२०८१ श्रावण १२
                           

सिन्धु साहित्यको संक्षिप्त इतिहास

शशिनाथ आचार्य- सिन्धुपाल्चोक जिल्लाको साहित्यिक इतिहास निकै लामो र पुरानो छ । जिल्लामा कहिले देखि साहित्य लेखनको क्रम सुरु भयो भन्ने कुरा यकिन साथ भन्न नसकिए पनि साहित्यिक व्यक्तित्व र उनीहरुले साहित्य सिर्जनामा देखाएको तत्परता लाई आधार मानेर विश्लेषण गर्दा सिन्धुको साहित्यिक इतिहास नेपाली साहित्यको प्राथमिक कालबाटै जोडिन आउँछ । प्राथमिक कालीन नेपाली कवितामा देखापरेका भक्तिधारा अन्तर्गत कृष्ण भक्तिधाराका सशक्त कवि बसन्त शर्मा बाटै सिन्धु साहित्यिक इतिहासको अध्ययन थाल्नु पर्ने हुन्छ । कवि बसन्त शर्मा (१८५५–१९३७) बाट सिन्धुपाल्चोक जिल्लाको साहित्यिक इतिहासमा कविता लेखनको क्रम प्रारम्भ हुन्छ । (नकुल सिलवाल र अन्य सिन्धुमिलन २०६७ सिन्धुमिलन केन्द्र काठमाडौँ पृ. १७५—चन्द्रप्रसाद न्यौपानको सिन्धुमा साहित्य आंशिक अध्ययनबाट) । यिनी वि.सं १८६० तिर सिपाघाटको आसपास सिपा भेगमा जन्मिएका हुन । उनको जन्म स्थानका सम्बन्धमा यद्यपि विवाद कायम छ । (बसन्त शर्मा भक्तपुर, काभ्रे र सिन्धुपाल्चोक मध्ये कुनै एकमा जन्मेका हुन भन्ने हालसम्मका अध्ययन अनुसन्धानहरुमा पाईन्छ । तर यहीँ हो भन्नेमा विद्धानहरुमा मतैक्य छैन । यद्यपि बाबुराम आचार्यले पुराना कवि र कविता पृ. ८ (नवौँ सं २०६२) मार्फत सिपा सिन्धुमा जन्मिएको हुनसक्ने अनुमान गरेका छन् । त्यहाँ उल्लेखित शर्माको कवितांशले पनि यो कुरा पुष्टि गर्छ) यी तथ्यहरुको कारण उनलाई सिन्धुका सर्जक भन्न सकिन्छ । डा. रामनाथ ओझा र मधुसुदन गिरीले (लोक साहित्य पूर्व आधुनिक नेपाली साहित्य र आधुनिक नेपाली निवन्ध चौँथो सं. २०६४ पुस्तकमा शर्माको जन्म वागमती अञ्चल अन्तर्गत पूर्व एक नम्बर देउपुर गाउँमा भएको उल्लेख गरेका छन् । यसबाट के पुष्टी हुन्छ भने सिन्धुपाल्चोकमा साहित्य लेखनको परम्परा बसन्त शर्माको प्रभावबाट नै सुरु भएको हो । शर्माले १८६० देखि १९४७ सम्मको आफ्नो जीवनकालमा यसै भेगमा रहेर साहित्य साधना गर्दा त्यसको प्रभाव अन्य लेखहरुमा पनि पर्नु स्वभाविक हो । त्यसैले देवीदत्त पराजुली रेवतीरमण न्यौपाने जस्ता प्रतिभाहरु सिन्धुमा देखा परे । शर्मालाई सिन्धुपाल्चोक जिल्लाकै प्रतिभा मान्दा उनले लेखेको श्री कृष्ण चरित्र (१८८४) बाट सिन्धुपाल्चोकमा साहित्य लेखन प्रारम्भ भएको मान्न सकिन्छ । यहाँ कृष्ण चरित्रमा उनले वर्णन गरेको एक कवितांश प्रस्तुत गर्नु सान्दर्भिक ठान्दछु ।
पश्चिम वागमती पवित्र यमुना पूर्वै दिशा बासुकी
