२०८० चैत्र १६

सीमा क्षेत्रमा सुवोध ,देउवा र दाहाल ल्याएर बाढीपहिरो नियन्त्रण र नाकाबारे छलफल चलाउँछु

कार्तिक १७ ,रामकृष्ण थापा – प्राय सुनसान देखिने तातोपानी नाका चुनावी चटारोबीच गुलजार भएजस्तो लाग्छ । उम्मेदवारहरु मत माग्न घरदैलो अभियान लिएर जाँदा देखिएको दृश्य हो यो ।
व्यग्र प्रतीक्षा र तीब्र राजनीतिक छिनाझपडीबीच टिकट पाएर मैदानमा आएको लोकतान्त्रिक वाम गठबन्धनका साझा उम्मेदवार माधव सापकोटा सुवोध र मसिना खड्का भण्डारी सीमा क्षेत्रमा पुग्दा भोटेकोसीवासी घरघरबाट सडक र चोकमा निस्किए । भर्खरको युवा, राजनीतिक हिसाबले खारिएको र अन्तर्राष्ट्रिय सम्बन्धसमेत मजबुत भएको पूर्वसभामुख अग्निप्रसाद सापकोटाको रोजाइमा परेकोले सुवोधप्रति मतदाताको अपेक्षा बढी रहेको पाइन्छ ।
बाढी र पहिरोले थिलथिलो पारेको भोटेकोसी क्षेत्रका वासिन्दा भूकम्पपछि गरिखाने पेशा तातोपानी नाका पूर्णरूपमा सुचारू नहुँदा दुःखित छन् ।
मंगलबार र विहीवार सीमावर्ती गाउँमा बसेर छलफल गरेका सुवोधसँग स्थानीयले बाढीपहिरो नियन्त्रण र आर्थिक उपार्जनबारे विभिन्न माग पेश गरेका छन् । भोटेकोसी क्षेत्रको आयस्रोत भनेको तातोपानी नाका र पर्यटन प्रवद्र्धधन हो ।
मत माग्न घरघर पुगेका काँग्रेस र माओवादीसंवद्ध नेता कार्यकर्ताप्रति स्थानीयले भरोसा गरेकोे पाइयो । दिनको झल्को बिहानीले दिन्छ भनेझैं सीमा क्षेत्रबाट सुरु भएको सुवोधको चुनावी अभियान उत्साहपूर्ण र भरोसालाग्दो रहेको सन्देश क्षेत्रभर फैलिएको छ ।
भोटेकोसीवासीको मागलाई सम्बोधन गर्न देशका दुई शीर्ष नेता प्रधानमन्त्री शेरबहादुर देउवा र पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई स्थानीयमाझ निम्त्याएर छलफल गर्ने सुवोधले उद्घोष गरे । ‘दुई शीर्ष नेतालाई ल्याएर भोटेकोसी र बाह्रबिसे क्षेत्रको बाढीपहिरो, तातोपानी नाकाको अवस्था र पर्यटन प्रवर्द्धन सम्बन्धि छलफल गर्छु,’ उनले भने, ‘राज्यको ध्यान खिच्न चुनाबपछिको पाँच वर्षमा पाँच मिनेट पनि खेर फाल्दिन ।’
काँग्रेस र माओवादी कार्यकर्ता मात्रै होइन, घरदैलो अभियानमा सीमा क्षेत्रका स्थापित व्यक्तिहरु पनि सँगसँगै थिए । मित्रराष्ट्र चीनसँगको सम्बन्ध गाढा रहेकोले पनि उम्मेदवार सुवोधलाई सीमावासी र यहाँका स्थापित व्यक्तित्वहरुले साथ दिएका हुन् । लामो समयदेखि व्यापार व्यवसायमा रहेर देशभर चिनिएका सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष वेदबहादुर श्रेष्ठ, कमलकुमार श्रेष्ठ, पूर्वउपाध्यक्ष दोर्जे लामा, , ट्रक कन्टेनर संघका अध्यक्ष अर्जुनबहादुर सापकोटा, पूर्वअध्यक्ष राजकुमार पौडेल, समाजसेवी शम्भु शेर्पालगायत व्यक्तिले सुवोधलाई समर्थन गर्दै चुनावमा साथ दिने निश्चित भएको छ । त्यसैगरि सीमा क्षेत्रका स्थापित व्यक्तिहरु अशोक श्रेष्ठ, बच्चु पौडेललगायतले लोकतान्त्रिक वाम गठबन्धनलाई साथ दिने बताएका छन् । भोटेकोसी गाउँपालिका अध्यक्ष पासाङ नोर्बु लामाले लोकतान्त्रिक वाम गठबन्धनको पक्षमा माहोल रहेको बताए । लिपिङ, कोदारी, तातोपानी, नारायणथान, लिस्ती र मार्मिङका विभिन्न बस्तीमा पुगेर सापकोटाले जनताको अवस्था सुधार्ने अभियानको नेतृत्व गर्ने बताए । ती गाउँमा धुरीलौरी मानिस जम्मा भएर राजनीतिक नेताप्रति गुनासाका पोको फुकाए । स्थानीयको गुनासो सुनेपछि सुवोधले भने, ‘झुटो आश्वासन दिन्न, काम गरेर देखाउँछु ।’

सीमा क्षेत्र घुमेर बाह्रबिसे आइपुगेका सुवोधलाई नेपाली काँग्रेसका १ नं क्षेत्रीय सभापतिसमेत रहेका बाह्रबिसे नगरपालिका प्रमुख युवा नेता बालकृष्ण बस्नेतले लोकतान्त्रिक वाम गठबन्धनका सबै उम्मेदवार जिताउन कुनै कसुर बाँकी नराख्ने बताए । बाह्रबिसेमा सम्पन्न नेपाली काँग्रेससंवद्ध जनप्रतिनिधि र पार्टी नेतृत्व , त्यसैगरी माओवादीसंवद्ध स्थानीय नेतृत्वबीच भएको आन्तरिक छलफलको निष्कर्ष पनि निकै उत्साहप्रद रहेको नेता बस्नेतले बताए । यता क्षेत्र नं २ मा नेपाली काँग्रेसका प्रभावशाली नेता, पूर्वमन्त्री मोहनबहादुर बस्नेतको चुनावी घरदैलो अभियान भव्य रहेको खबर छ । विकासप्रेमी नेता आएकोमा खुसी रहेका क्षेत्र नं २ का मतदाताले बस्नेतलाई अंगालो हालेर स्वागत गरिरहेका छन् । टिकटका लागि आपसमा संघर्ष गरेका काँग्रेस माओवादीका नेता कार्यकर्ता चुनावी मैदानमा केन्द्रीय नीति, निर्देशनअनुसार एकाकार भएर अघि बढेको पाइएको छ ।

प्रतिक्रिया दिनुहोस्