्महत्या गरिछन् । उनका आफन्तले इमान्दारीसाथ भनुन्-प्रविधि छ,कल डिटेल होला,लिखत वा भनाइ केही त होला । उनलाई त्यही १५ मीनेटको बीचमा लण्डनबाट कसैको फोन आएको र सेनाको तत्कालीन क्याप्टेनसमेत लगेर घरमा आफ्नी श्रीमतीलाई कुटपिट गरेवापत धम्काएको मेरो बुझाइ हो । किनकि उनले आफ्नो प्रेमी अर्थात हाल सेनाको उच्च तहमा रहेका (पूर्व प्रधानमन्त्री केपी भट्टराईको अङ्गरक्षक) लाई लिएर आफ्नो फोटो खिच्ने सईको घर गई प्रहरी सेवामै कार्यरत उनकी पत्नी इश्वरीलाई हेल्मेटले हानेकी रहिछन् । त्यही कुरो उनले बिदेश बस्ने पतिसङ्ग शेयर गरेपछि लण्डनबाट आएको फोनको कारण उनले आत्महत्या गरेको हुनुपर्छ । ‘जनआस्था’मा आएको फोटोकै भरमा उनले आत्महत्या गरेकी होइनन् भन्नेमा म अझै ढुक्क छु । यसबारे उनकी घनिष्ट मित्र अभिनेत्री सुनिता खड्का (धर्ती,बेहुली) ले धेरै कुरा बताउन सक्छिन् । श्रृषा कार्कीको बारेमा आएको त्यो पहिलो समाचार थिएन । त्यस्तै समाचार लेखेको भन्दै तत्कालीन कलाकार संघकी अध्यक्ष बसुन्धरा भुसालले पत्रकार डब्बु क्षेत्रीलाई उनकै अफिस,पुतलीसडकमा गएर एक बर्षअगाडि कुटेकी छन् ।” असोज २३ गतेको समाचार,२९ गतेको आत्महत्या,लगत्तै प्रधानमन्त्री शेरबहादुर देउवालाई हटाएर नयाँ राजाको हातमा सत्ता,अनि अशोक शर्माजस्ता राजावादी कलाकारहरुको जुलुश,जनआस्था बन्द गराउन ज्यानमुध्दा दर्ता । यसको बिस्तृत विवरण तत्कालीन एसपीद्वय टपेन्द्र हमाल र कुवेरसिंह रानाले बताउन सक्छन् ।
मदन भण्डारी
मदन भण्डारी जति सहयोगी थिए,सरल पनि त्यत्तिकै । चकटीमा बसेर चना,चिउरा खान पनि तयार हुने । खुलामञ्चमा भाषण सकेर किशोरसँगै हिँड्दै बागबजारको पत्रिका अफिसमा पसी मःमः खान अप्ठ्यारो मान्दैनथे ।
‘दृष्टि’मा एउटा समाचार छापियो । शीर्षक थियो,‘रानी दिल्ली गइन् ।’ किशोर राति अबेरसम्म पत्रिकाको काम सकेर कार्यालयमै सुतेका थिए । मदन भण्डारीले बिहान साढे ६ बजे नै फोन गरेर भने,‘रानी दिल्ली गइन्’ भन्ने समाचार कसले लेखेको ?
“समाचार त अग्निशिखाले लेख्नुभएको हो तर शीर्षक मैले राखेको हुँ,”किशोरले भने ।
“मिलेन । यो संस्कार राम्रो भएन । रानी भनेको रानी हो । जे भए पनि उमेर,दर्जा सबैले माथि हुन् । विदेश गएका बेला पनि अपमान गर्ने कुरा त ठीक भएन । अर्को पटक सच्याउनुहोला कमरेड !”,मदनले भने ।
०४९ भदौमा बाढी आयो । प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला थिए । भारतीय सेनाले उद्धारका लागि भन्दै बिनाअनुमति दुइटा हेलिकप्टर पठाएको थियो । गिरिजाप्रसादले ती हेलिकप्टर उड्नै नदिई एयरपोर्टमै थन्काइदिए ।
प्राध्यापक त्रिरत्न मानन्धरलगायतले सम्पादन गरेको ‘नेपाली सेनाको इतिहास’ नामक पुस्तकको प्रस्तावनामा एउटा वाक्य छ, “नेपाली सेनाको स्थापना विस्तारवादको सघाउका लागि भएको थिएन ।” त्यही वाक्यलाई कोट गर्दै किशोरले समाचार लेखे ।
मदन भण्डारीले बिहानै फोन गरेर सोधे, “यो समाचार कसले लेखेको ?”
किशोरले भने, “मैले ।”
“स्याबास ! हो,यस्तै गर्ने हो । यसैगरी खोज्ने हो,”मदनले हौसला दिए ।
#अहिलेको पत्रकारिता
“फास्टफुडको जमाना छ । सबैलाई सबै कुरा छिटो चाहिएको छ । छिटो धनी हुनु छ,अहिलेको अहिल्यै लोकपृयताको शिखर चढ्नु छ । यस्तै हो अहिलेको पत्रकारिता–हतार छ सबैलाई ।
नयाँ पुस्तामा मेहनत गर्ने संस्कार हराएको छ,” किशोर यसरी भन्छन् मानौं उनी यी कुरा सुनाउन धेरै पहिलेदेखि हतारिएका थिए, “दु:ख त अहिले पनि छ तर बेग्लै खालको,पारिश्रमिकको,पेशागत सुरक्षाको तर विकल्प र बिधा पनि धेरै छन् । हामीले जति मेहनत गर्थ्यौँ,त्यो अहिले छैन । हामीले दुःख र धम्की पाएर गैंडाको काँधजस्तो भयौं । एउटा मेहनतले,अर्को धम्कीले । गोली पनि पचाउन सक्ने भयौं । तर अहिलेको पत्रकारिता
त आउने,जाने चौतारो जस्तो पो भयो ।”

प्रतिक्रिया दिनुहोस्