रामकृष्ण थापा -चौतारा साँगाचोकगढी नगरपालिकाले आर्थिक अवस्था कमजोर भएका समुदायलाई निःशुल्क सवास्थ्य बिमा कार्यक्रम ल्याएको छ। ०७९ मा निर्वाचित भएलगत्तै नगरप्रमुख कृष्णप्रसाद सापकोटाले आर्थिक तथा व्यावहारिक कारणले स्वास्थ्योपचारबाट वञ्चित समुदायका लागि निःशुल्क बिमा गर्ने घोषणा गरेका थिए । निःशुल्क बिमा कार्यक्रमबाट नगरभित्रका कमजोर वर्ग लाभान्वित हुनेछन् ।
प्राथमिकताका आधारमा लाभग्राही छनोट गरिएको नगरपालिका जनस्वास्थ्य शाखा अधिकृत दिनेश नेपालले जानकारी दिए । नेपालका अनुसार जनयुद्ध र जनआन्दोलनमा घाइते ४० जना, सहिद तथा बेपत्ता परिवार करिब ७० जनाले निःशुल्क बिमा पाउनेछन् । दोस्रो प्राथमिकतामा दीर्घरोगी, सबै प्रकृतिका अपांग–अशक्त र महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकालाई बिमा उपलब्ध गराइनेछ ।
नगरभित्र यस्ता समुदायमा करिब दुई सय मानिस छन् । दीर्घरोगीलाई औषधोपचारका लागि थप १५ हजार दिने नीति छ । त्यसैगरी, तेस्रो प्राथमिकतामा दलित परिवार, सीमान्तकृत समुदायमा माझी, दनुवार र पहरी, ६० वर्षमाथिका ज्येष्ठ नागरिक र नगरभित्र रहेका खेलाडी परेका छन् । खेलाडीको हकमा निश्चित मापदण्ड बनाएर बिमा गरिने नीति छ । गत महिना सम्पन्न १६औँ नगरसभाले अत्यावश्यक समुदायका मानिसलाई निःशुल्क स्वास्थ्य बिमा गर्ने नीति पारित गरेको हो ।
स्वास्थ्य बिमाका लागि नगरले ५० लाख विनियोजन गरेको छ । हरेक वर्ष बिमा रकम बढाउँदै जाने र विपन्न वर्गलाई मापदण्डअनुसार समेट्दै लाने नीति लिएको नगरप्रमुख सापकोटाले बताए । संविधानले निर्दिष्ट गरेको मौलिक अधिकारलाई स्थानीय सरकारले संरक्षण र मजबुत पार्ने नीति लिएको बताउँदै उनले भने, ‘स्वास्थ्योपचारमा पहुँच नपुग्ने वर्गलाई क्रमशः निःशुल्क स्वास्थ्य बिमा गरिनेछ ।’ नगर सरकारले गाउँघर क्लिनिक, स्वास्थ्य शिविर, नेपाल आँखा अस्पताल त्रिपुरेश्वरकाे सहयोगसहित साँगाचोक भञ्ज्याङमा आँखा अस्पताल, फिजियोथेरापी र ब्लड बैंक स्थापना गर्ने तयारी पूरा गरेको छ ।
प्रतिक्रिया दिनुहोस्