गौरी प्रधान- भाषा भनेको सम्पर्क र सूचनाको माध्यम हो । मानव, जीवजन्तु र प्रकृति बीच भावना वा विचार संचार गर्ने माध्यम नै भाषा हो।भाषा त्यो माध्यम हो जसको आधारमा हामीले आफ्नो सोच र विचारहरूलाई अभिव्यक्त गर्छौं र त्यसको निम्ति जुन पारिभाषित ध्वनिहरूको उपयोग गर्छौं ती सबै मिलेर एउटा सम्पूर्ण भाषाको निर्माण हुन्छन् ।
भाषा भन्ने कुरा समाज, संस्कृति, आचार, विचार, व्यवहार आदिलाई व्यक्त गर्ने उत्तम उपाय पनि हो । प्रायः भाषाको उत्पति, विकास र विस्तारमा विभिन्न कुराहरुले प्रभाव पारेको हुन्छ । भाषाको बोली, लवज र शैलीमा सधैंभरी उत्पतिकै स्वरुप मात्र अस्तित्वमा रहिरहेको हुँदैन । भाषामा उत्पतिको ध्वनी अर्कोमा सचार हुंदा अलिकति फरक हुन सक्छ । यदि कुनै पनि भाषाको स्वरुप उत्पतिको अवस्थामा मात्र सिमित रहिरह्यो भने त्यसको समयानुकुल संरक्षण र सम्वर्द्धन हुन सक्दैन। यसलाई जति सक्यो त्यति सहज बनाएर बोल्न लेख्न र प्रयोग गर्न सिकाउन पर्दछ । अन्यथा, इतिहासका थुप्रै संवृद्ध भाषाहरू कालान्तरमा विलाउँदै गएको भेटिन्छन् ।
उदाहरणको निम्ति पश्चिमा मुलुकहरुमा जसरी ल्याटिन, मध्यपूर्वमा फारसी र दक्षिण पूर्वमा संस्कृत, ब्राम्ही र पाली भाषाहरूको प्रयोग बिस्तारै बिलाएर गयो, त्यो नियत कुनै पनि भाषामा लागु हुन सक्छ । मुख्य कुरा भाषासँग भाषीको सम्बन्ध कस्तो छ भन्ने नै हो । आज संसारभरि नै अंग्रेजी, चिनियाँ, फ्रान्सेली, अरबी र स्पेनी, भाषाहरू आ-आफ्नो क्षेत्रमा मात्रै नभएर अन्तराष्ट्रिय भाषाको रुपमा बोलिने गरेका छन् ।
ति भाषाहरू यस कारण पनि जीवित र विकसित छन् कि तिनीहरुलाई सबै भाषा-भाषीहरुले कुनै न कुनै रुपमा अङ्गीकार गर्ने गरेका छन् । उदाहरणको निम्ति अंग्रेजी भाषा संसार भरी नै बोलिन्छ, त्यो भाषा बोल्ने संसारभरि कै मानिसहरुको लवज एउटै नभएर फरक फरक हुने गर्दछ । त्यसैले, अंग्रेजी भाषालाई बेलायती अंग्रेजी, अमेरिकी अंग्रेजी, अस्ट्रेलियाली अंग्रेजी, भारतीय अंग्रेजी, चिनियाँ अंग्रेजी, अफ्रिकी अंग्रेजी र अरबी अंग्रेजी भनेर वर्गिकृत गर्ने गरिन्छ । हाम्रो देशको सरकारी कामकाजको नेपाली भाषा बोल्दा पनि विभिन्न ठाउँमा फरक फरक किसिमको लवज आउनु, त्यो स्वाभाविक नै छ । वास्तवमा, भन्ने हो भने भाषाको संरक्षण र सम्वर्द्धन नै त्यसको सहभागितामूलक प्रयोगमा हुने गर्दछ । आज जुन स्वरुपमा हामी