दक्षिण चन्द्रगिरी हिमालय महाँ औतार लीया हरि ।।
उत्तर हेमागिरी त पर्वत बन्यो उत्पन्न इन्द्रावती
श्री ब्रह्मायणि माइका शरणमा श्री कृष्ण लीला इति । १६५।।
(कविले वासुकी शब्दको ठाउँमा कौशिकी लेखेका थिए । छापाखानाका भुलले (प्रिन्ट मिस्टेकका कारण) बासुकी हुन गयो । यमुना शब्दले नदीको अर्थ जेनचेन दिन्छ तर बासुकी शब्दबाट वाजवी अर्थ निस्कन नसक्ने भनाई बाबुराम आचार्य (पुराना कवि र कविता साझा प्रकाशन नवौँ सं २०६३ को रहेको पाईन्छ)

वसन्त शर्मा पछि स्वामी अभयानन्दको पनि सिन्धु साहित्यिक इतिहासमा धेरथोर योगदान रहेको पाइन्छ । यिनको जन्म सिन्धु भूमिमा भएको होइन तर पनि यिनले दरवारिया सीप र मेहनत सिन्धु भूमिमा खर्चेका छन् । अभयानन्दको वास्तविक नाम रणवीरसिंह थापा हो । यिनी नेपालको पहिलो शहिद लखन थापाका सन्तान र प्रथम प्रधानमन्त्री भिमशेन थापाका कान्छा भाई हुन । यिनले सैनिक सेवामा रही फुल जर्नेलको जागिरबाट अवकास प्राप्त गरेपछि सिन्धु भूमिको एेंसेलखर्क आसपासमा बस्न थालेका बुझिन्छ । यिनले ऐसेलुखर्कको गुफा, धर्मशाला र रणनैनेश्वर शिवालय बनाएका थिए ।(कृष्णप्रसाद पराजुली पूर्व एक नम्बर दोस्रो सं २०५० पृ. २२४¬¬¬) यिनको सम्मानमा विगत ५ वर्ष अघिदेखि अहिले ऐंसेलुखर्कमा स्वामी अभयानन्द शिक्षा क्याम्पस सञ्चालित छ । अभयानन्दले जीवनको अवकास घडि भने वनारसलाई रोजेका थिए । यिनका लोक भजनहरु चर्चित थिए भन्ने भनाई छ तर ती अप्रम्य छन् । यस्तैगरि अभयानन्दका ध्यानयोग, मन्त्रयोग, लक्ष्ययोग र वासना योग जस्ता पुस्तकहरु प्रकाशन भएको भनिए पनि हालसम्म प्राप्त हुन सकेका छैनन ।

गौरीशङ्कर न्यौपाने सिन्धु साहित्यिक इतिहासका अर्का प्रतिभा हुन । यिनले भक्तिधाराका भजन, कीर्तन सवाइ आदिको रचना गरेका थिए । न्यौपानेले संस्कृत भाषाको ४ वेदमध्येको एक यजुर्वेद नेपालीमा उल्था गरेर सुनाउने गर्दथे ।(जनकलाल शर्मा जोसमनी सन्त परम्परा र साहित्य १३३–३४)। यसको पाण्डुलिपी भने हालसम्म फेला परेका छैन ।

सिन्धु साहित्यिक इतिहासमा अर्को छुटाउनै नमिल्ने नाम हो देवीदत्त पराजुली । यिनी माङ्खा चिम्लिङमा १९३० सालमा जन्मिएका हुन । यिनी अध्यायका सिलसिलामा बनारस पुगेका र आचार्य वेदान्त र कर्मकाण्ड पढेर १९६६ मा नेपाल फर्केको बुझिन्छ । बनारस बस्दाको प्रभावले नै हुनुपर्छ यिनी विद्धत कवि एवं महाकाव्यकार बनेर निस्किए । (चन्द्रप्रसाद न्यौपाने सिन्धु साहित्यिक इतिहास शोध ग्रन्थ २०६० पृ. ११) देवीदत्त पराजुलीका रचना चन्द्रोदय, व्याकरण चन्द्रिका, रचना चन्द्रिका जस्ता बाल उपयोगी पुस्तक प्रकाशित भएको पाइन्छ । काशीमा हितचिन्तक प्रेसबाट छापिएको पी.