२०८१ माघ २४
                           

राष्ट्रिय बिच भलिबलमा नेपाल पुलिस क्लब च्याम्पियन

अशोक पराजुली / सुकुटे -जिल्लाको पर्यटकीय क्षेत्र सुकुटेमा माघ १ गतेदेखि जारी सातौं राष्ट्रिय महिला तथा आठौं राष्ट्रिय पुरुष बिच भलिबल प्रतियोगिताको उपाधि महिलातर्फ नेपाल पुलिस क्लबका कमला पुन र मनिषाको जोडीले जितेको छ भने पुरुषतर्फको उपाधि नेपाल पुलिस क्लबकै चन्द्रबहादुर कुँवर र सफल बि.क.को जोडीले जितेको छ ।

महिला तर्फ आफ्नै क्लबका पुनम चन्द र कामना विष्टको जोडीलाई २१-१९,२१-१० को सेटमा हराउँदै कमला र मनिषाको जोडी च्याम्पियन बनेको हो भने पुरुष तर्फ नेपाल एपीएफ क्लबका बलिराम चौधरी र रमेश वि.क.को जोडीलाई २१-१८,१४-२१,८-१५ को सेटमा हराउँदै चन्द्र र सफलको जोडी च्याम्पियन बनेको हो ।

जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिका वडा नम्बर १० सुकुटेस्थित भोटेकोशी बिच रिसोर्टको बिचमा भएको प्रतियोगितामा महिलातर्फ कमला र मनिषा तथा पुरुष तर्फ चन्द्र र सफलको जोडी विजयी भएको हो ।

महिला तर्फ विजेता कमला र मनिषाको जोडीले साउनमा भुटानमा भएको काभा बिच भलिबलमा समेत स्वर्ण पदक जितेको थियो ।

एपिएफ र आर्मीको जोडी तेस्रो

नेपाल एपिएफ क्लब र त्रिभुवन आर्मी क्लबका जोडी राष्ट्रिय बिच भलिबल प्रतियोगितामा तेस्रो भएको छ।
महिलातर्फ एपिएफ क्लबका निरुता ठगुन्ना र नेविका चौधरीको जोडी तथा पुरुषतर्फ टिकराज तामाङ र सूर्य परियारको जोडी तेस्रो भएको हो ।

आफ्नै क्लबका रस्मिता दुरा र जस्ना महतोको जोडीलाई
२१-१२,२१-१५ ले हराउँदै निरुता र नेविकाको जोडी तेस्रो भएको हो।

एपिएफ क्लबका महेन्द्र श्रेष्ठ र राजकुमार निरौलाको जोडीलाई २१-१९,२४-२२ ले पराजित गर्दै टिकराज र सूर्यको जोडी विजयी भएको हो ।

प्रतियोगितामा सातै प्रदेशबाट र विभागीय टिमहरु सहित ३५ टिमको सहभागिता रहेको नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्रबहादुर चन्दले जानकारी दिए ।

प्रतियोगिताको दुवै इभेन्ट तर्फका बिजेता टिमलाई छुट्टाछुट्टै नगद ५० हजार सहित ट्रफी मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो ।

त्यस्तै उपविजेता टिमलाई नगद २५ हजार,तेस्रो हुने टिमलाई नगद १५ हजार र सान्त्वना प्राप्त गर्ने टिमलाई नगद १० हजार सहित ट्रफी मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो । समापन समारोहका प्रमुख अतिथि चौतारा सागाँचोकगढी नगरपालिकाका नगर प्रमुख कृष्णप्रसाद सापकोटाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

नेपाल भलिबल संघको वार्षिक कार्यक्रम अन्तर्गत रहेको च्याम्पियनसिपलाई जिल्ला भलिबल संघ सिन्धुपाल्चोक र सिन्धु सुकुटे पर्यटन व्यवसायी संघले आयोजना गरेको हो ।

सातौं राष्ट्रिय महिला तथा आठौं राष्ट्रिय पुरुष बिच भलिबल प्रतियोगिताको माघ १ गते पुर्व प्रधानमन्त्री एवं नेकपा ( माओवादी केन्द्र ) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उद्घघाटन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्