नेपाली भाषा बोल्छौं, त्यो यसको मौलिक स्वरुप कदापी पनि होइन । यो कालान्तरमा परिवर्तन हुँदै जाने विषय हो ।नेपाली भाषा एक आर्य भाषा हो जुन नेपाल, भारत, सिक्किम, दार्जिलिङ र म्यानमारको पर्वतीय क्षेत्रमा बोलिन्छ। यो नेपालको सबैभन्दा व्यापक रूपमा बोलिने भाषा हो, जहाँ यसले सम्पर्क भाषाको रूपमा आधिकारिक काम गर्दै आएको छ ।
प्रारम्भमा, यो भाषा १०औँ र १४औँ शताब्दीको आसपासमा खस राज्यको राजधानी कर्णाली प्रदेशको सिन्जा उपत्यकामा उत्पत्ति भएको मानिन्छ । त्यसपछि, क्रमश: यो खस भाषाबाट पर्वते भाषा, गोर्खाली भाषा र नेपाली भाषाको रुपमा विकसित हुँदै आएको हो । प्रारम्भमा, खस भाषाका शब्दहरु थोरै मात्र थियो, तर क्रमश: यो भाषामा संस्कृत भाषाबाट आयातित तत्सम र तत्भव शब्दको कारण यसको शब्द भण्डारमा वृद्धि भएको हो ।
त्यस्तै, फारसी, हिन्दी, मैथली, भोजपुरी, बज्जिका, नेपाल भाषा इत्यादि भाषाका आगन्तुक शव्दहरुले नेपाली भाषाको शब्द भण्डारमा ठुलै प्रभाव पारेको छ । त्यस्तै, नेपाली ऐन-कानूनमा प्रयोग हुने अधिकांश शब्दरु जस्तै, दरखास्त, तारेख, अदालत, वकिल, श्रेस्तेदार, खरिदार, बहिदार, इजलास, मिसिल, पूर्जी, भर्पाइ आदि शब्दहरु उर्दू र फारसीबाट लिइएका आगन्तुक शब्दहरु हुन् ।
जब यो भाषा, खस, पर्वते, गोर्खे हुँदै नेपाल मण्डलमा प्रवेश गर्यो, त्यसपछि, यस क्षेत्रका किरात (नेवार, तामाङ, गुरुङ, राई, मगर, लिम्बू आदि) समुदायको भाषाहरूले पनि यो भाषाको विकासमा महत्वपूर्ण योगदान पुर्याएको छ । उदाहरणको निम्ति नेपाल भाषाका शब्दहरु झ्या: बाट झ्याल, पस: बाट पसल, ज्या:स बाट ज्यासल आदिबाट नेपाली भाषाको शव्द निर्माण भएको स्पष्ट छ । त्यस्तै अन्य च्यांग्रा, राडी, टोङ्वा, चुम्लुङ जस्ता शब्दहरु पनि विभिन्न आदिवासी भाषाबाट आएका आगन्तुक शब्दहरु हुन् ।
आज नेपाली भाषा जुन किसिमले संवृद्ध बन्दै गएको छ, त्यसमा देशका थुप्रै राष्ट्र भाषाहरूको पनि महत्वपूर्ण योगदान रहेको छ । देशमा संघिय लोकतान्त्रिक गणतन्त्रको स्थापना पछि अरू राष्ट्रिय भाषाका साहित्यबाट नेपाली साहित्यमा शब्दहरूको भण्डार थप्दै आएको छ । नेपाल भाषाको ज्व ज्व लपा, तारेमाम, लिम्बू भाषाको सेवारो, माङगेना, तामाङ भाषाको फ्याफुल्ला, लास्सो आदि जसो अभिवादनका शब्दहरु यसैका उदाहरण हुन् । यस्ता थुप्रै शब्दहरु विभिन्न मातृभाषाबाट आएका छन् ।
आजको नेपाली भाषाको झण्डै ९०००० शब्द भण्डारमा यी नै आदिवासी जनजातिका मातृभाषाहरू र अन्य भाषाहरूको आगन्तुक शब्दको कारण संवृद्ध भएका हुन् । यदि आदिवासी भाषाहरूको त्यो महत्वपूर्ण योगदानलाई बिर्सेर उल्टै उनीहरुले नेपाली भाषा शुद्ध संग बोल्न नजानेको भनेर हेप्न थाल्यो र खिसी टिउरी गर्न थाल्यो भने त्यसले हाम्रो राष्ट्रिय एकतामा पनि भाँजो हाल्ने कुरा सुनिश्चित छ ।नेपाली भाषा बोल्दा नेवार, मधेसी, राई, लिम्बू, गुरुङ, तामाङ, शेर्पा, लामा, थारु आदिहरुको आ-आफ्नै स्वर र शैली हुन्छन् , त्यसलाई अन्यथा मान्नु गलत कुरा हो ।