डी.पी.एस.यु.शर्मा द्वारा सिर्जित सत्यनारायण भाषा श्लोकका रचनाकार देवीदत्त पराजुली नै हुन की भन्ने समेत शंका गरिन्छ । (चन्द्र प्रसाद न्यौपाने सिन्धु साहित्यिक इतिहास शोध ग्रन्थ २०६० पृ. ११) उनको सवैभन्दा महत्वपूर्ण पुस्तक कविता गुच्छहार महाकाव्य (लेखन २००२ प्रकाशन २००५) हो । यो मौलिक महाकाव्य पराजुलीको अनवरत साधना र अथक प्रयत्नको प्रतिफल हो । यो महाकाव्यलाई प्रथम नेपाली मौलिक महाकाव्यका रुपमा नेपाली भाषा प्रकाशिनी समितिले मान्यता दिएको छ । यस कृतिबारे नेपाली भाषा प्रकाशिनी समितिको टिप्पणी यस्तो छ “भाषा प्रेमको परिणामका रुपमा संस्कृत साहित्यका अध्यापक यी पण्डितजीबाट नेपाली भाषाले यो प्रथम मौलिक महाकाव्य पायो । यो काव्य पढेर पाठक वर्गलाई पण्डितजी को योग्यता, विद्धता र कविता रचना शैलीको ज्ञान आफैँ हुनेछ ।(कमल दीक्षित बुइँगल जगदम्बा प्रकाशन ललितपुर २०२८ पृ ३५९) रेवतीरमण न्यौपाने (१९३३–१९९८) सिन्धु साहित्यका अर्का तेजस्वी नक्षत्र हुन । युवाकवि मोतीराम भट्टको इहलीला समाप्त भएको आठ वर्ष भित्रै एक अनुदित महाकाव्य प्रकाशमा ल्याउन सफल नाटककार पहलमान सिंह स्वाँरका समकालीन योद्धा जागिरे जीवनका एक यात्री न्यौपाने नेपाली साहित्याकाशका नौलाख तारा मध्येका एक शुभ्र तारा हुन । (कृष्ण सुवेदी र अन्य सिन्धु मिलन २०५४ सिन्धु मिलन केन्द्र काठमाडौँ पृ ११० (पुर्ण प्रकाश नेपाल) वाडेगाउँ गा.वि.स स्थित सिपातीनघरेमा जन्मिएका न्यौपानेले के कति काव्य रचना गरे भन्ने कुरा अझै यकिन साथ भन्न सकिने अवस्था छैन । तर पनि विवाह लीला, विश्वजित लीला जस्ता काव्य सामाग्रीहरु प्राप्त छन् । रेवतीरमणका सन्दर्भमा जे जति तथ्यहरु वाहिर आएका छन् । ती आफैँमा अधुरा र अपर्याप्त छन् । अबिरल साहित्य समाज सिन्धुपाल्चोकले अविरल अंक ५ (२०७२ माघ) लाई कवि रेवतीरमण विशेषाङ्कका रुपमा प्रकाशन गरेको पाइन्छ । जसमा कवि रेवतीरमणका साहित्यहरुको समालोचना तथा उनीसंग सम्बन्धित लेख रचनाहरु प्रकाशित छन् तापनि उनका काव्यकारिताको सन्दर्भमा अझै थप खोज, अध्ययन अनुसनधान गर्नु उनका सन्तती, सिन्धुका सर्जकहरु र सिङ्गो नेपाली साहित्यको क्षेत्रमा काम गर्ने विभिन्न संघ÷संस्था र कवि लेखकहरुको दायित्व हो । न्यौपानेका जानकारीमा प्राप्त भएसम्मका कृतिहरु हुन्—विश्वजित लीला(१९६५), विवाह लीला(१९६६), अग्निनेश्य रामायण(१९८६९), तीनरत्न(१९६५), पशुपति लीला(१९८०), गाइको बैदाङ्ग(१९८०), अर्जुन गीता(१९८०), चण्डी भगवतीको बालुन, श्रुतबोध, छन्दज्ञान, गोदावरी महामन्त्र(सवाई), नेपाली झ्याउरे, औषध शास्त्र, लक्षणशास्त्र, रतिकाम संवाद, रेवावरेण्य वरदान, तुलशीकृत रामायणका केही काण्डहरु इत्यादि । रेवतीरमण सँगै अर्का कवि दुर्गारमण न्यौपाने (रेवतीरमणका छोरा) को पनि सिन्धु साहित्यिक इतिहासमा नाम आउँछ । डिठ्ठा गंगाप्रसाद उपाध्यायले बि.