प्रति सेकेन्ड औसत पाँच सय हाराहारीमा राष्ट्रिय परिचयपत्रमार्फत मतदाता नामावलीमा नाम दर्ता गराउन ट्राफिक आएपछि समस्या निम्तिएको छ ।
निर्वाचन आयोगले बिहीबारदेखि राष्ट्रिय परिचयपत्रमा भएको बायोमेट्रिकलाई प्रयोग गर्दै मतदाता नामावली सङ्कलन सुरु गरेपछि नाम दर्ता गर्न खोज्ने नागरिकको सङ्ख्या अत्यधिक बढेको हो । जसका कारण राष्ट्रिय परिचयपत्रका साथै निर्वाचन आयोगको सर्भरले ट्राफिक व्यवस्थापन गर्न धौधौ परिरहेको छ भने निर्वाचन आयोगको वेबसाइट नखुल्ने समस्या देखिइरहेको छ । कतिपयले राष्ट्रिय परिचयपत्र (एनआईडी) सर्भरबाट डेटा प्राप्त हुन सकेन भन्ने इरर आइरहेको गुनासो गरिरहेका छन् । राष्ट्रिय परिचयपत्रको प्रणालीमा अनपेक्षित रूपमा धेरै रिक्वेस्ट हिट (धेरै अनुरोध) भएपछि शुक्रबार १० बजेदेखि सेवा प्रभावित भइरहेको छ ।
राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागका एक प्राविधिकले अस्वाभाविक रुपमा ट्राफिक बढेपछि समग्र सूचना प्रणाली पूर्वाधारको ब्याकएण्ड जोगाउन ट्राफिक रोक्न बाध्य भएको बताएका छन् ।

“हामीले जम्मै ट्राफिकलाई प्रणालीमा प्रवेश गर्न दिएका छैनौं । हिजोबाट मात्रै राष्ट्रिय परिचयपत्र प्रयोग गरेर मतदाता नामावलीमा नाम दर्ता गर्दा बायोमेट्रिक दिन जाननपर्ने व्यवस्था लागू भयो । जसका कारण नागरिकहरुको चासो ह्वात्तै बढ्यो,” ती प्राविधिकले भने, “हामीले अनुमान गरेभन्दा फरक परिस्थिति बन्यो । ट्राफिक निरन्तर बढ्दै गएसँगै अहिले हामीले ब्याकएन्डलाई स्टेबल बनाएका छौँ । सीमित सङ्ख्यालाई मात्रै प्रणाली भित्र छिरेर मतदाता नामावली दर्ता गर्न दिइरहेका छौँ ।”
केही समय धैर्य गर्दै एकचोटि इरर देखिए पुन: प्रयास गर्न नागरिकलाई राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागले आग्रह गरेको छ । सुधारको काम निरन्तर हुँदै गएकाले केही समयभित्रै प्रति सेकेन्ड १५ सय हाराहारी कनेक्सन्स धान्न सक्ने गरी काम भइरहेको ती प्राविधिकले जानकारी दिए ।
“पूर्वाधार अप्टिमाइजेसनको काम सँगसँगै चलिरहेको छ । हरेक घण्टा सुधार गर्दै, हामीले पनि सिक्दै काम गरिरहेका छौँ । चाप अत्यधिक आएपछि त्यसलाई सम्बोधन गर्नेगरी हाम्रो प्राविधिक टिम खटिरहेको छ । सबैले सहयोग गरिदिन अपिल गर्छौँ,” उनले भने ।
पछिल्लो अध्यावधिक: कात्तिक २८, २०८२ १७:९
टेकपानाबाट
प्रतिक्रिया दिनुहोस्