२०८२ मंसिर १६

चौतारा स्पोर्टिङ क्लबलाई ‘सी’ डिभिजन छनोटका लागि नगरपालिकाद्वारा उत्साहपूर्ण विदाइ

चौतारा । सहिद स्मारक ‘सी’ डिभिजन लिग छनोट खेलमा सहभागी हुन चोैतारा स्पोर्टिङ क्लबको टोलिलाई आज चौतारा साँगाचोकगढी नगरपालिकाले औपचारिक रूपमा शुभकामना दिदै सम्मानपूर्वक विदाइ गरेको छ । नगर प्रमुख र उपप्रमुखको उपस्थितिमा खेलाडी तथा व्यवस्थापकहरूलाई खादा ओढाएर उत्साहसहित बिदाइ गरिएको हो ।

चौतारा स्पोर्टिङ क्लबका सचिव राकेश रानाका अनुसार छनोट खेलका लागि २२ जना खेलाडी र ७ जना व्यवस्थापक गरी २९ जनाको टिम राजधानीतर्फ प्रस्थान गर्न लागेको हो । उनका अनुसार क्लबको पहिलो खेल भोलि मंगलबार बिहान ९ बजे धरान सिटी फुटबल क्लबसँग हुने निश्चित भएको छ । “हाम्रो सम्पूर्ण टोली अहिले मानसिक र शारीरिक रूपमा पूर्ण तयारीमा छ,” सचिव रानाले बताए ।

नगर प्रमुख कृष्णप्रसाद सापकोटाले खेलाडीहरूलाई उत्साहका साथ बिदाइ गर्दै भने, “खेलले केवल पदक मात्रै दिन्न, यसले नगरको पहिचान र गौरव बोकेको हुन्छ । तपाईंहरूको अनुशासन, मेहनत र समुह भावनाले यो छनोटमा उत्कृष्ट प्रदर्शन हुनेछ भन्ने हामीलाई विश्वास छ । नगरपालिकाको तर्फबाट तपाईंहरूलाई आवश्यक सहयोग गर्न हामी सधैं तयार छौँ।”

यस्तै, नगर उपप्रमुख सीता थापाले खेलाडीहरूको मनोबल उत्साहित बनाउँदै भनिन्, “चौताराका युवा खेलाडीहरू राष्ट्रिय स्तरका प्रतिस्पर्धामा उभिनु आफैमा ठूलो गर्वको विषय हो । तपाईँहरूले खेलेर मात्र होइन, चरित्र, एकता र खेलभावनाले पनि नगरको परिचय उजिल्याउनुहुनेछ भन्ने पूर्ण विश्वास छ ।”

क्लबका अध्यक्ष सविन श्रेष्ठले खेलप्रति नगरबासीको साथ र हौसला महत्वपूर्ण हुने उल्लेख गरे । साथै उनले क्लबले विगतमा पनि निरन्तर सि डिभिजन छनोटका लागि प्रयास गर्दै आएको उल्लेख गर्दै  यसपालिको तयारी र मनोबल दुवै उच्च रहेकोले जित पक्का रहेको बताए ।

शुभकामना र उत्साहका साथ बिदाइ गरिएको चौतारा स्पोर्टिङ क्लबको टोली अब चयन खेलमा प्रतिस्पर्धा गर्दै नगरलाई गौरवान्वित बनाउने लक्ष्यसहित मैदानतर्फ अघि बढेको छ ।

 

प्रतिक्रिया दिनुहोस्