सं. १९८३ मा बैशाख २८ गतेको गोरखापत्रमा कवितात्मक समाचार छपाएको तथ्य भेटिन्छ(चन्द्रप्रसाद न्यौपाने ओख्रेनी साप्ताहिक पौष २०६९ अंक…) । उनले याङ्लाकोटमा भएको आगलगीको घटनालाई ब्याख्या गरेर कविता लेखि गोरखापत्रमा छपाएको पइन्छ ।
पू.एक् नं. थुम लीसिती मउज या–ङ्लाकोट घर् गाउँमा,
त्र्यासी साल् बइसाख चौद्ध मिति दिन् बाँकी घडी रातमा ।
बेमालुम्सँग अग्निकेतु सलकी एक्तीस घर् दग्ध भो,
लामा स्यूपरका ति नाति नातिनी दो बालको नाश भो ।।
(गोर्खापत्र, १९८३÷१÷२८ ः २६÷४)

नेपाली कविताको आधुनिक कालका सिद्धहस्त प्रतिभा कवि केदारमान व्यथितको जन्मभूमि पनि सिन्धुपाल्चोक नै हो । विक्रमसम्वत १९७१ मा बाँसवारीको बाहुनेपाटीमा जन्मिएका व्यथित प्रज्ञा प्रतिष्ठानको कुलपति, नेपाली साहित्य परिषद् र नेपाली साहित्य संस्थानका अध्यक्ष तथा सरकारका मन्त्री समेत भै काम गरेका व्यक्तित्व हुन । राजनीतिलाई शौचालय सँग र साहित्यलाई भोजनालय सँग तुलना गर्ने कवि व्यथित लेखकहरु भोजनालयका उपासक हुन भन्छन् ।(ठाकुर प्रसाद पराजुली र अन्य कवि ब्यथित स्मृति ग्रन्थ २०६० व्यथित सिन्धु प्रतिभा सम्मान कोष काठमाडौँ पृ. ४३ (सङ्गम देखि सिन्धु र विन्दुसम्म कृष्ण प्र.पराजुली) वाट) व्यथितका कविताहरुमा विरहको स्वर मात्र होइन रहस्य, क्रान्तिकारिता, मानवतावादी स्वर समेत पाईन्छ । “उनका कवितामा कतै कतै अराजकतावाद समेत पाइए पनि लयात्मक शैलीमा हिन्दी कविताका प्रभावमा आफुलाई आत्मसात गरेका छन् । संस्कृत शब्दहरुको यथेष्ट प्रयोगले उनको शैली परिष्कृत र प्रञ्जल छ ।’’ (डा. तारानाथ शर्मा र नेपाली साहित्यको इतिहास ते.सं २०५१ पृ.११ नविन प्रकाशन काठमाडौँ) ब्यथितका नेपाली काव्य साहित्यमा सङ्गम(२००९), नौ(००९) सालका कविता (२०१०), एकदिन(२०११), प्रणव (२०१४), सञ्चयिता (२०१५), त्रिवेणी (२०१५), जुनेली (२०१९), सप्तदर्पण (२०२५), नारी रस माधुर्य आलोक (२०२५), सप्तपर्ण आवाज (२०३१), बदलिरहने वादलका आकृति (२०३३), मेरोसपनामा हाम्रो देश र हामी (२०३४), मेरी प्रेयसी, प्रजातान्त्रिक स्वतन्त्रता (२०३६), रस त्रिफला (२०३८) ,अग्नि श्रृङ्खला (२०३९), आदि जस्ता कृतिहरु छन् ।
