सिन्धुपाल्चोक, मेलम्ची । श्री इन्द्रेश्वरी माध्यमिक विद्यालयले विद्यालयमै नमुना किचेन गार्डेन स्थापना गरी विद्यार्थीलाई आफ्नै उत्पादनको अर्गानिक तरकारीबाट स्वस्थ दिवा खाजा खुवाउने अभियान सुरु गरेको छ ।
ईको बालक्लब, बाल सुरक्षा क्लब, प्राविधिक विषयका विद्यार्थी, शिक्षक, वि.व्य.सका प्रतिनिधि तथा विद्यालय समुदायको सक्रियतामा विद्यालयको खाली जग्गामा मौसमी तरकारीका विभिन्न प्रजाति रोपेर किचेन गार्डेन निर्माण गरिएको हो । फलामे टनेलमार्फत प्रयोगात्मक करेसाबारी, रोपाइँ, गोडमेल र संरक्षणका उपायबारे कृषि प्राविधिकले विद्यार्थीलाई प्रशिक्षणसमेत दिएका छन् ।
चाइल्ड रेस्क्यू नेपाल र साझेदारी नेपालको सहयोगमा सञ्चालन गरिएको यो कार्यक्रमलाई आगामी दिनमा अन्य विद्यालयसम्म विस्तार गरिने साझेदारी नेपालका सल्लाहकार पुरुषोत्तम घोरासैनी र कार्यक्रम अधिकृत पुष्पा भणरीले जानकारी दिनुभयो ।

विद्यालयको जग्गामा तयार भएको किचेन गार्डेनले बालबालिकाको पोषणस्तर सुधारमा टेवा पुग्ने अपेक्षा राख्दै यसको संरक्षणमा विद्यार्थी, शिक्षक र अभिभावकलाई परिचालन गरिने प्रतिवद्धता फोकल शिक्षक अमृत नगरकोटीले व्यक्त गर्नुभयो ।
विद्यालय परिसरभित्रै उत्पादन हुने अर्गानिक तरकारीलाई दिवा खाजामा प्रयोग गर्ने अभ्यासले विद्यार्थीलाई स्वावलम्बन, वातावरणीय शिक्षा र पोषणीय चेतना बढाउने विश्वास प्रधानाध्यापक देविप्रसाद श्रेष्ठ र शिक्षक जितबहादुर बस्नेतले व्यक्त गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्