२०८२ कार्तिक २

विद्युत अवरुद्धहुदा जनजीवन प्रभावित, माओवादी केन्द्रले प्राधिकरणलाई चेतावनीसहित बुझायो ज्ञापनपत्र

पाँचपोखरी, सिन्धुपाल्चोक | सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल, हेलम्बु, मेलम्ची र इन्द्रावती क्षेत्रमा विद्युत सेवा अवरुद्ध भइरहँदा स्थानीयवासी दैनिक कठिनाइ झेल्न बाध्य छन्। नेपाल विद्युत प्राधिकरण समस्या समाधानतर्फ गम्भीर नदेखिएको भन्दै नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) पाँचपोखरी थाङपाल गाउँपालिका समितिले हेलम्बु–मेलम्ची वितरण केन्द्रमार्फत प्राधिकरणलाई ज्ञापनपत्र बुझाएको छ।

पार्टी अध्यक्ष दिलबहादुर वाइबाको नेतृत्वमा बुझाइएको उक्त ज्ञापनपत्रमा विद्युत सेवा अव्यवस्था, ट्रान्सफर्मर मर्मतको ढिलासुस्ती, पोल तथा लाइनको कमजोर व्यवस्थापन, अघोषित लोडसेडिङको अन्त्य तथा दीर्घकालीन समाधानको माग गरिएको छ।

ज्ञापनमा पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाइएपछि समस्या झन चर्किएको उल्लेख गर्दै अध्यक्ष वाइबाले राज्यले जनताको आधारभूत सेवा र अधिकारप्रति उपेक्षा गरेको गुनासो गर्नुभयो। साथै, स्थानीय नेता लोकमान तामाङले समस्या समाधानका लागि पार्टी र स्थानीय सरकारको सहकार्यमा थप दबाब दिनुपर्नेमा जोड दिए।

ज्ञापन बुझाउने क्रममा पालिका इन्चार्ज अर्जुन लोप्चन, सचिव रमेश शेर्पा, नेता प्रेम पुरीसहित स्थानीय नेताहरूको उपस्थिति थियो।

विद्युत प्राधिकरणका प्रतिनिधिले भने सीमित स्रोत र अन्य स्थानबाट लाइन तान्दै सेवा पुर्‍याउनु परेकाले समस्या भएको प्रतिक्रिया दिएका छन्। माओवादी केन्द्रले तत्काल समाधान नभए चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा गर्ने चेतावनी पनि दिएको छ।

प्रतिक्रिया दिनुहोस्