हिजोका दिनमा, खासगरी श्री ५ र श्री ३ हरुको निरंकुश शासन कालमा हाम्रो देशमा एक राष्ट्र, एक राजा, एक भाषा, एक भेषको प्रतिगामी सोचले देशका अनेकन भाषा, भाषी, संस्कृति र सभ्यताको विनास भएको जग-जाहेर छ । विविधतामा एकताको अवधारणाको सट्टा “अनेकतामा एकता” को नामले हिजोका दिनमा देशका विभिन्न जाति (Nations) र तिनका भाषा र संस्कृतिलाई विनास गरेको कुरा अब दोहर्याइरहन पर्दैन होला । अनेकतामा एकता एक मिश्रण हो भने विविधतामा एकता पहिचान हो ।
एउटा लड्डुमा मिसाएको मिश्रण जस्तो हुन् भने अर्को इन्द्रेणीको रंग जस्तो पहिचान हो । विगतमा भएका अनेकन संघर्ष, आन्दोलन र क्रान्तिको कारण, खासगरी लोकतन्त्र र गणतन्त्र स्थापनाले देशका १२५ जातीका १२३ भाषाहरू (भाषा आयोगले पछि अनुसन्धान गरि संकलन गरेका ८ सहित २३१)ले बिस्तारै मौलाउने अवसर पाएका छन् । उनीहरुको भाषा, संस्कृति र सभ्यताले पुनर्जीवन र पहिचान शुरु भएको छ । यो आम नेपालीको निम्ति गौरव र खुसीको कुरा हो ।
आज देशका सबैजसो जात-जाती र समुदायहरूले देशको सम्पर्क भाषा अर्थात सरकारी कामकाजको नेपाली भाषा प्रयोग गर्छन् । स्थानिय तहमा विभिन्न जात-जाति र समुदायहरूको मातृभाषा अर्थात राष्ट्र भाषाहरूको पनि संगसंगै विकास र संरक्षण हुन आवश्यक छ । हाम्रो देशमा बोलिने मातृभाषा अर्थात राष्ट्र भाषाहरू जति धेरै संरक्षित र संवर्द्धित हुन्छन् त्यति नै धेरै सम्पर्क भाषा अर्थात सरकारी भाषाको रुपमा नेपाली भाषाको पनि श्री वृद्धि हुँदै जाने छ।
अन्य मातृभाषा वा राष्ट्र भाषाहरूलाई दबाएर कुनै पनि देशको राष्ट्रिय भाषा वा सम्पर्क भाषा अगाडि बढ्न सक्दैन । वास्तवमा, राष्ट्रिय भाषा र राष्ट्र भाषाहरूको अन्योन्याश्रित सम्बन्ध हुने गर्दछ । उनीहरुले एकअर्काको विकास र सम्बृद्धिमा ठूलो योगदान गरेका हुन्छन् र त्यो प्रकृया निरन्तर अगाडि बढाउन पर्दछ ।
वर्तमान अवस्थामा हाम्रो सम्पर्कको भाषा वा सरकारी कामकाजको भाषा भनेको नेपाली भाषा नै हो । यो भाषाको संरक्षण, सम्वर्द्धन र श्री बृद्धिमा देशको विकास पनि निर्भर रहेको हुन्छ । तर अन्य राष्ट्र भाषाहरूको मुल्यमा कसैले एउटै मात्र नेपाली भाषाको संरक्षण र सम्वर्द्धन गर्नु पर्छ भन्ने तर्क राख्दछ भने, त्यो कुतर्क र आत्मघाती कुरा हुन जानेछ ।
