२०८१ चैत्र ११
                           

नगरबासीको स्वास्थ्यमा सम्वेदनशील मेयर सापकोटा, चलाउदै १० दिने अभियान

चौतारा साँगाचोकगढी नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा पाठेघरको मुखको क्यान्सर सम्बन्धि प्रारम्भिक जाँच एवं मोतियाविन्दु (आँखा सम्बन्धि ) १ दिने स्वास्थ्य शिविर वडा नं ७ स्थित सानोसिरुवारी स्वास्थ्य चौकीमा सम्पन्न भएको छ ।

उक्त शिविरमा १ सय ६३ जना वडाबासिहरुले सेवा लिएका छन् । जसमध्ये महिला १ सय २५ जना र पुरुष ३८ जना रहेका छन् । शिविरमा ६५ जना महिलाहरुको पाठेघरको मुखको परिक्षण गरिएको थियो । आँखा परीक्षणमा १६ जनालाई मोतियाविन्दु भएको पाइएको जनस्वास्थ्य अधिकृत दिनेश नेपालले जानकारी दिनुभयो ।

यसै सन्दर्भमा चौतारा साँगाचोकगढी नगरपालिकाका मेयर कृष्ण प्रसाद सापकोटाले मोतियाविन्दु भएकाहरुलाई नगरपालिकाले आयोजना गर्न लागेको निशुल्क मोतियाविन्दु शल्यक्रिया शिविरमा सेवा लिन आग्रह गर्नुभएको छ । मेयर सापकोटाले यस्तै शिविर अन्य वडाहरुमा पनि क्रमश सञ्चालन गर्ने जानकारी दिनुभयो । नगरपालिकाको सबै वडाहरुमा शिविर हुने भएकाले सेवा लिन नगरबासीलाई अनुरोध समेत गर्नुभयो ।

नगरपालिकाले फागुन १५ गतेदेखि क्रमश प्रत्येक वडाको तोकिएको स्वास्थ्य संस्थाहरुमा निशुल्क स्वास्थ्य परिक्षण शिविर सञ्चालन गर्ने भएको छ ।
नगरपालिकाको स्वास्थ्य शाखाको आयोजनामा वडा नं ११ भीमटार आधारभूत स्वास्थ्य सेवा केन्द्र, फागुन १६ गते वडा नं ८ इर्खु स्वास्थ्यचौकी, फागुन १७ गते वडा नं ६ स्थित वडाकार्यलयमा पाठेघरको मुखको क्यान्सर सम्बन्धि प्राथामिक जाँच एवं मोतियाविन्दु आँखा सम्बन्धि निशुल्क शिविर हुने जनस्वास्थ्य अधिकृत नेपालले बताउनुभयो ।

उहाँका अनुसार फागुन १८ गते वडा नं १ स्याउले स्वास्थ्यचौकी, फागुन १९ गते वडा नं ३ बतासे स्वास्थ्यचौकी , फागुन २० गते वडा नं २ बतासे आधारभुत स्वास्थ्य सेवा केन्द्र, फागुन २१ गते वडा नं १० जल्किने स्वास्थ्यचौकीमा शिविर हुनेछ ।
उक्त शिविरमा पहिचान भएका मोतियाविन्दु विरामीहरुलाई नगरपालिकाको आयोजना र नेपाल आँखा अस्पताल त्रिपुरेश्वरको प्राविधिक सहयोगमा फागुन २०,२१ र २२ गते निशुल्क शल्यक्रिया गरिने मेयर सापकोटाले बताउनुभयो ।

 

प्रतिक्रिया दिनुहोस्