२०८१ पुष २९
                           

नेता कार्यकर्तालाई अनुशासित बनाउन काँग्रेसद्वारा प्रशिक्षण

तातोपानी । नेपाली काँग्रेस सिन्धुपाल्चोकले आफ्ना नेता तथा कार्यकर्तालाई अनुशासित बनाउन र वीपीको समाजवादबारे प्रष्ट्याउन प्रशिक्षण सञ्चालन गरेकाे छ । यस्ताे अभियान निरन्तर रहने उसले जनाएको छ ।

प्रशिक्षण विभागअन्तर्गत रहेकाे सिन्धु शाखाले अभियानको थालनी गरेकाे हाे । यस्ताे मजबुत प्रशिक्षण सिन्धुपाल्चोकमा पहिलाे पटक गरिएको छ। नेपाली काँग्रेस सिन्धुपाल्चोक उपसभापति तथा प्रशिक्षण विभाग सिन्धु शाखा प्रमुख दाेर्जे लामाले प्रशिक्षण कार्यक्रम शानदार रहेकाे बताए ।

चीनसँगको सीमा जाेडिएकाे भाेटेकाेसी गाउँपालिकाबाट प्रशिक्षण अभियान सुरु गरिएको छ । भाेटेकाेसी वडा नं २ तातोपानीमा सम्पन्न पहिलाे प्रशिक्षण कार्यक्रममा पार्टी केन्द्रीय सदस्य मधु आचार्य प्रमुख वक्ता थिए । प्रशिक्षण विभागमा  रहेका आचार्य नेपाली काँग्रेसमा सैद्धान्तिक र वैचारिक मामलामा प्रभावशाली मानिन्छन् । उनी पार्टीअन्तर्गत रहेकाे स्थानीय समन्वय प्रमुखसमेत हुन् । उनी महामन्त्री गगन थापानिकट नेता हुन् ।

आचार्यले प्रशिक्षणमा नेपाली काँग्रेसकाे चुनाव चिह्न, झण्डा , चार तारा र वीपीको समाजवादबारे मसिनाे रुपमा कार्यकर्तालाई प्रशिक्षण दिए । महाधिवेशन प्रतिनिधिसमेत रहेका वर्तमान जिल्ला उपसभापति लामाले नेता कार्यकर्तालाई अनुशासित बनाउन र सैद्धान्तिक रुपमा स्पष्ट पार्न प्रशिक्षण कार्यक्रम आयाेजना गरेकाे बताए । यस्ताे अभियान निरन्तर चल्ने लामाकाे भनाइ छ ।


कार्यक्रममा नेपाली काँग्रेसबाट निर्वाचित भाेटेकाेसीका जनप्रतिनिधि , तरुण दल जिल्ला अध्यक्ष सञ्जय लामा, महिला संघ जिल्ला अध्यक्ष गीता नेपाल, नेविसंघ पूर्वमहामन्त्री बलदेव तिमल्सिनालगायतको उपस्थिति थियाे । प्रशिक्षणमा भाेटेकाेसीका अगुवा कार्यकर्ता सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्