पछिल्लो चरणमा, नेपाल भाषा र नेपाली भाषाका उदयमान कलाकार कुमा सागरले गाएको गीतको बोलीलाई लिएर आम संचारको माध्यम र सामाजिक सञ्जालहरुमा जुन खिसी टिउरी भएको छ, त्यसलाई लिएर जनमानसले व्यापक विरोध गरेको छ । हुन त सम्वन्धित व्यक्तिहरुले त्यो आफ्नो मनसाय नभएको भनी माफी पनि मागी सकेको छ ।
यस्ता कुराहरु विगतमा पनि अनेकन चोटि भएका थिए । यस्तै कारणले गर्दा हाम्रो देशमा धेरै भाषीहरुले आफ्नो मातृभाषा बोल्न छाडेका उदाहरणहरु रहेका छन् । त्यसमाथि गलत सरकारी नीतिको कारण थुप्रै आदिवासी जनजातिहरुले आफ्ना सन्तानहरूलाई आफ्नो मातृभाषा बोल्न नसिकाएर त्यसलाई परित्याग गरि घर, समुदाय, विद्यालय र सरकारी कार्यालयमा नेपाली भाषा मात्र प्रयोग गर्न वाध्य गरेको थियो ।
जस्को कारण गैर-नेपाली भाषा बोल्ने स्थानीयहरुले न आफ्नो मातृभाषा संरक्षण गर्न सके न नेपाली भाषालाई नै शुद्ध र बलियो संग पकड्न नै सक्यो । सायद, देशका सरकारी कार्यालयहरुमा गैर-नेपाली भाषा समुदायको न्यून उपस्थित हुनाको अनेकन कारणहरु मध्ये यो पनि एक हो ।
जहाँ सम्म बोल्ने भाषामा शुद्ध शब्द उच्चारण हासिल गर्ने सवाल छ, त्यो महत्वपूर्ण कुरा भएता पनि एक सापेक्ष कुरा हो । नेपाली भाषी वाहेक जो सुकैले नेपाली भाषा बोल्दा उसको बोली, शैली र लवजमा उसले बोल्ने मातृभाषाको प्रभाव पर्नु स्वभाविक र सामान्य कुरा हो ।
त्यतिमात्रै होइन, नेपाली भाषिक समुदायहरूले बोल्ने नेपाली भाषा पनि ठाउँ, बस्ती र समुदाय अनुसार फरक फरक हुने गर्दछ । पहिले पहिले पश्चिम तिरको खस भाषा बोल्दा अन्य क्षेत्रका नेपाली भाषीहरुले खिसी टिउरी गर्ने चलन थियो । जुन कुरा वास्तवमै गलत कुरा थियो । हाल आएर, पश्चिमेली भाषामा प्रयोग हुने ‘ढोग दिया’ जस्ता शब्दले नेपाली भाषाका गीत, बोली-चाली र व्यवहारमा स्थान लिन थालेको छ ।
जहाँसम्म, नेपाली भाषाको बोली र लवजको कुरा छ, त्यो भाषा बोल्ने सबै नेपालीहरुको एकै किसिमको छैन । मूल रुपमा नेपाली भाषा बोल्ने भाषीहरुले पनि पूर्वमा एक किसिमले, पश्चिममा अर्को किसिमले, कर्णालीमा एक किसिमले डडेल्धुरामा अर्को किसिमले बोल्ने गरेको सबैलाई थाहा छ । त्यसमा भूगोल, समय, क्षेत्रीय भाषाहरु आदिले पनि ठूलो प्रभाव पारेको हुन्छ । प्राचार्य बालकृष्ण पोखरेलका अनुसार नेपाली भाषाका पाँचवटा क्षेत्रीय भेदहरू रहेको छ: १. पूर्वेली, २. माझाली, ३. ओरपश्चिमा, ४. मझपश्चिमा, र ५. परपक्श्चिमा ।
