२०८१ जेष्ठ ६

लविद्युत आयोजनाको काम सुस्त गतिमा

लविद्युत आयोजनाको काम सुस्त गतिमा

चौतारा – जिल्लामा निर्माणाधीन १९ जलविद्युत आयोजनाको काम सुस्त गतिमा रहेको पाइएको छ । स्थानीयको अवरोध र राजनीतिक खिचातानीले विद्युत खरिद सम्झौता (पिपीए) सम्पन्न भएका जलविद्युत आयोजनाले काममा प्रगति गर्न नसकेका हुन् ।
जिल्लामा सबैभन्दा बढी हाइड्रोपावर कम्पनी सञ्चालनमा रहेको जुगल गाउँपालिकामा केही अवाञ्छित गतिविधिमा संलग्न तत्वहरुको अमूर्त मागका कारण विद्युतका लगानीकर्ता हच्किएको व्यवसायी रेशम स्याङ्बोले बताए । ‘लगानीकर्ताको मनोवल बढाउन सरकारले सुरक्षा व्यवस्थामा ध्यान दिनुपर्ने खाँचो छ,’ उनले भने ।
ब्रम्हायणी नदी (बलेफी खोला) करिडोरमा १४ जलविद्युत आयोजना निर्माणको क्रममा रहेका छन् । जसमध्ये जुगल गाउँपालिकामा १३ जलविद्युत आयोजना छन् । गाउँपालिकाभित्र अपर ब्रम्हायणी १५ मेगावाट, इन्टिग्रेटेड हाइड्रो ३५ मेगावाट, बलेफी हाइड्रोपावर लिमिटेड ४६ मेगावाट, बिजी हाइड्रोपावर प्रालि ३५ मेगावाट, अपर बलेफी हाइड्रोपावर लिमिटेड ३६ मेगावाट पिपीए भएर निर्माणको क्रममा छन् । सबैभन्दा बढी काम गरेको अपर बलेफीले ७० प्रतिशत काम सकेको छ ।
त्यसैगरी ग्रिनभेन्चर पावर लिमिटेड २३.५ मेगावाट, मुनलाइट हाइड्रो २२ मेगावाट, याम्बालिङ हाइड्रो ७.८ मेगावाट, घट्टेखोला साना जलविद्युत आयोजना ९७० किलोवाट, राइजिङ हाइड्रो, ९९० किलोवाट, सेवा हाइड्रो प्रालि १.५ मेगावाट, सिन्धुज्वाला हाइड्रोपावर लिमिटेड ६५ मेगावाट र ४३ मेगावाट क्षमताको लोअर नेशम हाइड्रोपावर लिमिटेडले निर्माणको कामलाई सशक्त रुपमा अगाडि बढाउन सकेका छैनन् । जुगलकै वडा नं. ५ मा युनिक हाइडेल ४.२ र ३.२ मेगावाट क्षमता भएको गेलुङखोला हाइड्रोपावर प्रालिले उत्पादन सुरु गरेका छन् । ट्रान्समिशन लाइनमा स्थानीयको विरोधले गेलुङखोला हाइड्रोबाट उत्पादित विद्युत केन्द्रीय प्रशारणमा जोड्न समस्या परेको छ । ब्रम्हायणी नदीको बलेफी खण्डमा २० मेगावाट क्षमताको वेलकम इनर्जीले निर्माणको कामलाई अघि बढाएको छ । चौतारा साँगाचोकगढी नगर र इन्द्रावती गाउँपालिकाको सीमामा रहेको २.४ मेगावाटको झ्याँडिखोला जलविद्युत आयोजनाले बिजुली उत्पादन सुरु गरेको छ ।
यता सुनकोसी करिडोरमा पाँच जलविद्युत आयोजनाले कामलाई निरन्तरता दिएका छन् । तर, सोचेजस्तो प्रगति छैन । १०२ मेगावाट क्षमताको जिल्लाकै सबैभन्दा ठूलो जलविद्युत आयोजना मध्यभोटेकोसीको काम नै सुस्त गतिमा छ । ६५ मेगावाटको कालिका हाइड्रोपावर लिमिटेडले बाह्रबिसेका स्थानीयको अवरोधका कारण काम सुरु नै गर्न सकेको छैन ।
त्यसैगरी भोटेकोसीसँग जोडिएको चाकुखोलामा निर्माणाधीन २२.२ मेगावाटको शिवश्री हाइड्रोपावरले निर्माणलाई अन्तिम चरणमा पुर्याएको छ । लाफिङ बुद्ध हाइड्रोपावर लिमिटेडको मध्यचाकु, अपरचाकु र लोअरचाकु क्रमशः १.५, २.४ र १.५ मेगावाट क्षमताको विद्युत कम्पनीले पनि काममा प्रगति गरेको छैन । भोटेकोसीको माथिल्लो खण्डमा रहेको १५ मेगावाटको लिपिङखोला जलविद्युत आयोजनाले पनि निर्माणलाई गति दिनसकेको छैन । सुनकोसी करिडोरमा ०३२ मा स्थापना भएको नेपाल विद्युत प्राधिकरणअन्तर्गतको सुनकोसी विद्युत गृहको १०.५ मेगावाट, भैरबकुण्ड हाइड्रोपावर ३ मेगावाट, सानिमा हाइड्रो २.४ मेगावाट र भर्खरै पुनर्निर्माण सकेर माथिल्लो भोटेकोसीले ४५ मेगावाट विद्युत उत्पादन गरिरहेका छन् ।
यता इन्द्रावती करिडोरमा दुई आयोजनाले विद्युत उत्पादन गरिरहेका छन् । नेशनल हाइड्रोपावर लिमिटेड ७.५ मेगावाट र हाँडिखोला जलविद्युत आयोजनाले ९९० किलोवाट विद्युत उत्पादन गर्छन । लामो समयदेखि सिन्धुपाल्चोकको विद्युत क्षेत्रमा काम गरिरहेका ओभरसियर चेतनाथ नेपालका अनुसार जिल्लामा हाल ८० मेगावाट विद्युत उत्पादन हुन्छ । पाँच सय ६२ मेगावाट विद्युत उत्पादनका लागि हाइड्रोपावर कम्पनीले काम सुरु गरेका छन् । याङ्री र लार्के खोलाको पानी राजधानी ल्याउने भएपछि इन्द्रावती करिडोरमा निर्माणको क्रममा रहेका दुई हाइड्रोपावर कम्पनीलाई भने सरकारले खारेज गरेको छ ।

प्रतिक्रिया दिनुहोस्