२०८१ जेष्ठ ९

शनिवारे हाट बजारले सिन्धुपाल्चोक भोताङका महिलालाई आत्मनिर्भर बनाउँदै

भदौ ९ — सिन्धुपाल्चोकको दुर्गम गाउँ पाँचपोखरी थाङपाल गाउँपालिका भोताङका महिलालाई हाट बजारले आत्मनिर्भर बनाएको छ । तामाङ समुदायको बाहुल्यता रहेको सो क्षेत्रका महिला हाटबजार चलाउन सक्रिय छन् । यसले स्थानीय उत्पादनको खरिद बिक्री हुने गरेको छ भने महिलाहरूलाई आत्मनिर्भर पनि बनाएको छ ।
पर्यटकको रोजाईमा पर्ने पाँचपोखरीसम्म पुग्ने बाटोमै भोताङको यार्सा बस्ती पर्ने गरेको छ । मुख्य बाटोको छेउमै बनाइएको फलामे ट्रस्टको घरमा स्थानीय महिलाले प्रत्येक शनिवार हाटबजार चलाउने गरेका छन् । ९ सयभन्दा बढी घरधुरी रहेको वस्तीका महिला काउली, बन्दा, खुर्सानी, गोलभेँडा जस्ता तरकारी, फलफुल लगायत आफ्ना घरेलु उत्पादनहरू बिक्री गर्न हाटबजारसम्म आउने गरेका छन् ।
परम्परागत खेती मात्रै गर्दै आएका भोताङबासीले हाटबजार चलाएपछि गाउँमा आवश्यक हुने सबै प्रकारका तरकारीको उत्पादन बढेको छ । वर्र्षौँदेखि बाँझो रहेको जमिनमा अन्न तरकारी फलाउन थालिएको छ । स्थानीय महिलाले आपूmसँग नभएको किन्ने र भएको उतपादन बेच्ने बानी बसालेका छन् । हाटबजारले आर्थिक उन्नतीमा समेत टेवा पुगेकोे स्थानीयवासी कमला तामाङले बताउनुभयो ।
स्थानीयको जीवनस्तर परिवर्तन गर्ने उद्देश्यले हाटबजार सञ्चालन गर्न सङ्घसंस्था लगायत गाउँपालिकाले पनि सहयोग गरेको छ । गाउँमा उत्पादित वस्तुलाई बिक्री गर्ने परम्परा बसेको छ । जसले गर्दा दुर्गम ठाउँका महिलालाई उद्यमशिल बनाएको छ भने अन्य ठाउँका मानिसलाई पनि सिकाई भएको पाँचपोखरी थाङपाल गाउँपालिका वडा नम्बर ३ का अध्यक्ष ङिमाछिरीङ तामाङले बताउनुभयो ।
दुर्गम ठाउँमा हाटबजार सञ्चालनपछि स्थानीय उत्पादनले बजार पाउँदा महिलाहरू आर्थिक रुपले सबल र आत्मनिर्भर बन्न थालेका छन् । साथै उनीहरू मेहेनती र उद्यमशील पनि बनेका छन् ।

प्रतिक्रिया दिनुहोस्