असोज ३० । तनहुँको शुक्लागण्डकी नगरपालिका–६ स्थित झाँगाझोलीमा आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढेको छ । पर्यटकको भिड लाग्न थालेसँगै पर्यटन व्यवसायी उत्साहित भएका छन् ।यहाँ रिसोर्ट सञ्चालनमा ल्याएसँगै चहलपहल बढ्न थालेको स्थानीयको भनाइ छ । नेपालीहरुको महान पर्व बडादसैँसँगै दैनिक आन्तरिक पर्यटकको भिड लागेको बताइएको छ । यो क्षेत्र धार्मिक पर्यटकीयस्थलको रुपमा विकास भएको छ ।धार्मिक पर्यटकीयस्थलको रुपमा परिचित तीनखोले मन्दिर नजिकै झाँगाझोली रहेको छ । मन्दिर जानेआउने एवं भक्तजन र पर्यटकहरु यस झाँगाझोलीमा आउने गरेका छन् ।
दसैं पर्वमा सुरु भएसँगै कर्मचारी, विद्यार्थीले लामो छुट्टी पाउने भएकाले हाल चहलपहलमा वृद्वि हुन थालेको झाँगाझोलीका सञ्चालक शङ्रप्रसाद अधिकारीले जानकारी दिनुभयो ।अधिकारीका अनुसार रातको समयमा देखिने आकर्षक किसिमको गौरादेवी नेचुरल पार्कको अवलोकन गर्न बढी भीड लाग्छ । अधिकारीले भन्नुभयो, ‘दसैँका कारण विद्यालय बिदा भएसँगै व्यवस्थित चिल्ड्रेन पार्ककमा रमाउन बालबालिकाको पनि उत्तिकै घुँइचो लाग्ने गरेको छ ।’पृथ्वी राजमार्गको खैरेनीटार बजारबाट दुई दशमलव पाँच किलोमिटर दूरीमा झाँगाझोली रहेको छ । रिसोर्ट करिब १७ रोपनी क्षेत्रफलमा फैलिएको छ ।
यसमा तीन जना सञ्चालकले करिब २ करोड रुपियाँ लगानी गरेका छन् । झाँगाझोलीले ग्राहकको मागलाई मध्यनजर गर्दै तन्दुरी कर्नर समेत सञ्चालनमा ल्याएको अधिकारीले बताउनुभयो ।आन्तरिक तथा बाह्य गरी दैनिक तीनसय जना पर्यटक घुम्नको लागि आउने गरेको अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार पर्यटकलाई थप आकर्षित गर्न जडीबुटी तथा नमुना पाङ्गरिक तरकारी खेती समेत सुरु गरिएको छ ।
करिब ५ रोपनी क्षेत्रफलमा तरकारी खेती गरिएको छ ।एकीकृत नमुना कृषितर्फ च्याउ र मौरी जडिबुटीको खेती थालिएको छ । बिहानको समयमा यस स्थानबाट देखिने हरियाली जंगलको मनमोहक दृश्य र खोलाको कलकल आवाज र शान्त एकान्त स्थलले पर्यटकलाई आनन्द दिलाउने गरेको छ । झाँगाझोलीमा एसीसहितको अत्याधुनिक व्यवस्थासहितका दशवटा कोठा छन् ।
प्रतिक्रिया दिनुहोस्