भरत पोख्रेल – सन २०१३ को सेप्टेम्बरमा चीनका राष्ट्रपति सी चिनफिङ औपचारिक भ्रमणमा काजखस्तान गएका थिए जहाँ उनले पुरानो सिल्करोडलाई परिमार्जित गरेर नयाँ सिल्करोड परिभाषित गरेर बीआरआई (बेल्ट एन्ड रोड इनिसिएटिभ) लाई निकनेममा न्यु सिल्करोड भन्ने गरिएको छ । त्यही वर्ष इन्डोनेसियाको राजधानी जकार्ताको संसद भवनमा सम्बोधन गर्दा सीले बीआरआईबारे फेरि चर्चा गरेका थिए ।
बीआरआई सीको सोचाइ सन्तान (ब्रेन चाइल्ड) मानिन्छ । अक्टोबर २०१६ मा बीआरआई चीनको राष्ट्रिय उद्देश्यको कार्य योजना बन्यो जुन चीनको संविधानमा पनि समावेश गरिएको छ । बीआरआई चीन अन्तर्राष्ट्रियकरणको रणनीति बनेको छ (मनी एन्ड माइटः अलोङ द बेल्ट एन्ड रोड इनिसिएटिभ – अलेसिया अमिघिमि २०२१) ।
बीआरआईलाई वैश्वीकरण गर्ने क्रममा दोस्रो बीआरआई फोरम अप्रिल २५-२७, २०१९ आयोजना गरिएको थियो जसलाई चीनका राष्ट्रपति सी चिनफिङले प्रमुख वक्ताको रूपमा लामो ब्याख्यान दिएका थिए । त्यो फोरममा १५० देशबाट ५ हजार पाहुना र ९० अन्तराष्ट्रिय संस्थाहरूबाट सहभागी थिए ।
नेपालमा चर्चा भएजस्तो बीआरआई आर्थिक एजेन्डामात्र होइन, संरचना र विकासबारे मात्र पनि होइन, यसमा मानवीय हित, संस्कृति, स्वास्थ्य, र ज्ञानका क्षेत्रहरू छन् । बीआरआईले पाँच क्षेत्रहरू समेटेको देखिन्छः भौतिक, ब्यापारिक, डिजिटल, वित्तीय र सांस्कृतिक । बीआरआईबारे विश्वमा विविध धारणा देखिएका छन् ।
केन्यामा ६७ प्रतिशत मानिसले यसलाई मन पराएका छन्, नाइजेरियामा ६१ प्रतिशत मानिसहरू बीआरआई प्रति सकारात्मक छन्, ट्युनिसियामा ७० प्रतिशत मानिसहरू बीआरआईका पक्षमा छन्, फिलिपिन्समा यो संख्या ५३ प्रतिशत रहेको देखिन्छ (चाइना बेल्ट एन्ड रोड इनिसिएटिभ – आन्द्रे भचेक, २०१८) । समग्र चीनलाई हेर्ने पश्चिमा जनताको धारणा पनि त्यति नकारात्मक छैन ।
बेलायतका ४९ प्रतिशत मानिसहरू चीनप्रति सकारात्मक छन्, ४८ प्रतिशत अष्ट्रेलियन, ३९ प्रतिशत जर्मन, ३८ प्रतिशत अमेरिकन पनि चीनको भलो चाहन्छन् । हो पश्चिमा देशका सरकार र केही मूलधारका मिडिया चीनको बारेमा सेतोलाई कालो, युद्धलाई शान्ति, गरुडलाई गिद्ध देख्ने गरेका छन् । त्यसैको स्याल हुइयाँमा केही नेपाली मिडिया र मानिसहरू विवाद उठाइ रहेका छन् ।
नेपाल र चीनका सरकारी अधिकारीहरूले बीआरआई सम्बन्धी समझदारीपत्रमा सन २०१७ मा हस्ताक्षर गरेका थिए । त्यही समझदारीपत्र अनुसार परियोजना अगाडि बढाउन बीआरआई कार्यान्वयन योजनामा सम्झौता गर्न चीनले चाहेको छ । नेपालमा अहिलेसम्म बीआरआई अन्तर्गत कुनै परियोजना सुरु गरिएको छैन । अहिले ऋण र अनुदानबारे विवाद सरकारमा सामेल दलहरूमा नै देखिएको छ । सरकारी समझदारी गराउन काँग्रेस र एमाले म्याराथुन मिटिङ गरिरहेका छन्, समस्या समाधान भएको छैन । परराष्ट्रमन्त्री आरजु राणा देउवा खालि एजेन्डा चीन गएकी छन् ।
ओली ८७ जनाको जखमले टोली लिएर चीन जाने तयारीमा छन् । नेपाली जनता बीआरआईबारे रनभुल्लमा छन् । सरकारले चीनबाट आएको बीआरआई एजेन्डा जनतासामु सार्वजनिक गरेको छैन । सम्झौता भएको आठ वर्षमा सरकारले बीआरआईबारे के होमवर्क गरेको छ जनतालाई गुमराहमा राखिएको छ । बीआरआईबारे बौद्धिक पण्डितहरू अन्धाले जस्तो हात्ती छामीरहेका छन् । बीआरआईबारे नेपालको आफ्नो मौलिक सोच के हुने सरकारले जनतालाई स्पष्ट पार्नु पर्छ ।
चीन अहिलेको विश्वमा एउटा उदयमान शक्ति हो उसले आफ्नो दायरा बढाउन थालेको छ जहाँ मूलरूपमा उसको स्वार्थ हुन्छ । हामीले हाम्रो हितमा बीआरआईर्ला कसरी प्रयोग गर्ने स्पष्ट हुन जरुरी छ । सरकारलाई बहुमतको आडमा नोम चोमस्कीले भनेजस्तो जनताको नाममा लूट गर्ने छुट (प्रोफिट ओभर पिपुल) छैन । प्रतिपक्ष चाइना कार्ड फिटिरहेको छ बीआरआईबारे पनि अलिकति मुखरित भए हुने नि । हेरौं भोलि र पर्सिसम्म दुई दिनमा कति खिचडी पाक्छ ?
प्रतिक्रिया दिनुहोस्