खिलबहादुर भावुक, कञ्चन प्रियदर्शी जस्ता व्यक्तिहरु पनि सिन्धुको साहित्यमा बारम्बार दोहोरिने नाम हुन । कञ्चन प्रियदर्शी त राज्य आतंकको शिकार भई ब्रम्मायणी नदीको तीरमा गोली खाएर मारिने सिन्धुपाल्चोकको माक्र्सबादी साहित्यिक सहिद पनि हुन् । कञ्चनको कलमसंग राज्य आत्तिएको थियो । नेपाली साहित्यमा चन्द्रप्रसाद न्यौपानेको पनि महत्वपूर्ण स्थान रहेको पाइन्छ । चन्द्रप्रसाद न्यौपानेको चन्द्रयुग बृहत्तर महाकाव्य (२०६५) हाल सम्मकै सवैभन्दा उच्च कोटीका महाकाव्यका रुपमा दर्ज भएको पाइन्छ । न्यौपानेका अरु झण्डै एक दर्जन महाकाव्यहरु प्रकाशित छन् । यिनका निवन्ध, समालोचना, कथा, उपन्यास, फुटकर कविता विधामा पनि थुप्रै कृतिहरु प्रकाशित छन् । सिन्धुपाल्चोक लोक साहित्य र गीति साहित्यका क्षेत्रमा पनि संम्बृद्ध छ । प्रेमध्वज प्रधान, जयनन्द लामा जस्ता गायकहरु हरि थापा, महेन्द्र तिमल्सिना, घमेस दुलाल, नवराज घोरासैनी, रेशम थापा, सुर्यमणि आचार्य, देविका खत्री, रमिला न्यौपाने, सुनिता दुलाल, भीमसेन खतिवडा, योगेश तामाङ, सपना थापा जस्ता लोक गायकहरु पनि यहाँकै माटोको प्रतिभा हुन । हास्यव्यङ्ग्य साहित्यमा पनि जिल्लाको नाम अग्रपङितमै आउँछ । नरेन्द्रराज पौडेल, देवीप्रसाद चापागाईँ, रमेश चापागाईँ आदि हास्यव्यङग्य लेखक हुन् भने जितु नेपाल, भोक लाग्यो, धिताल चिरिच्याट्ट जस्ता युवा हाँस्यकलाकार पनि सिन्धुमा रहेका छन् । यसैगरि सिन्धुको साहित्यमा जगन्नाथ आचायर्, पीताम्बर भण्डारी, त्रिलोचन आचार्य, ठाकुरनाथ कुइँकेल, रापी बाशिष्ट आदि युवा पुस्तामा दिल कार्की, पारसनाथ आचार्य छन्दकविका रुपमा परिचय बनाएका नाम हुन् भने कृष्णप्रसाद सुवेदी(भारध्वज मित्र), रामेश्वर राउत मातृदास, केशव नेपाल, रमेश पौडेल, साधुराम नेपाल, कवितमान श्रेष्ठ, आदि गद्य साहित्य र पद्य साहित्य तथा आख्यान विधामा समेत कमल चलाउँने नाम हुन् । शार्दुल भट्टराई नकुल सिलवाल, गगन विरही, यदुनाथ बसन्तपुरे, अमित घिमिरे आदि साहित्यका कविता, नाटक र आख्यान विधामा कलम चलाउँने नाम हुन् । सुरेश कसजू गद्य आख्यान लेखन र विशेष गरी नयाँ पुस्तामा लेखन र प्रकाशनका लागि त्राण भर्ने सशक्त हस्ताक्षर हुन् । डम्बर रसिक भारती लघुकथा र गजल विधामा सशक्त रुपमा जमेका छन् भने पे्रम बानियाँ, जीवन श्रेष्ठ आदि गद्य कवितामा खारिएका पाइन्छ । उनीहरु गद्य कवितामा साहित्यका नवै रसको समिश्रण मार्फत रचनामा सरलता र सहजता प्रदान गर्दै पाठकमा स्थापित भएको पाइन्छ । केशवलोचन शर्मा, वावा बस्नेत जस्ता थुप्रै कवि लेखकहरुको उपस्थिति र योगदानले नै सिन्धुपाल्चोकको साहित्यिक इतिहासले स्वर्णिम यात्रा तय गरेको देखिन्छ ।