त्यही भाषा नेवार, तामाङ, मगर, थारु भाषिक समुदायहरूले एक किसिमले र गुरुङ, शेर्पा, राई लिम्बुहरूले अर्को किसिमबाट बोल्ने गर्दछ। त्यस्तै, देश बाहिर भारतको सिक्किम, दार्जिलिङ, मणिपुर, आसाम, मेघालयमा एक किसिमले र म्यानमार, बैंकक तिर अर्को किसिमले बोल्ने गर्दछ । नेपाली भाषाका विभिन्न भाषिकाहरू छन्। यसलाई मुलतया, निम्नानुसार उल्लेख गर्न सकिन्छ
१. औपचारिक नेपाली भाषा, २. पूर्वेली नेपाली भाषा, ३. सिम्ताल नेपाली भाषा, ४. भारतीय नेपाली भाषा, ५. बर्मेली नेपाली भाषा, ६. भुटानी नेपाली भाषा, ७. कर्णाली नेपाली भाषा र ८. गैर-मातृभाषाहरूमा नेपाली भाषा, इत्यादि ।
सामान्यतया, औपचारिक सम्पर्क भाषा भन्दा सोही भाषाका अनौपचारिक यस्वर र बोलीहरू फरक हुने गर्दछ । तर, मुलभाषीहरुले त्यसलाई आफ्नो भाषाको इज्जत र प्रतिष्ठाको रुपमा लिनु हुंदैन ।
अन्यथा, यस विषयलाई लिएर विभिन्न भाषा-भाषी र जात-जातिका वीच नचाहिंदो द्वन्द्व चर्किन सक्दछ । एउटै भाषा पनि उहिले राजा र प्रजाले बोल्ने भाषिक लवजहरु फरक हुने गर्दथे । दरबारिया भाषामा प्रयोग हुने “बक्स्योस् भुजा, हजुर”, बिस्तारै शाही शासकीय भाषाको रुपमा प्रयोग हुन थालेको थियो । कम्तिमा अहिले आएर शासक र जनताले बोल्ने भाषाहरू वीच खासै वर्गीय भिन्नता छैन । तर, सेना, प्रहरी र कर्मचारीतन्त्रमा अहिले सम्म पनि पुराना भाषिक प्रभाव अझै बाँकी रहेको देखिन्छ ।
त्यसो त कैयन नेपाली मूलभाषीहरुले आदिवासी जनजातिले बोल्ने भाषाहरू बोल्न नजानेर ती शब्दहरु अपभ्रंश भएका पनि अनेकन उदाहरणहरु रहेका छन् । नेपाल भाषामा उच्चारण हुने थुप्रै शब्दहरु जस्तै, असं हो असन होइन, जा: हो ला ख्य: हो जाउलाखेल होइन, लगं ख्य हो लगनखेल होइन, थ: बहिल हो ठमेल होइन, महावती हो महावौद्ध होइन, हिति हो हिटि होइन, इत्यादि ।
त्यस्तै, तामाङ, राई, लिम्बू, शेर्पा, मगर, थारु, गुरुङ आदिको स्थानिय शब्दहरु नेपाली मूलभाषीले प्रष्ट उच्चारण गर्न नजानेको कारण अपभ्रंश भएका पनि अनेकन उदाहरणहरु रहेका छन् । मेरो साथी बालकृष्ण माबुहाङ भन्नुहुन्छ, “खस-बाहुनहरुलाई मेरो नामको बालकृष्ण मज्जाले भन्नू हुन्छ, तर “माबुहाङ” भन्न साह्रै गाह्रो हुँदो र’छ ।” तर त्यस्मा खिसी टिउरी गर्न पर्ने कुनै कुरा छैन ।
त्यति मात्रै होइन, एउटै नेपाल भाषा काठमाडौको तीन शहर (कान्तिपुर, ललितपुर र भक्तपुर)मा आ-आफ्नो किसिमले बोल्ने गर्दछन्, त्यसलाई लिएर कसैको पनि खिसी टिउरी गर्नु राम्रो कुरा कदापी होइन । विगतमा काठमाडौ उपत्यका इतरका नेवारहरूलाई पनि आफ्ना भाषा बोल्दा राजधानीका नेवारहरुले खिसी टिउरी गरेर “गामा वा भाय व” भनेर होच्याउने चलन थियो । जसले गर्दा, राजधानी काठमाडौ छिर्दा उनीहरुले आफ्नो स्थानिय नेपाल भाषा बोल्न छाडेर नेपाली भाषा मात्र बोल्ने गरेका धेरै उदाहरणहरु छन् । हाल आएर त्यसप्रति धेरैले पश्चाताप गर्ने गरेका छन् ।
