२०८१ श्रावण १२
                           

विकृति र चेतना

-सुमन बुढाथोकी

अनैतिक, अमर्यादित र अविवेकी चुनावी प्रकृयाले निर्माण गर्ने शासन व्यवस्थामा संस्कृति हुर्किन्छ कि विकृति? सबैलाई थाहा छ। तर संसारभरि नै चुनावमा पैसाको चलखेल देखिएकै हो भनेर यसलाई सामान्य रुपमा लिइनु आफैँमा घातक हुन्छ। सबैको आदर्श हुन्छन्- परिस्कृत राजनीतिक चेतना, कुशल नेतृत्व क्षमता, सफा सामाजिक सम्बन्ध र यथार्थपरक योजना भएका उम्मेदवार। तर, सधैँ जस्तै दलहरूले खुलेआम टिकट बेच्ने गरेको देखिन्छ जसले गर्दा लामो समयदेखि राजनीतिक व्यवहारमा सकृय व्यक्तिहरू छायाँमा पर्छन्। हरेक कुरामा मुनाफा खोज्ने उद्योगपति, विकासको बारेमा अनविज्ञ ठेकेदार, कानुन मिच्ने पेसेवर माफिया, फौजदारी अपराधमा सँजाय भोगिरहेका कैदी, तथा भ्रष्टाचारी पृष्ठभूमि भएका मानिसहरूको धमाधम सिफारिस एवं उम्मेदवारीको चर्चा हुन थालेको छ।

यस्तो अवस्थामा संस्कृति र विकृतिको चर्चा गर्नुपर्ने हुन्छ।

 

लोकतान्त्रिक व्यवस्थामा राजनीतिक चेतना र संस्कृति महत्वपूर्ण अंग हुन् जसले नागरिक हुनुको औचित्य स्थापित गर्छन् र सरकारको प्रभावकारीता कस्तो छ, देखाउँछन् । बृहद अर्थमा, राजनीति र नागरिकको बीचमा हुने अन्तरसम्बन्धको बुझाइ नै राजनीतिक चेतना हो र निश्चित समाज र समयमा राजनीतिक कार्य/व्यवहार कसरी सञ्चालनमा रहेका छन् भन्ने कुरा चाहिँ राजनीतिक सँस्कृति हो। लोकतान्त्रिक संस्कृतिको मुख्य विशेषताहरु हुन् – हरेक कार्यमा नागरिकप्रति जवाफदेहीता, निर्णयमा पारदर्शिता र कानुनको निःशर्त पालना। यस दृष्टिले राजनीतिक दल र सरकारको व्यवहारमा नेपालको लोकतान्त्रिक संस्कृति कस्तो छ भन्ने कुरा छर्लङ्ग हुन्छ। चेतना कमजोर छ भने विकृति सामान्य रुपमा मौलाउन थाल्छ। चेतना र विकृति सम्बन्धित छन्। नेपालमा सरकारहरूले इमानदारिता साथ काम नगर्ने, सार्वजनिक सम्पत्ति र कानुनको दुरुपयोग गरी निजी स्वार्थ सिद्धि गर्ने र नागरिकको हितप्रति चरम हेलचेक्र्याई गर्ने सामान्य अवस्था रहेको दशकौँ भएको छ। यो संस्कृति होइन, विकृति हो। यस्तो अनैतिक र खराब अवस्थालाई लामो समयदेखि नेपाली नागरिकले चुपचाप अनुमोदन गर्दै आएको देखिन्छ। किन होला? चेतना कमजोर भएकोले? या विकृतिलाई नै संस्कृतिको रुपमा स्थापित गरिएकोले? नेताहरूले मनपरी बोल्ने र मनपरी गर्ने अनि नागरिक हाँसेर मात्र हेर्ने अवस्था विकृति हो।

 

नागरिकको राजनीतिक चेतना यथार्थपरक र सकृय छ भने सत्ताको राजनीतिक व्यवहारले मनपरी गर्न नसक्ने हुन्छ। त्यसैले कुन सार्वजनिक व्यक्तिले के भन्छ र के गर्छ भन्ने कुरामा सबैको विचार सकृय हुनुपर्छ। कुन नेताले कस्तो कुकर्म गरेको छ या सुकर्म गरेको छ भन्ने राम्रो जानकारी लिनुपर्छ। साथै, सत्ताको राजनीतिक विचारधाराले आफ्नो व्यवहारको औचित्य पुष्टि गर्ने उद्देश्यले नागरिकको विचारधारालाई सदैव आफू अनुकूल प्रभावित गरिरहेको हुन्छ- मिडिया र समर्थकको बलमा। यो स्वभाविक प्रकृया हो। त्यसैले को कस्तो छ बुझेर व्यवहार गर्नुपर्ने हुन्छ। यो बुझाइ भएन भने फटाहा र गँवार नेताहरूले आफ्नो घृणित खेल खेलिरहन पाउँछन्। यस्तो छुट दिने अवस्था अब हुनु हुँदैन।

 

राजनीति नागरिकको दैनिक जीवन र भविष्य समेतको निर्धारण गर्ने व्यवहार हो। राजनीतिले नागरिकको दैनिक आवश्यकता र व्यवहारलाई नियन्त्रण र नियमन गर्ने कानुन, नीति र कार्यक्रमको निर्माण र कार्यान्वयन गर्ने व्यवहार भएकोले राजनीतिले हरेक नागरिकको जीवनस्तर र भाग्य निर्धारण गर्छ। राजनीतिबाट कानून बन्छ जसमार्फत नागरिकको वास्तविक यथार्थ निर्धारित हुन्छ । त्यसैले असक्षम मान्छेहरु कानुन बनाउने ठाउँमा पुगे भने नागरिकलाई सदैव घातक हुन्छ। यस्ता घातक तत्वहरूलाई महत्वपूर्ण स्थानमा पुर्‍याउने निर्णय प्रकृया हो चुनाव। त्यसैले चुनावमा सचेत नागरिकको अन्ततः व्यवहार प्रकट हुनुपर्छ। यो व्यवहार अन्ततः नागरिकको निर्णय क्षमतामा आधारित रहेको हुन्छ। यो निर्णय क्षमता मात्र होइन, यो खासमा प्रकृया पनि हो र प्रकृयालाई विभिन्न तत्वले प्रभाव पार्छन्। सकृय कार्यकर्ताको अग्रदस्ताले दूरदराजमा सत्ताले सृजना गरेको अभावबाट ग्रसित नागरिकलाई मासु र रक्सी, बासी आश्वासन, तथा डर/धम्कीको सौजन्यले झुक्याउने पुरानै खेल हुन्। यसमा बत्तिने अभिशप्त वजनहीन चेतनाको समस्या पनि पुरानै हो। यसलाई बदल्ने प्रगतिशील भनिने शक्तिको संसदीय आमोदप्रमोदको कहानी पनि थोत्रो भैसकेको अवस्थामा दैलोमा आएको चुनावमा विकृति र चेतनाको प्रहसनमा कुन चाहिँले बाजी मार्ने हो भन्ने प्रश्न पनि पुरानै हो! मात्र अपेक्षा नयाँ छ।

प्रतिक्रिया दिनुहोस्