सिन्धुपाल्चोक साहित्यको इतिहासमा वर्गीय चेतना र क्रान्तिका आवाज बुलंन्द गर्दै साहित्य लेख्ने परम्परा पनि पुरानै हो । खिलबहादुर भावुक जिल्लामा प्रगतिशील मान्यता र विचारले ओतप्रोत भई साहित्य सिर्जना गर्ने पहिलो कवि हुन् । खासगरी माक्र्सवादी धारा र दर्शनबाट प्रभावित भई साहित्य सिर्जना गर्ने पंक्ति सिन्धुपाल्चोकमा निक्कै पहिलेदेखि भेट्न सकिन्छ । यो कामको अगुवाई संस्थागत रुपमा प्रगतिशील लेखक संघले गर्दै आएको पाइन्छ । माक्र्सवादी दर्शनमा आधारित भई वर्गीय मुक्तिमा समर्पित साहित्य लेखनमा सरेश नेपाल, विलबहादुर रायमाझी, यविन्द्र न्यौपाने, बालकृष्ण देउजा, माधव सापकोटा सुबोध, होमनारायण श्रेष्ठ, सरल सहयात्री पौडेल, दिपशिखा, दिनेश दुलाल, रामबहादुर सुनार, अच्युत पौडेल, शशिनाथ आचार्य, टिका सुवेदी लगायतका स्रष्टाहरु लागेको पाइन्छ । मिति २०५७ देखि संस्थागत रुपमा प्रगतिशील लेखक संघ जिल्लामा स्थापित भई यस क्षेत्रमा क्रियाशील छ । यसले नियमित रुपमा आफ्नो साहित्यिक गतिविधी मार्फत नयाँ पुस्तामा साहित्य सिर्जनामा प्रेरणा र जागरण पैदा गरेको पाइन्छ । अर्कोतर्फ गैर वामपन्थी स्रष्टाहरुको संस्था नेपाल लेखक संघ जिल्लामा संस्थागत रुपमा क्रियाशील भएको नदेखिए पनि कतिपय लेखकहरु यस संघ संबद्ध रहेको बुझ्न सकिन्छ ।
त्यस्तै जिल्लामा सक्रिय साहित्य सर्जकहरुमा लक्ष्मण तिमल्सिना, ध्रुवलाल श्रेष्ठ, सरोज ढुंगाना, विजय नेपाल, किसमा किशोर, सुरेश बुढाथोकी, विमल नेपाल, माधव नेपाल, पुर्ण श्रेष्ठ, जितेन्द्र श्रेष्ठ रसिक, हेमन प्रधान, सुन्दर शिरीष दिनेश लामिघाते, बालचन्द्र सापकोटा, रामनाथ खनाल, जीवन बानियाँ, निर्मल बस्नेत आदिको नाम हाल चर्चामा रहेको पाइन्छ । गजल विधामा सरु काली, कमला थापामगर, रुप जिम्बा, हरिप्रसाद सापकोटा, अविरल अप्रिय आदि सशक्त रुपमा उदाएका छन् । समालोचना क्षेत्रमा नवराज पौडेल, नवराज खतिवडा जस्ता लेखकहरु विभिन्न साहित्यकारको व्यक्तित्व र कृतित्वको चर्चागर्दै अगाडि आएको देखिन्छ । चन्द्रप्रसाद न्यौपाने साहित्यका सबैजसो विधामा कलम चलाएका तथा जिल्लामा हालसम्म सबैभन्दा धेरै काव्यहरु प्रकाशन गर्ने चर्चित साहित्यकार हुन् । न्यौपानेका कविताहरु विद्यालय तहका विद्यार्र्थीका लागि तय गरिएको पाठ्यपुस्तकहरुमा समेत आएको पाइन्छ । पछिल्लो समय जिल्लामा नियमित साहित्यिक गतिविधिहरु हुने गरेको पाइन्छ । सिन्धु साहित्य महोत्सव, राष्ट्रिय बाल साहित्य सम्मेलन अदि जिल्लामा हालसालै सम्पन्न भएका साहित्यिक गतिविधी हुन् ।
