२०८१ श्रावण १२
                           

इन्द्रावती ५ मा दुग्ध संकलन तथा प्रशोधन केन्द्रको स्थापना

साउन १९,  नयाँपानी भूमि अधिकार कृषक समूहले इन्द्रावती गाउँपालिका वडा नम्बर ५ मा दुग्ध संकलन तथा प्रशोधन केन्द्रको स्थापना गरेको छ  । खाद्य पोषण सुरक्षा आयोजना,एफएओ,सिडिसिएफको सहयोगमा कृषक समूहले दुग्ध संकलन तथा प्रशोधन केन्द्रको स्थापना गरेको हो ।

आज एक कार्यक्रमबिच इन्द्रावती गाउँपालिकाका अध्यक्ष झम्क नेपालले दुग्ध केन्द्रको उद्घाटन गर्नुभएको हो । दुग्ध केन्द्रको उद्घाटन गर्नुहुँदै अध्यक्ष नेपालले किसानहरूलाई प्रोत्साहनका लागि विगतमा दिँदै आइरहेको अनुदानमा शत प्रतिशत वृद्धि गरी प्रति लिटर ४ पुर्याएको बताउनुभयो । गाउँपालिका भित्रको कृषि विकास र आधुनिकीकरणका लागि विभिन्न सरकारी तथा गैरसरकारी सङ्घ संस्थाको खोजी भइरहेको उहाँले बताउनुभयो ।

वडामा उत्पादित दूधको सदुपयोग गरी बाहिर निर्यातका लागि दुग्ध तथा प्रशोधन केन्द्रको स्थापना गरिएको नयाँपानी भूमि अधिकार कृषक समूहका अध्यक्ष कुमार आचार्यले जानकारी दिनुभयो ।  सुरुमा इन्द्रावती गाउँपालिका भर उत्पादित दूधलाई पुर्याउने उद्देश्य रहेको र बिस्तारै काभ्रे काठमाडौँ ललितपुर लैजाने वातावरण सिर्जना गर्ने उहाँले बताउनुभयो । अहिले एक व्यक्तिले १८ लिटरसम्म दूध बेच्दै आइरहेको सो केन्द्रमा आगामी वर्षमा दैनिक ५०० लिटरसम्म दूध उत्पादन गर्ने लक्ष्य रहेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्