खासगरी, देशमा संघिय लोकतान्त्रिक गणतन्त्रको स्थापना पश्चात् सबै जातजाति, भाषाभाषीहरूमा आफ्नो भाषा र भेषभुषाको पहिचान प्रति नयाँ चेत वा पुन जागरण आएको छ । त्यो असाध्य सकारात्मक कुरा हो ।
वास्तवमा, राष्ट्र र राष्ट्रियता भन्ने कुरा भूगोलको चौघेराको विषय मात्रै होइन, यो उसको भाषा, संस्कृति र सभ्यतासँग जोडिएको कुरा पनि हो । त्यसले गर्दा, सबै भाषाभाषीहरूलाई आफ्नो सम्पर्क नेपाली भाषा र मातृभाषा दुवै संगसंगै विकास गर्ने अवसर पनि प्राप्त हुन्छ । विभिन्न अध्ययन र अनुसन्धान अनुसार, सामान्यतया, बालबालिकासँग एकैचोटी कम्तिमा तीन भाषा संगसंगै बोल्न र सिक्न सक्ने क्षमता हुन्छ ।
त्यसैले, सकिन्छ भने हामीले पनि हाम्रा बालबालिकालाई विद्यालयमा कम्तिमा पनि एक मातृभाषा, एक सम्पर्क भाषा र एक अन्तर्राष्ट्रिय भाषा सिकाउन सक्यो भने उसले आफ्नो देश भित्र मात्र नभएर अन्तर्राष्ट्रिय स्तरमा एक ‘ग्लोबल सिटिजन’को रुपमा आफ्नो सीप, शिक्षा र व्यक्तित्व विकास गर्न अवसर पाउन सक्दछ ।
यो कुरा हाललाई व्यवहारिक नभएता पनि भविष्यको निम्ति सोच्न सकिन्छ ।त्यसो भएमा देशमा आफ्नो मातृभाषा, सम्पर्क नेपाली भाषा र एक अन्तर्राष्ट्रिय भाषाको पनि संगसंगै विकास हुन सक्दछ । वास्तवमा, मानिसले जति धेरै भाषाहरू बोल्न जान्छन् उसको सोच र दृष्टिकोण पनि सोही अनुसार गहिरो र फराकिलो बन्दै गएको हुन्छ।
आजभोलि विस्तारै केही अमेरिकन, जापानी, चिनियाँ, बेलायती र अफ़्रिकि आदि विदेशी नागरिकहरूले नेपाली भाषामा गीत गाउन प्रयत्न गरिरहेको देखिन्छ, सुनिन्छ। नेपाली भाषालाई बिस्तारै अन्तराष्ट्रियकृत गर्दै लाने यो एक अवसर पनि हो । तर प्रश्न आउँछ, अब हामीले उनीहरुका प्रयत्नहरुलाई लिएर खिसी टिउरी गर्ने हो वा अझै उत्साहित गरि शुद्ध नेपाली गीत गाउन सघाउने हो? वास्तवमा, अल्प बुद्धि भएकाहरुले उनीहरुलाई खिसी टिउरी गर्छन् र बुद्धिमानहरूले उनीहरुलाई सघाएर नेपाली भाषालाई अझै संवृद्ध गर्न सघाउँछन्।
भाषाको संरक्षण र सम्वृद्धि भनेको त्यसको भण्डारणमा ताल्चा लाएर होइन त्यस्को व्यापक र सहभागितामुलक उपयोगमा नै निर्भर गर्दछ । त्यसैले, कसैले पनि कुनै पनि भाषा बोल्न, लेख्न र गाउन गरेका इमान्दारपूर्वक प्रयत्नहरुलाई दुरुत्साहन गर्ने कसैले पनि हिम्मत नगरोस् । यो गलत र खिसी टिउरीको सवाल हो ।
प्रतिक्रिया दिनुहोस्