नेपाल र चीनबीचको स्थलमार्ग तातोपानी नाका जोड्ने सडकस्थित लार्चामा बेलिब्रिज राखिएको छ । तातोपानी जोड्ने बाह्रबिसे–तातोपानी (२६ किलोमिटर) सडक खण्डको लार्चामा शनिबार बेलिब्रिज जोडिएको हो ।
बाढीले लार्चाको पुल बगाएपछि ह्युमपाइप राखेर जोखिमपूर्ण सडक सञ्चालन गरिएको थियो। पुल हालिएपनि सञ्चालनमा भने ल्याइएको छैन । पुल हप्तादिनपछि सञ्चालनमा ल्याइने चरिकोट सडक डिभिजन कार्यालयका सूचना अधिकारी इन्जिनियर सुरज महर्जनले बताए । उनकाअनुसार अहिले पुल फिनिसिङ भएर जोडिएको मात्रै छ ।
कार्यालयका अनुसार प्राप्त ठेक्का समय डेढ महिनाभित्रै एक करोड ७० लाख बजेटमा ५४ मिटर लामो बेलिब्रिज जडान गरिएको हो।सोवर्ण निर्माण सेवा र क्रियटिभ कन्स्ट्रक्सन एन्ड सप्लायर्सले बेलिब्रिज तयार पारेका हुन् । जेठ अन्तिममा फिनिसिङको काम सकेर सडक डिभिजनलाई हस्तान्तरण गरिने लक्ष्य राखिएको चरिकोट सडक डिभिजन कार्यालयले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्