प्रलेस स्रष्टा यात्रा मार्फत जिल्लाका विकट स्थानहरुमा पुगेर साहित्यिक गतिविधि सञ्चालन गरिएको पाइन्छ । शब्द सारथी नामक साहित्यिक अभियानले जिल्लाका विभिन्न क्षेत्रमा साप्ताहिक रुपमै साहित्यिक गतिविधी सञ्चालन गरेको र नयाँ पुस्तामा साहित्य प्रतिको मोह आम मानिसहरुमा जगाएको पाइन्छ । प्रलेस सिंपाले जिल्लाका प्रगतिवादी कवि पिताम्बर भण्डारीको मृत्युमा भण्डारी निवास कविकुञ्ज किउलमै पुगेर शोकसभा गर्दै उनी र उनीप्रति समर्पित अन्य साहित्यकारको रचना वाचन कार्यक्रम समेत आयोजना गरेर नयाँ कार्यको थालनी गरेको पाइन्छ । यसैगरी यसकै अगुवाईमा अप्ठेरोमा परेका स्रष्टालाई राहत सहयोग पु¥याउँने उद्देश्य सहित रु १० लाखको कञ्चन पीताम्बर स्मृति साहित्यकार कल्याणकारी कोष समेत स्थापना गरिएको पाइन्छ । यसैगरि जिल्लामा साहित्यिक गतिविधि गर्ने विभिन्न संस्थाहरुको नाम उल्लेखनीय रहेको पाइन्छ । सुनकोशी साहित्य प्रतिष्ठान, ब्यथित सिन्धु साहित्यिक कोष, निर्मला पराजुली साहित्यिक कोष, दुःखी प्रकाशन, अविरल साहित्य समाज, सिन्धु अभिलेखालय, लालुपाते जनसेवा समिति, विञ्जेल साहित्य समाज आदिजस्ता साहित्यिक संस्थाहरु साहित्यिक गतिविधीमा लागेको पाइन्छ । पछिल्ला समय स्थानीय तहका वडा तथा पालिकाकै संयोजनमा पनि कतिपय क्षेत्रमा साहित्यिक कार्यक्रमहरु आयोजना गरिएको पाइन्छ भने विद्यालय तथा कलेज तहमा यस्ता विभिन्न प्रतियोगिता मार्फत साहित्यको बृद्धि र विकासमा महत्वपुर्ण कार्यहरु भएको पाइन्छ । यस्ता कार्यहरुले सिन्धु साहित्यको क्षितिजलाई निक्कै फराकिलो पारेको पाइन्छ । यस कार्यमा जिल्लाबाट प्रकाशित जमघट लगायतका साहित्यिक पत्रिकाबाट पनि महत्वपुर्ण योगदान मिलेको छ । सिन्धु साहित्यको इतिहासका सम्बन्धमा यसै आलेखका पंक्तिकारले सिन्धुपाल्चोकको साहित्यिक पत्रकारितामा जमघटको योगदान विषयक शोधग्रन्थमा समेत उल्लेख गरेको पाइन्छ ।
यसरी सिन्धुपाल्चोकको साहित्यिक इतिहास प्राथमिक, माध्यमिक र आधुनिक काल हुदैँ उत्तर आधुनिक युग सम्म आईपुगेको छ । यसको विस्तृत खोज अध्ययन र अनुसन्धान कार्य अझै सम्म जारी छ । सिन्धु साहित्यिक इतिहासको विस्तृत र व्यवस्थित अध्ययन हुनु अहिलेको महत्वपुर्ण आवश्यकता होे यहाँ सामान्य जानकारीको लागि विभिन्न छरिएका तथ्यहरुलाई सुत्रबद्ध गर्ने प्रयत्न गरिएको हो । साहित्य सामान्य इतिहास खोतलेपछि अध्ययन सहज बन्नजाने भएकोले यहाँ यसको सन्दर्भ पस्किनु बाञ्छनीय ठानेको छु । यसमा थुप्रै नयाँ नयाँ तथ्यहरुलाई निरन्तर खोज्दै थप गरिनु पर्दछ । दिनानुदिन सिन्धु साहित्यमा नयाँ नयाँ नामहरु थपिने क्रम जारी छ । यसैले यहाँ उल्लेखित नामहरु प्रतिनिधि मात्रै हुन् ।

प्रतिक्रिया दिनुहोस्