अरुणा उप्रेती – १५ वर्षअघि म अछाम जाँदा एक महिलाले सोधिन्, ‘तमरा कति सन्तान छन् ?’ मैले भनेँ, ‘दुई छोरी छन् ।’ ‘छोरी त छन्, तर सन्तान पो सोधेको त ?’ ती महिलाले भनिन् ।, १५ वर्षअघि म अछाम जाँदा एक महिलाले सोधिन्, ‘तमरा कति सन्तान छन् ?’ मैले भनेँ, ‘दुई छोरी छन् ।’ ‘छोरी त छन्, तर सन्तान पो सोधेको त ?’ ती महिलाले भनिन् ।
छोरीलाई त उनले सन्तान नै नमान्दी रहिछन् । यसमा ती महिलाको दोष थिएन, उनको सामाजिक र सांस्कृतिक नियमले पारिदिएको प्रभाव थियो, जसले उनलाई सिकाएको थियो, ‘छोरा मात्र सन्तान हुन् ।’ तर यो मान्यता सुदूर पश्चिमको अछाममा मात्र होइन, काठमाडौं र नेपालका अन्य ठूला सहरमा पनि छ ।
१८ वर्षको छोरा नदीमा पौडी खेल्दा डुबेर मृत्यु भएपछि ५४ वर्षीया एक महिलालाई गर्भवती हुन विवश गराइयो, उनको परिवार र समाजबाट । उनको घरपरिवारमा वकिल, व्यापारी र शिक्षक थिए । विश्वविद्यालयमा पढ्ने २२ वर्षकी छोरी पनि थिइन् । छोराको मृत्युबाट व्यथित आमाको आँसु दुई महिनासम्म रोकिएको थिएन । तेस्रो महिनामा सासू, ससुरा, जेठाजू, श्रीमानले उनलाई भने, ‘तिम्रो रजस्वला भइरहेको छ । अर्काे बच्चा पाऊ । ५ महिनामा गर्भ जाँच गराउँदा छोरी भए गर्भपतन गराउँला, छोरा भए राखौली । वंश चलाउन र सम्पत्तिको रक्षा गर्न त कोही चाहियो नि ।’ मानसिक रूपमा व्यथित र शारीरिक रूपमा पनि कमजोर उनले केही सोच्न नै सकिनन् । उनले आफ्नी छोरीलाई पनि मलाई घरपरिवारले यसरी विवश गराइरहेका छन् भनेर भन्न सकिनन् ।
छोरा गुमाएको ५ महिनामा निशा फेरि गर्भवती भइन् । तर गर्भको ५ महिनासम्म साह्रै बिरामी भइन् ।
५ आंै महिनामा भ्रूणको लिंग जाँच गराउँदा छोरा नै रहेछ । घर–परिवारका सबै सदस्य खुसी भए । छोरी चाहिँ स्तब्ध भइन् । उनलाई आमा फेरि गर्भवती होलिन् भन्ने लागेकै थिएन । आमासँग रिसाइन् । विवश आमा के गरुन्, आँसु खसाल्दै छोरीको घुर्की सहिरहिन् ।
७ औँ महिना लागेपछि त रक्तचाप धेरै भएर टाउको दुखेर, बेहोश होला नै जस्तै भएर छटपटिन थालिन् । उनलाई भ्रूणको लिंग जाँच गराएकै अस्पतालमा लगियो । विशेषज्ञबाट परिवारका सदस्यले सुने, ‘उनको अवस्था अत्यन्त गम्भीर छ । ज्यानसम्म जान सक्छ, शल्यक्रिया गरेर बच्चा निकाल्नुपर्छ ।’ परिवारका सदस्यले शल्यक्रिया गर्न हस्ताक्षर गरे । उनको शल्यक्रिया भयो । मरेको बच्चा जन्मियो । आमा चाहिँ ४८ घन्टासम्म जीवन र मृत्युको संघारमा झुलिरहिन् । आधुनिक औषधी, डाक्टरहरूको अथक मिहेनतले उनी बाँचिन् ।
छोरा नै चाहिने धार्मिक र सामाजिक रीतिले त उनलाई मृत्युकै मुखमा धकेलेको थियो ।
ती महिलाबारे सुनेपछि मलाई लाग्यो, छोरा पाउने आशामा ५४ वर्षीया श्रीमतीलाई मृत्युको मुखमा धकेल्दा के श्रीमानको मनमा कुनै पनि अपराधबोध भएन ? सायद भएन पनि होला, किनभने श्रीमानलाई त श्रीमतीको जीवनभन्दा बढी चिन्ता आफू मरेपछि कसले पिण्ड देला र आफू कसरी वैतरणी पार गरुँला भन्ने थियो कि ?
जे होस्, सन्तान पाउन महिलाले जीवन दाउमै लगाउनुपर्यो । काठमाडौंका महिला र सुदूर पश्चिमका महिलाको जीवन त नेपाली समाजमा उस्तै छ । छोरी सन्तान होइन भन्ने मान्यता काठमाडौंमा ठूला परिवारमा पनि धेरै देखिएको छ ।
२० वर्षका एक युवकको मृत्यु भएपछि घरका सबै शोकमा डुबे । ५० वर्षीया आमा स्तब्ध थिइन्, रुन पनि सकेकी थिइनन् । तेस्रो दिन श्रीमानले उनलाई भने, ‘छोरा नभए त समस्या पर्छ ।
मैले अर्काे विवाह गरेर छोरा पाउनुपर्छ कि ?’
यी सबै घटना भिन्नाभिन्नै ठाउँमा भए पनि सबैको कथाचाहिँ एउटै छ, जसरी भए पनि परिवारमा छोराको जन्म हुनैपर्छ । यसका लागि महिलाको स्वास्थ्य खराब होस् वा महिलाको मृत्यु नै किन नहोस्, वास्ता हुँदैन ।
किरियापुत्री बस्दा धर्मगुरुले सुनाउने गरुड पुराण, माघ महिनामा पढिने स्वस्थानीमा छोरा नभए जिन्दगी नै सखाप हुने वर्णन गरिएको छ । सायद त्यसैले गर्दा महिला डराउँछन् र जसरी भए पनि छोरा पाएर वंशको रक्षा गर्न तयार हुन्छन् । धर्मगुरुहरूले छोरा र छोरी दुबै सन्तान हुन् लाई सिकाउने बेला भएन ?
प्रतिक्रिया दिनुहोस्